कीवर्डहरू -

मोबाइलको लतमा कसरी फस्दै छन् मानिस ? 

मोबाइलको लतमा कसरी फस्दै छन् मानिस ? 

मानिसले इन्टरनेटको एउटा जालो बनायो र आज मानिस त्यही जालाेमा फस्दैछ । समस्या स्मार्टफोनको होइन तर हामीले त्यसलाई नबुझ्नु हो की कसरी यसले हाम्रो मस्तिष्कलाई नियन्त्रण गरी राखेको छ ।

स्मार्टफोन आउनु भन्दा अगाडि आएका सबै किप्याड फोनहरु केबल एक ‘टुल’ मात्रै थिए, जसलाई हामी कन्ट्रोल गर्न सक्थ्यौं । तर प्रशिद्ध युट्युब सन्दिप महेश्वरी भन्छन् आजको स्मार्टफोनको उपयुक्त नाम ‘म्यानिपुलेटेड इन्टेलिजेन्ट मेसिन’ हो ।

किनभने हाम्रो स्मार्टफोनको पछाडि एकदमै उच्चस्तरको बुद्धिले काम गरिराखेको छ जसलाई सुपर कम्प्युटर वा आर्टिफिसियल इन्टेलिजेन्स भन्न सकिन्छ । यो हाम्रो बौद्धिक क्षमताभन्दा धेरै शक्तिशाली छ । यसले केवल तपाईंको ध्यानलाई मात्र कन्ट्रोल नगरेर तपाईंको बानी, विचार, सबै कुरालाई नियन्त्रण गरी राखेको छ ।

आजभोलि स्मार्टफोनका प्रयोगकर्ताको साथै ईन्टरनेटको पहुँच पनि वृद्धि भएको छ । समयको क्रमसँगै प्रविधिको विकास पनि भइरहेको छ । पहिले पहिले डेस्कटप कम्प्युटरको प्रयोग गरिन्थ्यो । यसमा स्क्रीन ठूलो हुन्थ्यो र यसको प्रयोग गर्दा हाम्रो शरिरको मुद्रा पनि ठीक थियो ।

यसमा हाम्रो बाहुले आराम पाउथे, शरीर ९० डिग्री सिधा हुन्थ्यो र स्क्रीन समय समेत कम थियो । त्यसपछि ल्यापटप आयो, जहाँ स्क्रीन छोटो थियो । जसले स्क्रीनको कोण पनि काम गर्‍यो । जसकारण हाम्रो शरीरको मुद्रा पनि बद्लियो ।

ल्यापटपमा स्क्रीन समय बढेको थियो र अहिलेको समयमा स्मार्टफोनको आगमनले स्क्रीन घटेका कारण तपाईंको शरीरको मुद्रा पनि परिवर्तित भएको छ । बच्चा देखि युवा युवतीहरु र आमा बुवालाई समेत स्मार्टफोनको लत लागिसकेको छ ।

धेरै समय मोबाइल चलाउँदा समस्यै समस्या

हामीले आफ्नै घरमा आफ्नो बच्चाहरुले घण्टौंसम्म मोबाईल चलाएको देखेका छौं । एक हिसाबले हेर्दा हामीले प्रयोग गर्ने स्मार्टफोन हाम्रो ध्यानलाई तान्ने एक प्रकारको चुम्बक भइसकेको छ ।

निःशुल्क चलाऊने समाजिक सञ्जाल वास्तवमा निःशुल्क नभएर हाम्रो समय र व्यक्तिगत गोपनीयताको ठूलो मुल्य चुकाउनु परिरहेको छ । अझ अचम्म त यसबाट पैदा हुने समस्याहरुको बारे हामी धेरैलाई थाहै छैन ।

डोपामिन मोबाईल चलाउँदा हाम्रो शरीरमा उत्पन्न हुने एक प्रकारको उत्साह पैदा गर्ने हर्मोन हो । यसको लत निकोटिन, अल्कोहल, धुम्रपान, कोकिन लगायतको सेवन गर्दा पैदा हुने जस्तै छ ।

अझ साना साना बालबालिकाहरूको हातमा मोबाईल फोन दिनु र उनीहरुलाई यसको लत लाग्न दिनु लामो समयको दृष्टिकोनमा कुलतमा फसाउनु जस्तै हो । अर्थात एकतर्फ उनीहरु यसको लतमा फसिसकेका छन् र उनीहरुलाई यो नै थाहा छैन की यसबाट बाहिर कसरी निस्किने । यो वास्तवमा गम्भिर बिषय हो, जसको समाधान अपरिहार्य बनिसकेको छ ।

\"\"

नेटफ्लिक्समा एउटा डकुमेन्ट्री छ ‘दी सोसिअल डिलेमा’ । यदी तपाईंले यो डकुमेन्ट्री हेर्नु भएको छैन भने एकपटक अवश्य हेर्नु होला । यो डकुमेन्ट्रीमा हामीले फ्रीमा चलाऊने सोसिअल मिडिया साइट जस्तै फेसबुक, इन्स्टाग्राम ह्वाट्सएप, ट्विटरहरुको व्यापार मोडेल र अल्गोरिदमको बारेमा संक्षिप्त जानकारी दिएको छ ।

