भक्तपुरका कोविद पन्थी उमेरले १८ वर्ष भए । १८ वर्षकै उमेरमा उनले २ वटा कम्पनी सञ्चालन गर्दै आएका छन् । एउटा टेक समाज नामक सूचना प्रविधि कम्पनी र अर्को ट्रेनिङ कम्पनी, इम्प्याक्ट एस एलएलसी ।
उनले देश विदेशका थुप्रै मानिसहरूलाई पाइथन प्रोग्रामिङ र मार्केटिङ सम्बन्धि तालिम पनि प्रदान गर्दै आएका छन् । कक्षा ११ मा पढ्दा पढ्दै विद्यालयको छाडेका कोविदले ‘सेल्फ स्टिडी’ लाई बढी महत्व दिन्छन् । जीवनभर सिक्नुपर्छ भन्ने उनको धारणा छ ।
उनी स्पीकरको रूपमा वर्डक्याम्प, नेपाल इन्जिनियरिङ एशोसिएसन, राष्ट्रिय युवा सम्मेलन लगायतमा समेत सहभागी भइसकेका छन् ।
सानै उमेरमा धेरै काम गरिसकेका प्रोग्रामर, मार्केटर तथा उद्यमी कोविद पन्थी सँग आइसिटी समाचारका लागि कमल केसी ले गरेको कुराकानीः
सानै उमेरमा तपाईले धेरै प्रगति गरिसक्नु भएको छ । तपाईको बाल्यकाल कसरी बित्यो ?
आजभन्दा १८ वर्ष अघि म भक्तपुरमा जन्मिएको हुँ । मेरो पुर्खौली घर भने लमजुङ हो । मेरो बाल्यका पनि अरू जस्तै सामान्य नै बित्यो । मध्यम परिवारमा मेरो जन्म भएको हो ।
सानैदेखि कम्प्युटरमा रूची थियो तर कक्षा ६ मा हुँदा प्रोग्रामिङ सिक्न थाले । कक्षामा ‘एचटीएमएल’ शीर्षक थियो । तर त्यसलाई कसरी लेख्ने पाठ्यक्रममा थिएन् । त्यसपछि कम्प्युटर शिक्षकलाई सोधे । तर शिक्षकले ८-९ मा जाँदा सिक्छौं भन्नुभयो ।
मैले आफै सिक्ने निधो गरे र घरबाट पाउने ‘पकेट मनि’ जम्मा गर्न थाले । जम्मा गरे पैसाबाट साइबरमा गएर एचटीएमएल, सीएसएस प्रोग्रामिङ सिक्थे । सिकेर पहिलो प्रोजेक्टको रूपमा विद्यालयको वेबसाइट बनाएको थिए । यसरी प्रोग्रामिङ पछि मेरो यात्रा मार्केटिङ र ट्रेनिङतर्फ मोडियो ।
सानै उमेरमा तपाईले एक किसिमको सफलता हात पारिसक्नु भएको छ । तपाईले २ वटा कम्पनी पनि सञ्चालन गर्दै आउनु भएको छ । सानै उमेरमा सफलता पाउँदा कस्तो अनुभव हुँदो रहेछ ?
सफलतालाई उमेरले निर्धारण गर्दैनन् । सफलता भनेको मानिसले परिभाषित गर्ने चीज मात्रै हो । व्यक्ति अनुसार सफलता फरक फरक हुन्छ । बिल गेट्सका लागि मानिसहरूलाई सहयोग गर्नु सफलता हो भने एउटा गरिबका लागि बिल गेट्स जस्तो बन्नु सफलता हो ।
जीवनमा सफलता पाउन सुरूमा आफ्नो जीवनको उद्देश्य पहिचान गर्नु जरूरी छ । मेरो उद्देश्य भनेको अरूलाई ‘इम्प्याक्ट’ अर्थात प्रभाव पार्नु हो । जति मैले प्रभाव पार्न सके त्यति मेरो लागि सफलता हो ।
सानै उमेरमा उद्देश्य पत्ता लगाउनु नै सफलता हो, जस्तो लाग्छ मलाई । अहिलेसम्मको सफलतामा मलाई कुनै फरक अनुभव हुँदैन् सामान्य जस्तै अनुभव हुन्छ । आफ्नो उद्देश्य थाहा पाउँदा त्यसमा काम गर्न मज्जा आउँछ ।
कतिपय आफ्नो उद्देश्य खोज्दै भौतारिरहेका हुन्छ । आफ्नो उद्देश्य कसरी पत्ता लगाउन सकिन्छ ?
के चीजले तपाईलाई खुसी दिन्छ, के चीजले तपाईलाई सन्तुष्टि दिन्छ, त्यो हो तपाईको उद्देश्य । एउटा भनाइ छ, ‘यदी तपाईलाई के गर्ने थाहा छैन् भने के गर्नु छैन् त्यो पत्ता लगाउनुहोस् ।’ त्यसकारण यदी तपाईलाई पनि के गर्ने थाहा छैन् भने विभिन्न चीजहरूमा प्रयास गर्नुहोस् ।
प्रयास गर्दै जाँदा तपाईलाई कुन चीजले खुसी दिन्छ त्यो नै तपाईको जीवनको उद्देश्य हो । ‘ट्रायल एण्ड एरर’ गरेरै जीवनको उद्देश्य थाहा पाउन सकिन्छ ।
६ कक्षामा पढ्दा तपाईले प्रोग्रामिङ पढ्न सुरू गर्नु भयो । पाइथन बारे किताब पनि लेख्नु भएको छ । प्राइथनको तालिम पनि दिनुहुन्छ । पाइथनप्रति तपाईको रूची कसरी बढ्यो ?
