कीवर्डहरू -

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

फोरजी बिस्तारको लागि जेडटिई र सिसिएसआईसँग टेलिकमको सम्झौता

नेपाल टेलिकमले देशभर फोरजी बिस्तारको लागि टेण्डर हात पारेको कम्पनीसँग आइतवार फोरजी बिस्तारको काम गर्नका लागि सम्झौता गरेको छ ।

टेलिकमका सह प्रवक्ता सोभन अधिकारीले आइतवार कोर र र्यान नेटवर्कका लागि दुबै कम्पनीसँग सम्झौता भएको जानकारी दिए ।

‘दूबै कम्पनीसँग आजै सम्झौता भएको हो हामी ‌औपचारिक जानकारी नै दिनेछौं,’ उनले भने ।

आज भएको सम्झौतामा सरकारको तर्फबाट गर्नुपर्ने काम टेलिकमले पूरा गर्ने तथा जंगल भएको ठाउँमा रिपिटर टावर राख्ने, सार्वजनिक जग्गा, वनको जग्गालगायतका स्थानमा टावर राख्नका लागि आवश्यक अनुमति लिने काम टेलिकमले गर्ने लगायतका विषयहरु उल्लेख छ ।

टेलिकमले यसअघि नै सम्झौता गर्ने तयारी गरेको भएपनि संघिय संसदको अर्थ समितिमा छलफल शुरु भएपछि यो तयारीलाई पछाडि धकेलेको थियो ।

टेलिकमले फोरजीको कोर र र्यान नेटवर्क बिस्तारको लागि क्रमशः जेडटिई र चाइना कम्यूनिकेसन्स सर्भिसेस इन्टरनेशनल(सिसिएसआई) लाई दिएको थियो । जसको लागि टेलिकमले दुबै कम्पनीहरुलाई पुस १७ गते नै लेटर अफ इन्टेन्ट दिएको थियो ।

सिसिएसआईले र्यान नेटवर्क बिस्तारका लागि करिब १७ अर्ब रुपैयाँमा सो काम सक्नेछ भने जेडटिईले कोर नेटवर्कको काम लगभग डेढ अर्ब रुपैयाँमा सक्नुपर्नेछ ।

टेलिकमले नयाँ फोरजी बिस्तारको कार्य देशभरी आउटडोरका लागि ६ हजार ७ सय ३७ साइटहरुमा बिस्तार गर्नेछ भने इण्डोर सलुसनको रुपमा ५ हजार ८ सय २५ साइटहरुमा पुर्याउने छ ।

फोरजी बिस्तारपछि कम्पनीले १३० एमबिपिएसको गतिमा डाटा दिनसक्नेछ र त्यसमा भ्वाइस ओभर लंग टर्म इभोलुसन अर्थात भीओएलटिई पनि प्रयोग हुनेछ ।

टेलिकमको फोरजी एलटिई बिस्तारको लागि कोर नेटवर्कतर्फ जेडटिईले १ अर्ब ५६ करोड ७३ लाख ३ हजार ७३ रुपैयाँमा टेण्डर पाएको थियो भने र्यान तर्फ सिसिएसआईले नेटवर्क वानका लागि ८ अर्ब ७५ करोड २६ लाख ४९ हजार ५ सय ७८ रुपैयाँ तथा नेटवर्क टूका लागि ८ अर्ब ३९ करोड ३१ लाख ४६ हजार ३ सय ७६ रुपैयाँमा टेण्डर प्राप्त गरेका हुन् ।

टेण्डर पाएको सिसिएसआई कम्पनीले १२ महिनाभित्र ईलामदेखि डडेलधुरासम्म फोरजी एलटीई बिस्तारको कार्य गर्नेछ ।

यसका लागि टेण्डर पाएको कम्पनीले प्रमुख १० शहरहरुमा एयर लिफ्ट गरेर सेवा बिस्तार गर्नेछ । यी शहरहरुमा दमक, बिराटनगर, धरान, जनकपुर, वीरगंज, भरतपुर, बुटवल, नेपालगंज, धनगढी र बनेपा छन् ।

फाइभजी प्रविधिमा स्तरोन्नति गर्न प्राविधिक स्तरोन्नति तथा तयारी गर्ने सम्बन्धमा सिसिएसआई र ह्वावेले फोरजी आयोजनाको कार्य पूर्णरुपमा सम्पन्न भई ५जीको स्ट्याण्डर्ड तय भएपछि तथा ५जीका लागि आवश्यक फ्रिक्वेन्सी स्पेक्ट्रम उपलब्ध हुने भएपश्चात २ थान फाइभजी ट्रायल साइटहरु शुल्क बिना टेलिकमलाई उपलब्ध समेत गराउने छ ।

यसैबिच नेपाल टेलिकमले औपचारिक प्रेस विज्ञप्तिमार्फत टेलिकमको को फोरजी/एलटीई सेवा विस्तारका लागि माघ २० गते सम्झौता सम्पन्न भएको जानकारी दिएको छ ।

संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलिकमले जनाएको छ ।