कीवर्डहरू -

३ जनाले शुरू गरेको मोबाइल स्किन ब्राण्ड ‘र्‍यापसी’, पहिलो महिनामै साढे २ लाखको बिक्री

नम्बर वान बन्ने लक्ष्य

३ जनाले शुरू गरेको मोबाइल स्किन ब्राण्ड ‘र्‍यापसी’, पहिलो महिनामै साढे २ लाखको बिक्री
फोटोमा बायाँबाट क्रमशः संस्थापकत्रय अभिनव, प्रशान्त र जीवन

सुनसरीका प्रशान्त फुँयाल, अभिनव साह र काठमाडौंका जीवन रिसालको मनमा सानैदेखि नेपालमै केही गर्नुपर्छ भन्ने एउटा हुटहुटी थियो ।

विद्यालय तहको पढाइ पुरा गरेर ब्याचलर्समा आईटी पढ्न सुनसरीबाट फुँयाल र साह काठमाडौं आए । त्यसपछि प्रशान्त हेराल्ड कलेजमा आईटी पढ्न थाले भने साह चाहिँ कान्तिपुर इन्जिनियरिङ कलेजमा पढ्न थाले ।

यत्तिकैमा प्रशान्तको भेट हेराल्ड कलेजमा काठमाडौंका जीवनसँग भयो । उनीहरू अहिले सिक्स सेमेष्टरमा पढिरहेका छन् । ३ जनाकै मनमा सानैदेखि नेपालमै केही गर्ने एउटा सपना थियो । त्यही सपनाले १ महिना अघि जन्मियो मोबाइल स्किन ब्राण्ड ‘र्‍यापसी’ ।

र्‍यापसी साढे ४-५ लाखको लगानीबाट शुरू भएको हो । अरूले गरेको देखेरै नेपालमा पनि र्‍यापसी शुरू गर्ने योजना आएको सह-संस्थापक प्रशान्त फुँयालले बताए ।

‘यस्तो काम गर्ने हामी पहिलो होइन । नेपालमा पनि यसअघि यस्तो काम शुरू भइसकेको छ,’ उनले आइसिटी समाचारसँग भने, ‘अरूले गरेको देखेर हामीलाई पनि यसमा भित्रैदेखि काम गर्ने प्यासन आयो । यो गर्दा मज्जा हुन्छ भनेर हामीले र्‍यापसी शुरू गरेका हौं ।’

\"\"

काम गर्दै र्‍यापसी टिम


मोबाइलको पछाडिको भागलाई स्क्र्याचबाट बचाउन कभर लगाउने गरिन्छ तर कभर लगाएपनि स्क्र्याच ‍भइरहेको हुन्छ । हामीलाई थाहा हुँदैन् तर धुलोले गर्दा स्क्र्याच भइरहेको हुन्छ ।

आफुहरूको उद्देश्य चाहिँ धुलोलाई प्रोटेक्ट गर्ने र फुटेको फोनलाई लुकाउने भएको उनी बताउँछन् । ‘मोबाइलको पछाडिको भाग फेर्दा त धेरै शुल्क लाग्छ । स्किन लगाउँदा कम शुल्क पनि पर्ने भयो र फुटेको भाग पनि लुकाउन सकिने भयो । मोबाइल पनि आकर्षक देखिने भयो’ प्रशान्तले भने ।

गत नोभेम्बर अन्तिमतिर उनीहरूले यो बिजनेसमा हात हाल्ने योजना बनाएका थिए । तर उनीहरूलाई कत्तिको मार्केट छ भन्ने थाहा थिएन् । त्यसकारण उनीहरूले नेपालमै मोबाइल स्किन ब्राण्डमा काम गरिरहेको कुनै एउटा कम्पनीसँग कमिसनमा आधारित रहेर १ महिना काम गरे । ‍

र्‍यापसीको सुरूवात (योजना) देखिनै कक्षा १२ मा अध्ययरत काठमाडौंका निजन बजगाई जोडिएका छन् । र्‍यापसीलाई अहिलेको स्थानसम्म ल्याउन उनको योगदान पनि अमूल्य रहेको प्रशान्त बताउँछन् । शुरू देखिनै सहयोग गरेपनि उनको र्‍यापसीमा भने लगानी छैन् ।