कक्षा ८-९ मा राज नाम गर्नुभएको एकजना कम्प्युटर शिक्षक हुनुहुन्थ्यो । उहाँले गुरू जसरी नै मेरो सबल पक्ष पहिचान गर्नुभयो । उहाँले मलाई तिमी हरेक दिन कम्प्युटर ल्याबमा गएर पाइथन सिक भन्नुभयो ।
सुरूमा मलाई त्यति इच्छा लागेन तर उहाँले एक हप्तासम्म भनिरहँदा के रहेछ त भनेर जान्न मन लाग्यो । कम्प्युटर ल्याबमा म्याक र डेस्कटप कम्प्युटर थियो । सरले मलाई सधैं म्याकमा राख्नुहुन्थ्यो । किनभने म्याकमा इन्टरनेट थियो र फास्ट पनि थियो । अरूलाई क्युबेसिक गर्न र मलाई गूगल गर्न भन्नुहुन्थ्यो ।
शिक्षकले विद्यार्थीलाई सिक्ने स्वतन्त्रता दिनुपर्छ । मेरो बुबा आमा पनि शिक्षक हुनुहुन्छ । नेपालमा पाठ्यक्रममा बसेर सिके राम्रो र पाठ्यक्रमभन्दा बाहिर गएर सिके नराम्रो भन्ने ठप्पा लगाइन्छ ।
एकेडेमिक एकेडेमिक भन्दा पनि विद्यार्थी सबल पक्षलाई पहिचान गर्न शिक्षा प्रणालीले सहयोग गर्नुपर्छ । शिक्षकले मलाई सिक्ने स्वतन्त्रता दिएसँगै पाइथन सम्बन्धि ज्ञान र रूची बढ्दै गयो । त्यसपछि मैले प्राइथनको किताब लेखे । त्यति बेला अमेजनको बेस्ट सेलिङ सूचीमा समेत पर्न सफल भएको थियो ।
तपाई नेपालको एकमात्र आईबीएम च्यापियन हुनुहुन्छ । आईबीएम च्याम्पियनको यात्रा कस्तो थियो ?
आईबीएमले थट लिडर, उद्यमी, वक्ताहरूलाई आईबीएम च्याम्पियन भनेर अवार्ड दिन्छ । सुरूमा आवेदन दिदा रिजेक्ट भए तर अर्को वर्ष जसरी पनि हुन्छु भनेर युट्युब भिडियो बनाउन थाले, विभिन्न विद्यालयमा गएर पाइथन सम्बन्धि वर्कशप गर्न थाले ।
यो सबै डकुमेन्टेसन गरेर आईबीएममा पठाए । त्यसपछि आईबीएम च्याम्पियन भए । आईबीएमले विभिन्न गिफ्टहरू पनि पठाएको थियो । नेपालमा अहिलेसम्म म बाहेक अरू आईबीएम च्याम्पियन भनेर सुनेको छैन् ।
सूचना प्रविधिको क्षेत्रमा कम्प्युटर प्रोग्रामिङबाट प्रवेश गर्नुभयो । तर केही वर्षपछि तपाई मार्केटिङमा जानुभयो । प्रोग्रामिङबाट मार्केटिङमा कसरी आकर्षित हुनु भयो ?
आफ्नो रूची अनुसार प्रोग्रामिङबाट म मार्केटिङमा सिफ्ट भए । उद्यमशीलताका पाइला अगाडि बढाउँदै गर्दा मार्केटिङमा रूची बढ्न थाल्यो । त्यसपछि प्रोग्रामिङको प्रतिको रूचीको कम हुँदै गयो ।
मैले पूर्ण रूपमा प्रोग्रामिङ भने छोडेको होइन् । म अझै पनि पाइथनको तालिम दिदै आएको छु । उद्यमीमा रिस्क लिने क्षमता बढी हुन्छ । मार्केटिङमा जाँदा मलाई डर लागेको थियो । तर पनि मेरो रूची मार्केटिङमा भएका कारण म मार्केटिङमा आए ।
रूची अनुसार नयाँ नयाँ कुरा सिक्दा तपाईको ज्ञानको दायरा बढ्छ । अरूको लहलहैमा भन्दा पनि आफ्नो रूची अनुसार अगाडि बढ्नु भयो भने तपाईलाई सफलता अवश्य मिल्नेछ ।
प्रोग्रामिङ ल्याङ्वेज भनेको के हो ? कसरी सिक्ने ?
