कीवर्डहरू -

ईयूको आरएण्डडी स्कोर बोर्डमा ह्वावे पाँचौ स्थानमा

ईयूको आरएण्डडी स्कोर बोर्डमा ह्वावे पाँचौ स्थानमा

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि (आइसीटी) मा ह्वावेको ग्लोबल प्रोभाइडरले अर्को महत्त्वपूर्ण उपलब्धि हासिल गरेको छ । यूरोपेली आयोग ईयूको २०१८ को लगानी स्कोर बोर्डमा ह्वावे अनुसन्धान र विकास (रिसर्च एण्ड डिभ्यालपमेन्ट (आरएण्डडी) मा पाँचौँ स्थानमा परेको हो । 

ईयूको स्कोरबोर्डका अनुसार सन् २०१८ मा ह्वावेले अनुसन्धान र विकासमा १२ अर्ब अमेरिकी डलर खर्च गर्यो  । वर्षैपिच्छे सो लगानी १६.६ प्रतिशतले वृद्धि भएको छ र सन् २०१८ को ईयू औद्योगिक आर एण्ड डी लगानी स्कोरबोर्डमा ह्वावे कम्पनी पाँचौ स्थानमा परेको छ । 

सामसङ, अल्फाबेट, फोक्सवेगन, माइक्रोसफ्ट, ह्वावे, इन्टेल, एपल, रोश जनसन एण्ड जनसन तथा डेमलर ल्याडर बोर्डमा रहाक उत्कृष्ट दश कम्पनीमा परेका छन् । यो सूची सन् २०१८ मा विश्वका २५ सय प्रभावशाली कम्पनीहरूले खर्च गरेर गरेका अनुसन्धान तथा विकासमा आधारित छ ।

प्रत्येक कम्पनीले अनुसन्धान तथा विकासमा २ करोड पचास लाख यूरोभन्दा बढी लगानी गरेका छन् र कुल लगानी ७३६.४ अर्ब यूरो पुगेको छ । तथ्यांकका अनुसार चिनियाँ प्रविधि कम्पनीहरूमा भएको कुल अनुसन्धान तथा विकाससम्बन्धी खर्च सन् २०१८ मा ७१.२ अर्ब यूरो रहेको भने ह्वावे एक्ललै त्यसमा कुल भागको सात भाग योगदान गरेको थियो । 

अन्य चिनियाँ कम्पनीहरूको तुलनामा ह्वावेले आर्टिफिसियल इन्टेलिजन्स प्रविधि र  भावी फाइभ जी कम्युनिकेशनको प्रबर्द्धनमा बढी लगानी गरेको छ । चीनका ४३८ कम्पनीहरू सूचीमा छन् र सूचीको कुल १० प्रतिशत ती कम्पनीहरूले समेट्दछन् । 

अघिल्लो वर्षको सोही अवधिको तुलनामा चीनको अनुसन्धान र विकासमा २० प्रतिशत वृद्धि आएको छ जुन विश्वको औसत ८.३ वृद्धिदर भन्दा बढी हो । सन् २०१८ मा ह्वावेले विश्वव्यापी स्मार्टफोनको बजारमा दोस्रो स्थान हासिल गरेको थियो ।

आइडीसी, एसए, क्यानालिस तथा काउन्टरपोइन्ट्सले सार्वजनिक गरेको विश्वव्यापी चौमासिक बजार अनुगमन प्रतिवेदनमा ह्वावे विश्वव्यापी स्मार्टफोनको बजारमा दोस्रो स्थानमा छ ।