कीवर्डहरू -

टेलिकमले मनायो १८ औं वार्षिकोत्सव, भीओएलटीई सेवाको व्यवसायिक सुरूवात

टेलिकमले मनायो १८ औं वार्षिकोत्सव, भीओएलटीई सेवाको व्यवसायिक सुरूवात

नेपाल टेलिकमले आफ्नो स्थापनाको १८औं वार्षिकोत्सव कार्यक्रम माघ २२ गते शनिबार मनाएको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले अध्यक्षता गरेका थिए ।

समारोहमा कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले मुलुकको दूरसञ्चार क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धामा कम्पनीलाई अग्रणी तथा जिम्मेवार सेवा प्रदायकको रुपमा निरन्तर स्थापित गर्न राष्ट्रिय गौरवको एलटीई प्रविधिको फोरजी आयोजना र मध्यपहाडी राजमार्गमा अप्टिकल फाइबर बिछ्याई सूचना महामार्ग निर्माण गर्न राज्यले सुम्पिएको अभिभारा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिएका थिए ।

सो अवसरमा उनले देशका सबै स्थानीय तहमा तीव्र गतिको इन्टरनेट सुविधा पुर्‍याई मुलुककै आर्थिक, सामाजिक, शैक्षिक क्षेत्रको विकास तथा आम जनतालाई छिटो र प्रविधिमैत्री सेवा पुर्‍याउने गुणस्तरीय एफटीटीएच सेवाको विस्तार मागबमोजिम गर्नुपर्ने बताए ।

कम्पनीका सेवाहरु सुपथ र आकर्षक रहेपनि आम सेवाग्राहीबीच यीनको प्रचार नभएकोतर्फ इंगित गर्दै उनले यसतर्फ विशेष ध्यान पुर्‍याउनु पर्ने उल्लेख गरे ।

कोभिड १९ को महामारी र देशभित्रका प्राकृतिक विपत्तिका अवस्थामा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै जनचेतनामूलक सन्देश प्रवाह र सूचना सम्प्रेषणमा कम्पनीले पुर्‍याएको योगदानप्रति मन्त्रीले धन्यवाद व्यक्त गरेका थिए ।

सोही कार्यक्रममा प्रमुख अतिथिबाट भर्चुअल माध्यमबाटै कम्पनीको अठारौं वार्षिकोत्सवको उपलक्ष्यमा तयार पारिएको स्मारिका र भीओएलटीई सेवाको व्यावसायिक शुभारम्भ गरिएको थियो ।

\"\"

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव तथा कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. बैकुण्ठ अर्यालले ग्राहकसंख्या मात्र बढाएर नपुग्ने उल्लेख गर्दै सक्रिय ग्राहकसंख्याको बढोत्तरी र राजश्वमा वृद्धि हुनुपर्ने तर्फ सचेत गराए ।

उनले भने ‘कम्पनीका सेवाहरु यति दिगो र गुणस्तरीय हुनुपर्‍यो कि एकपटक प्रयोग गरिसकेपछि ग्राहकले यसलाई छाड्नै नसकुन् ।’

उनले यस्तो सेवा मुलुकभर विस्तार गर्न कम्पनीलाई बाधा पारेका पक्षहरुको पहिचान गरी चुनौतीको सामना गर्नुपर्ने बताए ।

कोभिडको समयमा पनि निरन्तर रुपमा सेवाहरु उपलब्ध गराइरहन सहयोग पुर्‍याउने सम्बन्धित निकायहरु र कर्मचारीवर्गलाई उनले धन्यवाद दिए ।

सो कार्यक्रमका विशेष अतिथि नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले शुभकामना मन्तव्यकै क्रममा ग्राहकको चाहना बमोजिमका गुणस्तरीय सूचना प्रविधिसम्बन्धी सेवाहरु प्रदान गर्नु नेपाल टेलिकमको पहिलो दायित्व भएको बताए ।

उनले उपभोक्ताको सन्तुष्टिलाई मुख्य आधार मानी सेवा प्रदान गर्नु कम्पनीको प्रमुख चुनौती रहेको पनि उल्लेख गरे ।

नेपाल टेलिकमका निमित्त प्रबन्ध निर्देशक प्रतिभा वैद्यले कम्पनीको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै कम्पनीले १८ औं वार्षिकोत्सवका अवसरमा मुलुकभर फोरजी मोबाइलमा चलाउन मिल्नेगरी आकर्षक विशेषतासहितको भीओएलटीई सेवाको व्यावसायिक शुरुवात गरेको जानकारी गराइन् ।

कम्पनीको १८ औं वार्षिकोत्सवको अवसरमा ‘एनटी एन्निभर्सरी अफर’ उपलब्ध गराइएको र सो अन्तर्गत जम्मा रु. २९४ मा २० जीबी डाटा १० दिनसम्म, रु. ९८ मा ६ जीबी डाटा ३ दिनसम्म र रु. ६९ मा माघ १७ गतेदेखि फागुन ३ गते (फेब्रुअरी १ देखि १५) सम्म हरेक दिन एक एमबिपिएस डाटा प्रयोग गर्न सकिनेछ ।

यो अफर माघ १७ गतेदेखि फागुन ३ गतेसम्म प्रयोग गर्न सकिनेछ । वार्षिकोत्सवको दिन माघ २२ गते २४ घण्टाका लागि कम्पनीको नेटवर्क भित्र भिओएलटीई कल निःशुल्क गरिएको छ ।

\"\"

वार्षिकोत्सवकै अवसरमा कम्पनीका विभिन्न सेवाहरु कुल १४ वटा अनाथालय र वृद्धाश्रममा सहयोगस्वरुप निःशुल्क उपलब्ध गराउने, सातै प्रदेशका कम्तिमा एक/एकवटा सरकारी र सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्री र निःशुल्क डाटा सेवा उपलब्ध गराउने, सदर चिडियाखाना जावलाखेलमा रहेका बाघ लगायतका जनावर र चराचुरुंगीहरुका लागि एक वर्षसम्म आहाराको प्रायोजन गरिने उनले बताइन् ।

यसैगरी कम्पनीका सबैभन्दा बढी रिचार्ज कार्ड बिक्री गर्ने सातै प्रदेशका बिक्रेताहरु र एमपोस बिक्रेता, कम्पनीका विभिन्न सेवाको सबैभन्दा बढी राजश्व बुझाउने सेवाग्राहीहरुलाई सम्मान र पदक तथा विगतका वार्षिकोत्सव कार्यक्रमहरुमा जस्तै आजको कार्यक्रममा पनि कम्पनीमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा प्रमाणपत्र प्रदान गर्ने घोषणा गरिएको थियो ।