कीवर्डहरू -

किन करोडौं रकम खर्चेर एनएफटी किन्छन् मानिस ?

किन करोडौं रकम खर्चेर एनएफटी किन्छन् मानिस ?

ईन्टरनेटको आविष्कारसँगै थुप्रै अवसरहरु सिर्जना भएका छन् । ईन्टरनेटले समाज र विश्वलाई त नजिक ल्याएकै छ, साथै यसले मानिसको जीवनशैली  नै बद्लिदिएको छ । समय सँगसँगै ईन्टरनेट पनि विकसित हुँदै गइरहेको छ ।

हरपल ईन्टरनेटमा केही नयाँ भइराखेको हुन्छ, केही अनौठो भइरहेको हुन्छ । वेब ३.०, ब्लकचेन, क्रिप्टोकरेन्सी जस्ता विषय अहिलेको ईन्टरनेटको ह्ट टपिकहरू हुन् । त्यस्तै मध्येको एउटा चर्चित प्रविधिको एनएफटी पनि हो ।

तपाईं यो सुनेर अनौंठो मान्नु हुन्छ होला, ट्वीटरको संस्थापक ज्याक डोर्सीको पहिलो ट्वीट एनएफटीमा एक जना व्यापारीले २.९ मिलियन डलरमा किनेका थिए । यस्तै मानिसहरु एनएफटीमा लाखौ करोडौंमा कारोबार गरिरहेका छन् । के हो त यो एनएफटी ? किन मानिसहरु यसको पछाडि पागल जसरी लागिपरेका छन् ? यसबारे जानौं ।

मानौं तपाईं चित्रकार हुनुहुन्छ । तपाईंले आफ्नो चित्रकला बेच्न चाहनुहुन्छ । र यहाँ यदी कसैले तपाईंको पेन्टिङको नक्कल गर्न वा त्यसको फोटो खिचेर प्रिन्ट गर्छन् भने त्यो सजिलै छुटयाउन सकिन्छ ।

तर मैले कुनै आर्ट कम्प्युटरमा बनाएर अनलाइनमा बेच्न चाहे भने त्यो सजिलै कपि पेस्ट गरेर नक्कल गर्न सकिन्छ । जसले गर्दा तपाईंको मौलिक आर्टको महत्व हराउनेछ, र यो दुर्लभ पनि हुन पाउदैन ।

एनएफटीले यसैलाई परिवर्तन गर्न खोजिरहेको छ । एनएफटीको पूर्ण रूप नन फन्जिबल टोकन हो । नन फन्जिबल अर्थात कुनै पनि वस्तु जुन चाँही बदल्न सकिने छैन् । फन्जिबल भनेको साट्न मिल्ने हो ।

जस्तै तपाईंको १०० रुपैयाँ र मेरो १०० रुपैयाँ साट्न मिल्दछ । यदी कुनै कुरा नन फन्जिबल छ भने त्यो साट्न सकिदैन् । यसले कुनै डिजिट्ल उत्पादनको मालिक को हो भनेर पहिचान गराउन ब्लकचेन प्रविधिको प्रयोग गर्ने गर्दछ ।

यो एउटा स्वामित्वको  टोकन हो, जसको भ्यालु रहन्छ । त्यसको मतलब, जब मानिसहरू एनएफटीमा किन्ने र बेच्ने गर्छन्, तब तीनीहरू केवल केही चीजहरूमा आफ्नो भर्चुअल स्वामित्वको खरिद र बिक्री गरिरहेका हुन्छन् ।

\"\"

अब प्रश्न आउछ मानिसहरु किन यसको पछाडि लागि परेका छन त ? सोच्नुहोस त, जब कुनै पनि वस्तु एकदमै दुर्लभ हुन्छ, त्यसको भ्यालु पनि बढ्दै जान्छ । र अझ त्यो वस्तु यो पुरै संसारभरि नै केवल एउटा मात्रै छ भने त्यो झनै मुल्यवान हुन पुग्दछ ।

त्यसैले तपाईंले यदी कुनै वस्तुमा दुर्लभता र मुल्य देख्नुहुन्छ भने अवश्य त्यसलाई आफुसँग राख्न चाहनुहुन्छ । यही कारण हो कि ज्याक डोर्सीको पहिलो ट्वीट, एनएफटीमा २.९ मिलियन डलरमा बिकेको ।

यस्तै थुप्रै अन्य वस्तुहरुको एनएफटीमा ठुलो मुल्यमा किनबेच भइरहेको हुन्छ । एनएफटी जे कुराको पनि हुन सक्छ । म्युजिक, भिडियो, ट्याटु, चित्रकला, आदी जे को पनि एनएफटी बनाउन सकिन्छ ।

एनएफटीले डिजिटल आर्ट र डिजिटल वस्तुहरुको क्रियटरहरुलाई समर्थन गर्ने वातावरण प्रधान गरेको छ भने अर्कोतर्फ लगानीको बाटो पनि खोलिदिएको छ । तपाईले कुनै एनएफटी खरिद गरेर बेच्न पनि सक्नुहुन्छ ।

\"\"

त्यसका लागि opensea.io भन्ने वेबसाईटमा जान सकिन्छ । यो वेबसाईटमा तपाईंले एनएफटी किन्न र बेच्न सक्नुहुन्छ । तर मानिसलाई डिजिटल वस्तुहरुको आवश्यक के मा पर्दछ त ?

चाहे कुनै गेम खेल्न कुनै क्यारेक्टर किन्न होस् अथवा कुनै आइटम किन्न होस एनएफटीको महत्व अबको भविष्यमा निकै ठुलो हुनेछ।

अझ मेटाभर्समा जुनसुकै वस्तुहरुको खरिद गर्न पनि एनएफटीको प्रयोग गर्ने सकिनेछ । एक हिसाबले अबको डिजिटल भविष्यमा जान एनएफटीको ठुलो योग्दान रहनेछ ।

अहिलेको उदाउँदो प्रविधिसँग नेपाल भने टाढा नै देखिन्छ । नेपालको सन्दर्भमा हेर्ने हो भने क्रिप्टोकरेन्सी एनएफटीसँग सम्बन्धित कारोबारहरु प्रतिबन्धित गरिएको छ । त्यसैले तपाईंले एनएफटी खरिद र बिक्री गर्न सक्नुहुन्न ।