देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तार गर्ने परियोजनाको काम अन्तिम चरणमा पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरी देशका सबै स्थानीय तहमा इन्टरनेट पुर्याउने परियोजना अन्तिम चरणमा पुर्याएको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने काम चैत मसान्तसम्म ९९.७९ प्रतिशत सम्पन्न भएको छ ।
ब्रोडब्याण्ड इन्टरनेट सबै स्थानीय तहका कार्यालय, स्वास्थ्य संस्था र माध्यमिक विद्यालयमा पुगिसकेको छ । अब ३४ स्थानीय तहका वडा कार्यालयमा मात्रै इन्टरनेट जडान गर्न बाँकी रहेको छ ।
प्राधिकरणले ग्रामिण दूरसञ्चार विकास कोष परिचालन गरेर ब्रोडब्याण्ड इन्टरनेट परियोजनालाई १८ वटा प्याकेजमा विभाजन गरेर थियो । देशभर ब्रोडब्याण्ड इन्टरनेट विस्तारका लागि प्रतिस्पर्धाबाट प्राधिकरणले विभिन्न सेवा प्रदायक छनोट गरेको थियो ।