कम्प्युटरमा सफ्टवेयर र हार्डवेयर गरेर दुई भाग हुन्छ । प्रोग्रामिङबाट सफ्टवेयर बनाउन सकिन्छ । हार्डवेयरलाई कसरी चल्ने भनेर सफ्वेयरले गाइड गर्छ । हामीले लेखेको कोड बाइनरी भाषामा परिवर्तन हुन्छ र कम्प्युटरले बुझ्छ । प्रोग्रामिङ ल्याङवेज फरक फरक छन् ।
विभिन्न कामका लागि विभिन्न प्रोग्रामिङ ल्याङवेज प्रयोग हुन्छन् । प्रोग्रामिङ सिक्न सुरूमा तपाईले एउटा ल्याङवेज छनोट गर्नुपर्ने हुन्छ ।
आफ्नो आवश्यकता अनुसार प्रोग्रामिङ ल्याङवेज छनोट गर्न सकिन्छ । प्रोग्रामिङ सिक्न निःशुल्क र सःशुल्क माध्यम छ । सुरूमा तपाई युट्युबबाट प्रोग्रामिङ सिक्नुहोस् ।
एउटै भिडियो धेरै पटक दोहोराएर हेर्नुहोस् । त्यसले दिमागमा न्युरोनहरू सिर्जना हुन्छन् । यदी पैसा खर्च गर्न सक्नुहुन्छ भने पेड कोर्ष पनि लिनुहोस् । सिकिसकेपछि प्रोजेक्टहरू गर्नुहोस् । अनि गिटहबमा गएर कोडहरूलाई डाइसेक्ट गर्नुहोस् । त्यसपछि जब, फ्रिल्यान्सिङ वा आफ्नै व्यवसाय पनि सुरू गर्न सक्नुहुनेछ ।
कुनै एउटा प्रोग्रामिङ ल्याङ्वेजमा कसरी मास्टर हुन सकिन्छ ?
मानिसलाई जो देख्यो, त्यही राम्रो लाग्छ । जुन प्राग्रामिङ ल्याङ्वेज थाहा पायो, त्यही सिक्न मन लाग्छ । यसलाई ‘साइनी सिन्ड्रम’ पनि भनिन्छ । यस्तो हुँदा सबैलाई छुन त सकिन्छ तर कुनैमा पनि राम्रो हुन सकिदैन् ।
उत्कृष्ट १० प्रोग्रामिङ ल्याङ्वेज गूगलमा खोज्नुस र त्यहाँबाट एउटा छनोट गर्नुहोस् । त्यसलाई नै समय दिनुहोस् । अरू प्रोग्रामिङमा धेरै ध्यान नदिनुहोस् । त्यसैमा मास्टर गर्नुहोस् ।
तपाईले नेपालमा टेक समाज र अमेरिकामा इम्प्याक्ट एस एलएलसी कम्पनी स्थापना गर्नुभएको छ । के के सेवा दिनुहुन्छ र कतिले रोजगारी पाएका छन् ?
टेक समाज सूचना प्रविधि कम्पनी हो । टेक समाजले वेबसाइट डेभलपमेन्ट, सफ्वेयर डेभलपमेन्ट, एप डेभलपमेन्ट लगायतका आईटी सेवा प्रदान गर्दै आएका छौं ।
हामी धेरै आउटसोर्सिङमा केन्द्रित छौं । इम्प्याक्ट एसले मार्केटिङ सम्बन्धि सेवा र तालिम प्रदान गर्दै आएको छ ।
अहिले टेक समाजमा हामीले १० जनालाई रोजगारी दिएका छौं । कोरोना महामारी अघि यो संख्या ३५ जना थियो । इम्प्याक्ट एसका लागि चाहिने कर्मचारी आवश्यता परेको बेला मात्रै लिन्छौं ।
नेपालमा सूचना प्रविधिको भविष्य कस्तो छ ?
अमेरिका, यूरोपमा जे आयो, त्यो नेपालमा आउन १० देखि २० वर्ष लाग्छ । नेपाल प्रविधिमा अरू भन्दा केही पछाडि छ । इन्टरनेटले त्यसलाई कम गरेको छ । स्रोत अझै पनि कमी छ ।
स्रोत साधनको कमीलाई युवाहरूले पूरा गर्न सक्छौं । नेपालमा सूचना प्रविधिको भविष्य राम्रो छ । त्यसका लागि हामीले नयाँ नयाँ स्किल सिक्नुपर्छ । यसको बारे सबैलाई जानकारी गराउनु पर्छ ।
अन्त्यमा युवाहरूलाई के भन्न चाहनुहुन्छ ?
युवा भनेको उमेरले होइन्, माइन्डसेटले हुन्छ । युवाहरूले जीवनको उद्देश्य पहिचान गर्नुहोस् । समाजले के भन्छ, त्यसको पछाडि नलाग्नुहोस् । आफ्नो खुसी र सन्तुष्टिमा दौडिनुहोस् । कुनै पनि कामको नतिजामा होइन्, प्रक्रियामा रमाउनुहोस् ।
यो पनि पढ्नुहोस्ः नेपालकै पहिलो आईबीएम च्याम्पियन १७ वर्षिय नेपाली युवा, जसले दिएका छन् ३५ जनालाई रोजगारी