नेपाल टेलिकमको प्रति प्रयोगकर्ता औसत आम्दानीमा गिरावट आएको छ । महालेखा परीक्षकको ५९ औं प्रतिवेदनले गत वर्षभन्दा आर्थिक वर्ष २०७७-७८ मा प्रति प्रयोगकर्ता औसत आम्दानीमा गिरावट आएको देखाएको छ ।
टेलिकमले फोरजी र एफटिटिएच विस्तारमा ढिलाइ भएको कारण ग्राहकको मागअनुसार इन्टरनेटसहितको सेवा प्रदान गर्न नसक्दा आम्दानी घट्दै गएको महालेखाको ठहर छ ।
‘कम्पनीले फोरजी/ एलटीई. र एफ.टी.टी.एच. सेवा विस्तारमा भएको ढिलाइका कारण ग्राहकको मागअनुसार इन्टरनेट सहितको सेवा प्रदान गर्न नसक्दा मुख्यतः जीएसएम, पीएसटीएन् र एडीएसएल् सेवाको आम्दानीमा प्रति ग्राहक आम्दानी घट्दै गएको देखिन्छ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
महालेखाका अनुसार देशव्यापी रूपमा फोरजी/एलटीई सेवाको विस्तार गर्दै लगेको अवस्थामा समेत कम्पनीले जीएसएम सेवाको आम्दानी तथा ग्राहक संख्यामा अपेक्षाकृत वृद्धि गर्न नसकेकाले टेलिकम सेवाबाट प्राप्त हुने औसत प्रति ग्राहक आम्दानी घट्दै गइरहेको छ ।
नेपाल टेलिकमले नयाँ प्रविधिको प्रयोग र समयमै व्यवसायिक योजना कार्यान्वयन गरेर ग्राहकको चाहना र माग अनुसारको सेवा विस्तार गरी आम्दानी गर्नुपर्ने महालेखाको सुझाव छ ।