विज्ञान, कृत्रिम वौद्धिकता तथा प्राकृतिक भाषा प्रशोधनको क्षेत्रलाई ओगट्ने गरी कम्प्युटेसनल लिंगुइस्टिकको प्रतियोगीता गराउँदै आएको हिमायुटेसनल लिंगुइस्टिक ओलम्पियाड नेपाल प्रतियोगिताको तेस्रो संस्करण हिमालयन कम्प्युटेसनल लिंगुइस्टिक ओलम्पियाड २०१९ सम्पन्न गरेको छ।
प्रतियोगिता कक्षा ८ देखि १० सम्मका विद्यार्थीका साथै प्लस टुका विद्यार्थी लक्षित थियो। प्रतियोगिताको मुख्य उद्देश्य नेपाली समुदायमा इन्टरनेसनल लिंगुइस्टिक ओलम्पियाड सम्बन्धी जनचेतना जगाउनु तथा विभिन्न देशले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा गरेका तयारीहरूबारे जानकारी गराउनु रहेको काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा। वालकृष्ण बलले बताए।
‘यसले कम्प्युटर विज्ञान र प्राकृतिक भाषा प्रशोधनमा रूचि राख्ने व्यक्तिहरूलाई जोड्ने माध्यमका रूपमा काम गर्नेछ,’ उनले बताए, ‘ओलम्पियाडमा विश्वका विभिन्न देशले सहभागिता जनाउँदै आएका छन्।’ इन्टरनेसनल लिंगुइस्टिक ओलम्पियाडको सत्रौं संस्करण यही जुलाई २९ देखि कोरियामा हुँदैछ।
‘नेपालले अहिलेसम्म सहभागिता जनाउन नसकेको यस ओलम्पियाडमा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गराउन आधार उपलब्ध गराउने उद्देश्यले भाषा र भाषा प्रविधिले कुनै पनि समाजलाई अग्रगामी विकास र समृद्धिको बाटोमा डो(याउन ठूलो क्षमता बोक्छ,’ त्रिभुवन विश्वविद्यालय केन्द्रिय भाषा विभागका प्राध्यापक डाक्टर बलराम प्रसाईले बताए।
प्रतियोगितामा काठमाण्डौंउपत्यका तथा बाहिर जिल्लाका गरी ५ विद्यालयको प्रतिनिधित्व थियो। यस प्रतियोगितामा विजयी हुने टोलीहरूले कोरियामा हुने अन्तर्राष्ट्रिय ओलम्पियाडमा सहभागिताको लागि आवेदन दिनसक्ने र उक्त प्रक्रियामा एचएलओएनले सहजकर्ताको भूमिका खेल्ने जनाइएको छ।