कीवर्डहरू -

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सम्पन्न, छनोट भएका १० जना शिक्षकलाई थाइल्याण्ड गएर थप सिक्ने अवसर

केमेष्ट्री शिक्षकका लागि आयोजना भएको २ दिने वर्कशप सम्पन्न, छनोट भएका १० जना शिक्षकलाई थाइल्याण्ड गएर थप सिक्ने अवसर

नेपाल पोलिमर ईन्स्टिच्युटले आयोजना गरेको ‘स्माल स्केल केमिस्ट्री वर्कशप फर केमिस्ट्री टिचर्स इन नेपाल’ विषयक वर्कशप सम्पन्न भएको छ । गत बुधबार र बिहिबार चलेको वर्कशप नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) मा सुरू भएको थियो ।

पोलिमर इन्स्टिच्युटले वर्कशपका लागि इन्टरनेसनल इन्स्टिच्युट अफ प्योर एण्ड अप्लाइड केमेन्ट्री (आईयुपीएसी), बैंकक बैंक, केमिकल सोसाइटी अफ थाइल्याण्ड, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) र साइन्स टिचर एशोसिएसन नेपालसँगको सहकार्य गरेको थियो ।

माध्यमिक तहमा केमेस्ट्री अर्थात रसायणशास्त्र पढाउने शिक्षकहरूलाई वर्कशप सञ्चालन गरिएको थियो ।
यस वर्कशपका लागि देशभरका करिब १०० जना शिक्षक छनोट भएर काठमाडौं आएका थिए । काठमाडौंमा उनीहरूको खाने र बस्ने व्यवस्था नेपाल पोलिमर इन्स्टिच्युटलेनै गरेको थियो ।

छनोट भएका सरकारी विद्यालयका १०० शिक्षकलाई केमस्ट्रीका ९ वटा एक्सपेरिमेन्ट गराइएको थियो । वर्कशपको पहिलो दिन ३ वटा र दोस्रो दिन ६ वटा एक्सपेरिमेन्ट गराइएको थियो  ।

वर्कशपका लागि १३ जना प्रशिक्षक नेपाल आइपुगेका थिए । थाइल्याण्डबाट ११ जना, भारतबाट १ जना र मलेसियाबाट १ जना नेपाल आएका हुन् ।

उक्त सामग्रीको प्रयोग गरेर सहभागी शिक्षकले परीक्षण गरेका थिए । त्यहाँबाट सिकेको कुरा शिक्षकले आफ्नो विद्यालयमा विद्यार्थीहरूलाई समेत सिकाउने छन् । वर्कशपमा सहभागीलाई एक्सपेरिमेन्टका लागि किट पनि उपलब्ध गराइएको थिए, जुन विद्यालयमा लिएर राख्नुपर्नेछ ।

छनोट भएका शिक्षकले वर्कशप सुरू हुन अगाडि र वर्कशप सकिएपछि टेस्ट दिएका थिए, जसको आधारमा उत्कृष्ट १० शिक्षकको छनोट गरिने छ ।

छनोट भएका १० जना शिक्षकले थाइल्याण्ड गएर थप सिक्ने अवसर पाउने छन् । थाइल्याण्डबाट सिकेर आएका विद्यार्थीले फेरि नेपाल आएर अरू शिक्षकहरूलाई सिकाउनु पर्ने हुन्छ ।