डिसेम्बर महिना सकिनुभन्दा अगाडि उनीहरूले मोबाइल स्किनका लागि चाहिने सामानहरूको जोहो गर्न थाले । त्यसपछि चीन र भारतदेखि सामान मगाएको प्रशान्त बताउँछन्  ।

यही जनवरी १ देखि र्‍यापसी आधिकारिक रूपमा शुरू भएको हो । १ महिनाको अवधि जनवरी १ देखि ३१ सम्म र्‍यापसीले ३०० स्किन बेचिसकेको छ, जसबाट साढे २ लाख रूपैयाँ आम्दानी गरेको छ ।

उनीहरू अहिले कम्पनी दर्ताको प्रक्रियामा छन् । त्यसका लागि उनीहरूले डकुमेन्ट पेश गरिसकेका छन् । अहिले कम्पनीको आधिकारिक कार्यालय छैन् । प्रशान्तको कोठामै सामानहरू राखेर काम भइरहेको छ । अब कम्पनीको कार्यालय नै स्थापना गर्ने उनीहरूको योजना छ ।

धेरैजसो ग्राहकले सकारात्मक प्रतिक्रिया दिएको उनले बताए । प्रशान्त भन्छन्, ‘ग्राहकहरू धेरै अन्तुष्ट भएमा पैसा रिफन्ड हुन्छ । कसैकोमा लगाउन गार्‍हो भए वा बिग्रेको छ भने रिप्लेस पनि गरिदिन्छौं ।’

र्‍यापसीमा अहिले ४ जनाले रोजगारी पाएका छन् । ग्राहकले माग गरेअनुसार डिजाइन गरेर कम्पनीले मोबाइलको स्किन बनाउँदै आएको छ ।

कस्टम डिजाइनको शुल्क ६९९ रूपैयाँ पर्छ । यसमा आफुलाई आवश्यकता अनुसारको स्किन बनाउन सकिन्छ । यसलाई पनि थप गुणस्तरीय बनाउन र्‍यापसीले नयाँ सामान ल्याएको छ । अब पहिलोको भन्दा थप गुणस्तरीय स्किन ग्राहकले पाउने उनले बताए ।

कम्पनीले कस्टमभन्दा गुणस्तरीय थ्रिडी डिजाइन प्रडक्ट पनि बिक्री गर्दै आएको छ । यो प्रडक्ट चीनमा बन्छ र त्यसको डिजाइन चाहिँ र्‍यापसीले नेपालबाटै पठाउँछ ।

\"\"

यसका लागि र्‍यापसीले १०० भन्दा बढी डिजाइन तयार गरेको छ । जुन डिजाइनबाट एउटा डिजाइन छानेर अर्डर गर्न सकिने छ । यो धेरै मात्रामा आउने र स्टकमा पनि राख्नुपर्ने भएकाले यसको शुल्क ८०० रूपैयाँ तोकिएको उनले जानकारी दिए ।

र्‍यापसीले डेलिभरीका लागि एरोम्याक्ससँग सहकार्य गरेको छ । काठमाडौं उपत्यका बाहिर डेलिभरी शुल्क १५० रूपैयाँ तोकिएको छ भने उपत्यकाभित्र १०० रूपैयाँ तोकिएको छ ।

अहिलेलाई मोबाइल स्किन ब्राण्ड भनेर शुरू गरेपनि भविष्यमा अन्य क्षेत्रमा पनि जाने योजना रहेको उनले बताए । सन् २०२३ सम्ममा नेपालको नम्बर वान मोबाइल स्किन ब्राण्ड बन्ने उनीहरूको लक्ष्य छ ।

अहिले टिकटक बाट ट्राफिक ल्याएर इन्स्टाग्राम मार्फत मोबाइल स्किन अर्डर गर्न सकिन्छ । छिट्टै त्यसका लागि वेबसाइट पनि आउँदै छ । अहिले वेबसाइट विकासको काम भइरहेको छ ।