कीवर्डहरू -

ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै 

ओपन सोर्स सफ्टवेयरको प्रयोग बढ्दै 

तपाई कस्ता सफ्टवेयरहरु प्रयोग गरिरहनुभएको छ ? नेपालमा सक्कली सफ्टवेयर प्रयोग गर्नेहरु कति होलान ? यसको यकिन तथ्यांक त छैन तर ९५ प्रतिशतभन्दा बढि नेपाली कम्प्युटर प्रयोगकर्ताहरु पाइरेटेड सफ्टवेयर नै प्रयोग गर्छ भन्ने अनुमान लगाउन सकिन्छ । केही ठूला बैंक, अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरु बाहेक अरुका कम्प्युटरमा सक्कली सफ्टवेयर भेट्न गाह्रो हुन्छ ।

विश्व बजारमा माइक्रोसफ्टको सफ्टवेयरप्रति उपभोक्ताको आकर्षण घट्दो छ भने लिनक्स ९खुल्ला स्रोत० र एप्पलको बजार बढ्दै गइरहेको छ । मोबाइल ओएसमा हेर्ने हो भने त ओपन सोर्स सफ्टवेयर एन्ड्रोइडले नै बजार कब्जा गरेको छ ।

सामान्यतयाः हामी सोच्छौ, हामीले कम्प्युटर किन्दा माइक्रोसफ्ट विन्डोज फ्रिमा नै आउँछ भनेर । तर, त्यो सही होइन । जुन धेरैजसो ‘पाइरटेड भर्जन’ मा हुन्छ । नेपालीको प्रतिव्यत्ति आयसँग सक्कली सफ्टवेयरको मूल्य दाँज्ने हो भने यो सम्भव छैन ।

माइक्रोसफ्टको सक्कली ओएसलाई दुई सय अमेरिकी डलर र अफिस प्याकेजलाई झन्डै तिन सय अमेरिकी डलर पर्छ । उपभोक्ताले डेढ सय रुपैयाँ र डेढ सय अमेरिकी डलर बिच तुलना पक्कै गर्नेछन । यस्तो अवस्थामा उपभोक्ताको रोजाई पाईरेटेड सफ्टवेयर नै हुनेछ ।

पाइरेसी सफ्टवेयर नेपालमा बन्द गर्ने कानुन ल्याएमा वा मुद्धा परेमा समस्या आउने देखिन्छ । यि यस्ता कारणहरुबाट पनि फ्रि एण्ड ओपन सोर्स सफ्टवेयरतर्फ धेरैको ध्यान आकर्षीत हुदै गएको छ ।

तीव्र गतिमा परिवर्तन भइरहेको विश्व बजारमा व्यापारिक संस्थाहरू आफ्ना गतिविधि चुस्त राख्न र प्रतिस्पर्धात्मक वातावरणमा खरो उत्रन नयाँ प्रविधिको अधिकतम उपयोग गर्न तम्सिएका छन् । यसका लागि विकसित देशका ठूलासाना, सार्वजनिक–निजी कम्पनीहरू आफ्ना व्यावसायिक लक्ष्यमा पुग्न र ग्राहकलाई उत्कृष्ट सेवा दिन ‘ओपन सोर्स सफ्टवेयर’ प्रविधिबाट फाइदा लिन लागिपरेका छन् ।

‘ओपन सोर्स’को प्रयोग सजिलो हुनुका साथै महत्वपूर्ण पनि बन्दै गएको छ । त्यस्ता सफ्टवेयरलाई सञ्चालन गर्न कुनै लाइसेन्स शुल्क पनि तिर्नुपर्दैन । हरेक प्रकारका ओपन सोर्स सफ्टवेयर निःशुल्क प्रयोग गर्न सकिन्छ ।

लाइसेन्स शुल्क तिर्न नपर्नुबाहेक पनि ओपन सोर्सका थुप्रै फाइदा छन् । ओपन सोर्स प्रयोग गर्ने सफ्टवेयर निर्माताहरूले आफ्नै समूह र समुदाय बनाएर ‘सोर्स कोड’ शेयर गर्दै सामूहिक रूपमा राम्रा सफ्टवेयर विकास गरिरहेका छन् ।

यसले कम्पनीहरूलाई व्यापारिक गतिविधिमा देखिएका समस्या हल गर्न निकै कम मूल्यमा सृजनात्मक र प्रभावकारी कम्प्युटरिङ सेवा उपलब्ध गराइरहेको छ ।

सन् २०१८ मा ओपन सोर्स सफ्टवेयरको बजार झनै बढेको विभिन्न प्रतिवेदनले प्रस्तुत गरेका छन् ।