कीवर्डहरू -

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइँदै

नेपालमा पहिलोपटक ‘सुरक्षित इन्टरनेट दिवस’ मनाइँदै

काठमाडौँ  । विश्वमा प्रत्येक वर्ष फेब्रुअरीको पहिलो हप्ता मनाइँदै आएको ‘सुरक्षित इन्टरनेट दिवस’ यस वर्ष फेब्रुअरी ५ तारिख (माघ २२ गते) नेपालमा पहिलोपटक चाइल्डसेफनेटको सक्रियतामा मनाइँदै छ । चाइल्डसेफनेट बालबालिका तथा युवा वर्गका लागि डिजिटल प्रविधि सुरक्षित बनाउनका लागि कार्यरत संस्था हो ।

साइबर सुरक्षा सम्बन्धमा चेतना अभिवृद्धि गर्ने; बालबालिका तथा युवा वर्गको संलग्नतामा उनीहरूकै लागि काम गर्न विभिन्न संस्थाहरूबीच सामूहिक शक्ति विकास गर्ने तथा बालबालिका तथा युवा वर्गलाई अनलाइन सुरक्षा प्रदान गर्नका लागि जिम्मेवार व्यक्तिहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सुरक्षित इन्टरनेट दिवस प्रत्येक वर्ष विश्वका एक सयभन्दा बढी देशमाआयोजना गर्ने गरिएको छ ।

चाइल्डसेफनेटका अध्यक्ष श्री अनिल रघुवंशी भन्नुहुन्छ, “यस विश्वदिवसले प्रविधिको सकारात्मक प्रयोगसम्बन्धी जानकारी प्रकाशमा ल्याउन तथा राम्रो एवं सुरक्षित अनलाइन समुदाय सिर्जना गर्नका लागि अवसर उपलब्ध गराउँछ । सुरक्षित इन्टरनेट संसार सिर्जनाका लागि सघाउने अभियानमा सहभागी बन्न यस दिवसले युवावर्ग, अभिभावक, शिक्षक, समाजसेवी, सामाजिक संस्था, सञ्चारकर्मी, नीति निर्माता, प्रहरी, इन्टरनेट सेवा प्रदायकहरू, नीजी क्षेत्र तथा सबै इन्टरनेट प्रयोगकर्तालाई आह्वान गर्दछ ।”

“आजको डिजिटल युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्र तीव्रताका साथ अगाडि बढिरहेको छ । सँगसँगै यसले असङ्ख्य नकारात्मक तथा डरलाग्दा प्रभावहरूलाई पनि अस्तित्वमा ल्याइरहेको छ । साथै, सूचना र प्रविधिको सहज पहुँचले नेपालमा पनि बालबालिका तथा युवाले प्रविधिको अत्याधिक प्रयोग गर्ने गरेका छन् ।” नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार नेपालका ५६.४१ प्रतिशत जनताले ब्रोडब्याण्ड इन्टरनेट प्रयोग गर्दछन् । फेसबुक, ईन्स्टाग्राम, यूट्यूब र ट्वीटरका साथै टीकटक र स्नापच्याट प्रयोग गर्नेहरुको संख्या पनि धेरै छ । नेपालमा फेसबुकको मात्र झण्डै एक करोड प्रयोगकर्ता छन्, जस मध्य आधा भन्दा बढी २५ वर्षमुनीका युवा तथा बालबालिका हुन् ।

अध्यक्ष रघुवंशी अगाडि भन्नुहुन्छ, “डिजिटल प्रविधिको असुरक्षित प्रयोगले बालबालिका तथा युवामाअनलाइन यौन दुव्र्यवहार एवं शोषण, साइबर बुलिङ्ग, छलकपट (फिसिङ्ग) तथा यौनजन्य गैरकानुनी असुली (सेक्स्टोर्सन) जस्ता गम्भीर जोखिमबढिरहेकोछ, जसले उनीहरुको मानसिक,ं बौद्धिक र शैक्षिक विकासमा बाधा पार्नुका साथै उनीहरूलाई असामाजिक बनाउने, हतोत्साही गर्नेे र उनीहरूको आत्मसम्मानमा घटाउने जस्ता प्रभाव पार्ने सम्भावना हुन्छ । बालबालिका, युवा वर्ग, अभिभावकहरू, शिक्षकहरू तथा सरकारले साइबर सुरक्षालाई गम्भीरतापूर्वक लिन इन्टरनेटलाई सुरक्षित स्थान बनाउनका लागि आ–आफ्ना उत्तरदायित्वहरू निर्वाह गर्न अति आवश्यक छ ।”