यसमा प्रयोगकर्ता जस्तै तपाईं र हामी नै यी ‘बिग टेक’ अर्थात ठूलो टेक कम्पनीको प्रडक्ट भएका छौ । यी कम्पनीहरुले हामीले सर्च गरेका हरेक कुराहरुलाई सङ्कलन गरेर राख्छन् र एउटा मोडेल तयार गर्छन् । प्रत्येक व्यक्तिको मोडेल उनीहरुको सिस्टममा राखेर तिनिहरुको अर्को चाल के हुनसक्छ, त्यो अनुमान लगाउँछन र त्यही प्रकारको विज्ञापन तपाईंलाई देखाउँछन् ।

यहाँ विज्ञापन मात्र होइन, आफ्नो प्लेटफर्ममा तपाईंलाई राखिराख्न अर्को भिडियो सिफारिस गरेर तपाईंको ध्यानलाई नियन्त्रण गर्दछन् र तपाईंलाई धेरै समय बिताएको पत्तै लाग्दैन । र तपाईंको बहुमुल्य समय पनि बर्बाद हुन पुग्छ ।

यस्तो तरिकालाई मनोविज्ञानको क्षेत्रमा ‘र्‍याबिट होल’ भनिन्छ । यो भनेको एक जटिल विचित्र वा कठिन अवस्था वा स्थितिलाई एउटा प्वालको रूपमा कल्पना गरिनु हो, जसमा कोही झर्छ । अझ अहिलेका सामाजिक सञ्जालका कम्पनीहरुले एटेन्सन इन्जिनियरहरु आफ्नो कम्पनीमा राख्न थालेका छन् जसलाई थाहा छ कि कोही व्यक्ति कुन प्रकारले जुवाको लतमा पर्न सक्छन् ।

उनीहरुको काम कसरी तपाईंको ध्यान धेरै समय सम्म आफ्नो प्लेटफर्ममा राख्नु भन्ने हुन्छ । यी इन्जिनियरहरुले बनाएको कोड एआईद्वारा कार्यान्वयन गरिन्छ र एआईको कुनै भावना हुँदैन । केवल लक्ष्य हुन्छ र त्यो लक्ष्य भनेको तपाईंको ध्यानलाई आकर्षित गर्नु हो ।

अहिले इन्टरनेटमा एउटा शब्द देख्न सकिन्छ, ‘नोमोफोबिया’ । अर्थात सेलुलर फोन सम्पर्क बाहिर हुने डर । छोटो समयसम्म पनि यदी कसैको हातमा मोबाईल फोन छैन् भने चिन्तित हुने, डर महसुस गर्ने, एक्लोपन महसुस गर्ने र बोर हुने समस्या देखिन्छ ।

पसिना आउने, झर्किने, रिसाउने जस्ता समस्याहरु पनि आजकालका बच्चाहरुमा देख्न सकिन्छ । हामीले प्रयोग गर्ने मोबाईलहरु दिनप्रतीदिन आकर्षक बन्दै गइरहेका छन् । त्यसले पनि हामी प्राय धेरैले स्मार्टफोन प्रयोग गर्छौं । स्मार्टफोन चलाउनुमा केही गलत छैन् । तर यसको लत लाग्नु नराम्रो बानी हो ।

मोबाईल चलाउँदा यसले केही पलको लागि खुशी त दिन्छ तर भित्री सन्तुष्टी दिदैन । त्यसको सट्टा केही क्षणको मात्रै आनन्द दिन्छ । मोबाईलमा घण्टौंसम्म गेम खेल्नु भन्दा साचिक्कै मैदानमा गएर साथीहरुसँग फुटबल, क्रिकेट खेल्नुमा बेग्लै मज्जा छ । मोबाईलमा जति खेले पनि सन्तुष्ट भइदैन् ।

किनभने त्यो भर्चुअल हो । अवास्तविक कुराहरुले सन्तुष्टि दिन सक्दैनन् । र मानिस यही सन्तुष्टि पाउन मोबाईलमा भौतारी रहन्छ । मनमा अझ बढी स्क्रोल गर्न मन लाग्छ, अझै धेरै भिडियोहरु हेर्न मन लाग्छ ।
कसैले पनि मोबाईल सिधा भएर चलाएको देखिन्न, सबैजना घाँटी झुकाएर नै चलाउँछन् ।

लामो समयसम्म यसरी घाँटी झुकाएर मोबाईल चलाउँदा हाम्रो शरीरमा समस्याहरु आइपुग्छन् । यसले शरीरको मुद्रा त बिगारदिएको छ नै साथै यसको कारण चक्कर आउनु, संतुलन बिग्रिनु, डरको महसुस हुने, घाँटी दुख्ने जस्ता समस्या देखा पर्छन् ।

\"\"

वास्तविक दुनियाँमा त कमसेकम केही चिजको सीमा त छ तर अनलाइन दुनियाँमा कुनै सीमा छैन् । मोबाईल फोनको लतको कुनै रोक छैन् । हामी अहिले भर्चुअल दुनियाँमा बाचिरहेको छौं, जहाँ जेसुकै गरेपनि खालिपन नै महशुस हुन्छ । त्यसैले डिप्रेसन, चिन्ता, तनाव, एक्लोपन जस्ता मानसिक समस्याहरु पनि बढ्दै छन् ।

मोबाइलको लतबाट कसरी जोगिने ?

