के तपाईंलाई थाहा छ ? बालबालिका र किशोरी सबैभन्दा बढी यौन हिंसाको शिकार भइरहेका छन् । वयस्कले विभिन्न प्रलोभनमा पारी यौन सन्तुष्टिको माध्यम उनीहरुलाई बनाउने गरेका छन् । बालबालिकालाई आफ्नो यौन क्रियाकलाप गरिएका चित्र देखाउने, हेर्ने, उकास्ने र यौन व्यवसायमा लाग्न प्रोत्साहन गर्ने प्रवृत्ति बढिरहेको छ । ‘यस्ता क्रियाकलापले शारीरिक र मानिसक रुपमा सबल नबन्दै बालबालिका डिप्रेशन हुने, पढाइ बिगार्ने र सामाजिक जीवनबाट टाढा रहन पुगेका छन् । हरेक दिनजसो बालबालिका र किशोर समूह यस्ता घटना लिएर आउँछन्,’ महानगरीय प्रहरी अपराध महाशाखाका साइबर सेल इन्चार्ज लिलाराज डाँगीले बताए ।
इन्टरनेटमा घण्टौं बिताइरहने बच्चाहरु नजानिँदो हिसाबले यौन शोषणमा परेका छन् । बालयौन दुराचारीले पोर्नोग्राफीका लागि बच्चाको यौन शोषण गरिरहेका छन् । कतिपय यौनपिपासुले किशोरीहरुलाई सामाजिक सञ्जाल, फोन, एसएमएस आदिबाट नजीक बनाउने, सहमतिमै यौनसम्पर्क राख्ने र गोप्य गतिविधिको फोटो रेकर्ड गरी धम्क्याउने, बाग्रेनिङ गर्ने गरेका छन् । यस्तो प्रवृत्तिले किशोरीहरुले आत्महत्यासम्मको बाटो समेत रोजेका छन् । १८ वर्ष भन्दा कम उमेरका बालबालिकालाई आर्थिक लेनदेन तथा अन्य कुनै किसिमबाट फाइदा लिने उद्देश्यले यौनजन्य कार्यमा संलग्न गराउन पाइँदैन । अनलाइनकै प्रलोभनका कारण अहिले व्यावसायिक बालयौन शोषणका विभिन्न स्वरुप देखापरेका छन् । बालवेश्यावृत्ति, बालबालिकाको बेचबिखन, बाल अश्लील चित्रण, फुटफाटमा हुने यौन व्यवसाय, बाल तथा जबरजस्ती विवाह आदि फैलिँदै छन् ।
ससाना बालबालिकालाई अभिभावकले मोबाइल र ट्याब उपहार दिँदा पनि कतिपय स्थानमा बालबालिका अश्लील भिडियो हेर्न पुगेका छन् । बालबालिकालाई इन्टरनेटमा के गर्दा हुने, के गर्दा नहुने केही थाहा नै छैन
‘बालबालिकाले अनलाइनमार्फत अपरिचित व्यक्तिबाट अश्लील फोटो/भिडियो आउने, नग्न तस्विर माग्ने, अनावश्यक भेट्न बोलाउने, धम्की दिनेजस्ता दुव्र्यवहार खेप्ने गरेका छन्,’ चाइल्ड सेफ नेटका अध्यक्ष अनिल रघुवंशीले भने । जथाभावी इन्टरनेट चलाएको भन्दै अभिभावकले गाली गर्ने डरका कारण उनीहरु यौन दुव्र्यवहारबारे खुलेर भन्दैनन् ।
अश्लील सामग्रीमा नजर
सूचना प्रविधिको बढ्दो प्रयोग र इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाले अश्लील सामग्रीमा नजर दौडाइरहेका छन् । उमेर नपुग्दै सामाजिक सञ्जाल प्रयोग गर्ने, गुगलमा सर्च गरेर पोर्न सामाग्रीहरु हेर्ने, सामाजिक सञ्जालमार्फत पोर्न भिडियो र फोटोको लिंक शेयर गर्ने क्रम रोकिएको छैन । ‘ससाना बालबालिकालाई अभिभावकले मोबाइल र ट्याब उपहार दिँदा पनि कतिपय स्थानमा बालबालिका अश्लील भिडियो हेर्न पुगेका छन् । बालबालिकालाई इन्टरनेटमा के गर्दा हुने, के गर्दा नहुने केही थाहा नै छैन,’ रघुवंशीले भने, ‘त्यसका लागि अभिभावक र शिक्षकले उनीहरुलाई परामर्श दिनु आवश्यक छ ।’
कलिला दिमागमा असर
सानै उमेरमा यौनजन्य, नकारात्मक तस्विर र भिडियो हेर्न पुगे कलिलो मानसिकतामा असर गर्नेदेखि विविध आपराधिक गतिविधिमा संलग्न हुनेसम्मका गम्भीर घटना निम्त्याउने सरकोकारवाला बताउँछन् । यस्तो भयावह अवस्था आउनुपहिले नै अभिभावक र सबै जिम्मेवार पक्ष चनाखो हुन जरुरी छ । इलेक्ट्रोनिक ग्याजेट र इन्टरनेट उपलब्ध सामग्रीको अधिकतम प्रयोगले धेरै समस्या ल्याइरहेका छन् । यस प्रकारको खेलले निद्रा मात्र बिगार्दैन, रक्तचापदेखि मधुमेह जस्ता रोग पनि निम्त्याउँछ ।
पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउन सक्छ । यस्ता खेलमा देखाइने हतियारका कारण बालबालिकाको दिमागमा हिंसात्मक विचार उत्पन्न हुन सक्ने र यसले उनीहरुमा नैराश्य पैदा गराउन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।
अपराधको ग्राफ उकालो
आर्थिक वर्ष २०७३/७४ मा १ हजार १९७ र आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४८२ उजुरी साइबर अपराधसम्बन्धी आएकोमा चालू आर्थिक वर्षमा माघ महिनासम्ममा एक हजार १८ उजुरी परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । ‘साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अप्ठ्यारो हुने गरेको छ । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्दै आएको छ,’ उनले भने । महाशाखाका अनुसार १५ देखि २५ वर्षसम्मका सबैभन्दा बढी अपराधमा लागेका छन् । धेरै किशोरहरुलाई आफूले इन्टरनेटमा गरिरहेको काम अपराध हो र यस्तो गरे कस्तो सजाय पाइन्छ भन्नेसम्म थाहा छैन । जानीनजानी यस्ता अपराध गर्दा घरबारविहीन हुने, पढाइ बिग्रने, डिप्रेशनमा आउने, आत्महत्या गर्ने जस्ता घटना बढेका छन् ।
बालबालिकालाई इन्टरनेटबाट हुने खतराबाट जोगाउने तथा चेतना जगाउने काम भएको पाइए तापनि पर्याप्त छैन । बालअधिकार सम्बन्धी काम गर्ने केही सरकारी र गैरसरकारी निकायको उपस्थिति कम देखिन्छ । अब भने यससम्बन्धी गम्भीर हुनुपर्ने बेला आएको छ ।