कीवर्डहरू -

टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन 

टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन 

टेलिकमको फोरजी : एक वर्षभित्र देशभर विस्तार गर्न समितिको निर्देशन

काठमाडौं । एक वर्षभित्र मुलुकभर फोरजी सेवा प्रवाह हुने आधार सुनिश्चित हुने गरि रणनीति र कार्यनीति तयार गरि लागू गर्न नेपाल सरकार र नेपाल टेलिकमलाई संसदीय समितिले निर्देशन दिएको छ ।

मंगलबार बसेको संघीय संसद प्रतिनिधिसभा अन्र्तगत अर्थसमितिकोे बैठकले फोरजी सेवा विस्तारको लागि सम्झौता भएको मितिले एक वर्षभित्र सेवा प्रवाह हुने गरि रणनीति र कार्यनीति तयार गरी लागू गर्न निर्देशन दिएको हो ।

यसका लागि सम्झौता गर्दा उपकरण र सेवाको गुणस्तरमा कुनै सम्झौता नहुने गरि र तोकिएको समयमा काम सम्पन्न नभए सम्झौतामा संलग्न सबै पक्ष जवाफदेही हुने गरि व्यवस्था गर्न पनि निर्देशन दिएको छ ।

साथै समितिले ५ बर्षमा नेपाल टेलिकमबाट प्रवाह हुने सेवाबाट सरकारलाई प्राप्त हुने राजश्व दोब्बर हुने गरि व्यवसायीक योजना बनाउन निर्देशन दिएको छ ।

नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्ने निर्णय लिँदा हाल प्रक्रियामा रहेको ठेक्कालाई निरन्तरता दिने वा नया बोलपत्र आव्हान गर्ने वा अन्य विकल्पको छनौट गर्दा लाभ बढी र लागत कमको आधारमा प्रक्रियामा सहभागी सबैले जिम्मेवारी र जवाफदेहिता लिने गरि निर्णय गर्न पनि समितिले निर्देशन दिएको छ ।

फोरजी सेवा विस्तारको अनुमति लिएको लामो समय भईसक्दा पनि नेपाल टेलिकमले काठमाडौं र पोखरामा मात्रै सेवा सिमित गराएको तथा एक वर्षदेखि ठेक्का प्रक्रियामा नै अल्झिएको भन्दै समितिले टेलिकमको फोरजी सेवा विस्तारबारे सञ्चार तथा सूचनामन्त्री, सचिव, नेपाल टेलिकमका पुर्व प्रमुख, विज्ञ लगायतसँग छलफल गरेको थियो ।

छलफलमा नेपाल टेलिकमका पुर्व प्रमुखहरुले फोरजी विस्तारमा अवरोध नपुर्याउन सुझाव दिएका थिए ।

फोरजी विस्तारका लागि अनुमति प्राप्त गरेका निजी क्षेत्रका दुरसञ्चार सेवा प्रदायक कम्पनीले दु्रत गतिमा बजार विस्तार गरि सेवा प्रवाह गरिरहँदा नेपाल टेलिकम भने विगत एक बर्षदेखि फोरजी विस्तारको ठेक्का प्रक्रियामा नै अल्झिएको छ ।