कुनै पनि समस्याको समाधान भनेको सर्वप्रथम त त्यो समस्याको पहिचान गर्नु हो । त्यो समस्याप्रति सचेत रहनु हो । यदी स्मार्टफोनको लतबाट छुट्कारा पाउन चाहनुहुन्छ भन्ने सर्वप्रथम त तपाईं यसको लत बारे सचेत हुनुपर्दछ । यसको समस्या बारे बुझ्नु पर्दछ । स्मार्टफोनको लतबाट छुट्न धेरै उपायहरु छन् । ति उपायहरु निम्न बुँदाहरुमा उल्लेखित छन् ।

  • हप्ताको कुनै एकदिन नो फोन डे मनाउनुहोस् । यो दिन मोबाईल नछुनुहोस् र आफ्नो परिवारसँग समय बिताउनुहोस् । परिवारमा गफ गरेर वा कतै घुम्न गएर समय बिताउनुहोस् ।
  • सामाजिक सञ्जालहरू धेरै चलाउनु हुन्छ भने ति एपहरू तपाईंले मोबाईलमा सजिलै भेटाउन नसकिने ठाउँमा राख्नुहोस् । यसकारण तपाईंले ति एपहरू भेटाउन समय लाग्छ र अनावश्यक कुराहरुमा तपाईंको पनि ध्यान जादैन् ।
  • नोटीफिकेसन आउँदा हामी मोबाईल हेर्न हतार गर्छौ । यसकारण तपाईंको मोबाईलको नोटिफिकेसन बन्द गरिदिनुस्, तपाईंले आधा लडाई त्यही जिती सक्नुहुन्छ । नोटिफिकेसनको आवाजले पानी हाम्रो समयलाई बर्बाद गरिरहेको हुन्छ । आफुलाई चाहिने महत्त्वपूणर् कुराहरु कुनै निश्चित समयमा मात्रै चेक गर्नुहोस् ।
  • तपाईंको मोबाईल चलाउने बानीलाई कुनै अर्कै बानीले हटाउनुहोस् । बिहान र बेलुका कम्तिमा ३० मिनेट प्रति दिन हिड्न जानुहोस् ।
  • फलामलाई फलामले काट्छ भनेझै प्रविधिबाट बच्न प्रविधिको प्रयोग गर्नुहोस् । मोबाईलमा भ्वाइस कमाण्डको प्रयोग गर्नुहोस् । यसले तपाईंले मोबाईल चलाउदा तपाईंको मुद्रा पनि बिग्रिदैन र घाँटी दुखाइको समस्या पानी आउँदैन् ।
  • तपाईंले आफ्नो इलेक्ट्रोनिक उपकरणहरुको विभाजन गर्नुहोस् । लामो समय मोबाईलमा नबिताउन आफ्नो कामलाई ल्यापटप, डेस्कटपमा विभाजन गर्नुहोस् । भिडियोहरु टिभीमा हेर्नुहोस् भने इमेल डेस्कटपमा ।
  • अहिले स्क्रीन टाईम मापन गर्ने धेरै एपहरू उपलब्ध छन् । ति एपहरूको सहयोगले आफ्नो स्क्रीन टाईम ट्र्याक गर्नुहोस् र के कुरामा अतिरिक्त समय खर्च भइरहेको छ थाहा पाउनुहोस् ।
  • अनावश्यक कुराहरुका लागि मोबाईल नचलाऊनुहोस् । बरु रचनात्मक कार्यमा समय बिताउनुहोस् । आफ्नो इच्छा र मन परेको काम गर्नुहोस् ।
  • धेरै बेर मोबाईल मात्रै चलाएर नबस्नुहोस् । त्यसको साटो प्रकृतिसँग पनि समय बिताउनुहोस् । आफ्नो वरिपरिको वातावरणको पनि ख्याल राख्नुहोस् ।
  • सामाजिक संजालहरुलाई एउटा उपकरणको रूपमा प्रयोग गर्नुहोस् । तर आँफै यसको सिकार नहुनुहोस् ।

अन्त्यमा परिवर्तन ल्याउने भनेको तपाईं आँफैमा भर पर्छ । मोबाईल फोनको लत नयाँ चुनौती हो । यसको समाधान भनेको यस समस्यालाई पहिचान गर्नु नै हो । मोबाईल फोनको फाइदा पनि छ । तर यसको नोक्सानको बारेमा पनि जानकार हुनु आवश्यक छ ।