कीवर्डहरू -

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

इन्टरनेटकै कारण मेरो किताब ‘बेस्ट सेलर’ भयो : निमेष पौडेल

निमेष पौडेल (२१) ‘फाइभ मन्थ्स’ उपन्यासका लेखक हुन् । बुलबुल प्रकाशनको 'बेस्ट सेलर बुक' बन्न सफल यो उपन्यासपछि पौडेलले दोस्रो उपन्यास ‘फ्रेब्रुअरी १४’ ल्याउँदै छन् । उनी सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्समा स्नातकमा अध्ययन गरिरहेका छन् :

तपाईं आइटी विषयको विद्यार्थी । साहित्य लेखनमा कसरी समय भ्याउनुहुन्छ ?
म किताब प्रायः राति लेख्छु । कलेज र प्रोजेक्टका काम सकिएपछि लेख्न बस्छु । ‘फाइभ मन्थ्स’ पनि राति नै लेखेँ । ‘फ्रेब्रुअरी १४’ पनि यसरी नै लेखेँ । जे कुरामा लगाव छ, त्यसका लागि जसरी पनि समय जुटाउन सकिँदो रहेछ ।

तपाईंको परिभाषामा साहित्य के हो ?
साहित्यले समाज बुझाउँछ । साहित्य लेख्नु भनेको समाजलाई राम्ररी अध्ययन गर्नु हो । म युवाको मनोविज्ञान बुझ्छु । यही उमेर छिचोल्दै आएकाले प्रेम बुझेको छु, यसकै बारेमा लेखिरहेको छु । विषय अरु पनि हुन सक्लान् । तर समाजभन्दा टाढाका हुन सक्दैनन् ।

‘फाइभ मन्थ्स’ बुलबुल प्रकाशनकाे बेस्टर सेलर बुक भनेर भन्नुभएकाे थियाे । बेस्ट सेलर बुक बनाउन सोसल मिडिया र अन्य आइटी टुल्सको प्रयोग कत्तिको गर्नुभयो ?
व्यापक प्रयोग गरेँ । इन्टरनेट भएन भने किताबहरु जति विक्री हुनुपर्ने हो, त्यसको आधा पनि हुने थिएन । किताब भनेको चलचित्र होइन, पोस्टर भित्तामा टाँसेर प्रचार गर्नलाई । विश्वमा नाम चलेका साहित्यकारहरुले पनि अहिले किताब विमोचन भइसकपछि सोसल मिडिया र अरु अनलाइन माध्यमबाट स्पोन्सर र एडभरटाइज गरिरहेका छन् । फाइभ मन्थ्समा पनि त्यही सिको गरेँ । इन्टरनेट थिएन भने शायद मेरो किताब बेस्ट सेलर हुन्थेन जस्तो लाग्छ ।

अहिले ई–बुक र ई–लाइब्रेरीको अभ्यास हुन थाले पनि साहित्यिक पुस्तकहरु भने हार्ड कपीमै बजार आउँछन् । किन होला ?
साहित्य विधाले पनि प्रविधिको साथ लिनुपर्छ भन्ने सोचाइ मेरो छ । ई–बुकको माग आइरहेको छ भने म मेरो प्रकाशकलाई त्यो प्लेटफर्म अपनाउन आग्रह गर्छु । एउटा प्रकाशकले सुरु ग¥यो भने अरुले नि पछ्याउने छन् । किताबको डिजिटल उपस्थिति हुनु भनेको १० गुणा पाठक कमाउनु हो । तर, पाइरेसी र अरु चुनौती यस्तो प्रविधिमा हुने हुँदा लेखक र प्रकाशकलाई डर पनि छ ।

‘फ्रेब्रुअरी १४’ कहिले आउँदै छ ? तयारी कसरी गर्दै हुनुहुन्छ ?
पहिलो किताबमा जुन रेस्पोन्स पाएँ, त्यो रेस्पोन्सबाट दोस्रो किताब अत्यधिक विक्री हुने अपेक्षा छ । सोसल मिडियाबाट उत्साहजनक प्रतिक्रियाहरु पाइरहेको छु । फ्यान फ्लोइङ दिनप्रतिदिन बढिरहेको छ । फ्रेब्रुअरी १४ भ्यालेन्टाइन डेको अवसरमा विमोचन गर्दै छु ।

भविष्यमा तपाईंलाई आइटी प्रोफेसनलको रुपमा देख्न पाइन्छ कि साहित्यकारको रुपमा ?
मलाई आइटी फिल्डमै रहेर काम गर्न मन छ । आइटी ‘भास्ट’ विषय हो, तर समय प्रशस्त हुन्छ । आइटीको प्रयोग गरी थोरै समयमा धेरै काम गर्न सकिन्छ । आइटी फिल्डबाट पनि धेरै साहित्यकार आइरहनु भएको छ । यसर्थ म भविष्यमा आधा समय लेखन, आधा समय आइटीलाई दिन्छु ।