नेपालको पहिलो भूउपग्रह नेपाल स्याट १ अन्तरिक्षमा प्रक्षेपण गरिएको छ । अमेरिकी अन्तरिक्ष कम्पनी अर्बिटल–ए टिकेमार्फत यो स्याटेलाइट प्रक्षेपण भएकाे हाे ।
यो सँगै अरु विभिन्न ३४ सय किलोग्राम रिसर्च, क्रु सप्लाइ र हार्डवेयरहरु बोकेर अन्तरिक्षमा रहेको अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) तर्फ लाँदैछ। शुक्रबार दिउँसो साढे तीन बजेतिर यो आइएसएसमा पुग्ने बताइएकाे छ ।
जापानको ‘बर्ड–३’ परियोजनाअन्तर्गत अमेरिकाबाट बिहीबार बिहान २ः३१ बजे ‘नेपाली क्यूबसेट स्याट–१’ नामको भूउपग्रह प्रक्षेपण गरिएको हो ।
जापानको क्युसु विश्वविद्यालयले क्युसु इन्स्टिच्यूट अफ टेक्नोलोजी क्यूटेकबाट स्पेस टेक्नोलोजीमा इञ्जिनियरिङ गरिरहेका आभाष मास्के र इलेक्ट्रिकल इञ्जिनियरिङमा स्नातकोत्तर गरिरहेका हरिराम श्रेष्ठको पहलमा उक्त भूउपग्रह प्रक्षेपण गरिएको हो । उक्त भूउपग्रहमा नेपालको झण्डाका साथै नाष्टको प्रतीकचिह्न अंकित छ ।
नेपाली युवाले बनाएको भूउपग्रह नेपालको आकाशमा दैनिक ५ देखि १० मिनेटसम्म रहने बताइएको छ । यसले देशका विभिन्न स्थानका तस्बिर संकलन तथा अभिलेखीकरण गर्नुका साथै यहाँको हिमाल, पहाड, तराई वन, पाखा, हिमनदीका बारेमा सूचना र जानकारी प्रवाह गर्नेछ ।
के हो नेपाली स्याट–१
नेपालले अन्तरिक्षमा प्रक्षेपण गरेकाे यो स्याटेलाइट पृथ्वीलाई घुम्ने स्याटेलाइट हो । ‘आकारका हिसाबले विभिन्न प्रकारमा स्याटेलाइटलाई विभाजन गर्न सकिन्छ । यो चाहिँ नानो स्याटेलाइट हो, जुन करिब १० सेन्टिमिटर लामो, १० सेन्टिमिटर चौडा र १० सेन्टिमिटर अग्लो छ,’ नास्टअन्तर्गतको प्रविधि संकायका प्रमुख रविन्द्र ढकालले भने ।
यो भू–उपग्रह मानिसको हातमा अटाउँछ । लगभग एक किलो तीन सय ३० ग्राम तौल छ । याे भू-उपग्रह पृथ्वीको सतहभन्दा करिब चार सय किलोमिटरमाथि अन्तरिक्षमा रहनेछ ।
प्रत्येक ९० मिनेटमा पृथ्वीका एक चक्कर चलाउने उक्त भू–उपग्रहले दैनिक १६ पटक पृथ्वीको परिक्रमा गर्नेछ । त्यसमध्ये दैनिक चार पटक नेपालको आकाशमा आइपुग्नेछ । भू–उपग्रहले नेपालको आकाशमा दैनिक पाँचदेखि १० मिनेटसम्म तस्वीर अभिलेखीकरण गर्नेछ ।
दिनमा १६ पटक पृथ्वीमा चक्कर लगाउँदा यो चारपटक नेपालको आकाशमा आउनेछ । सजिलै हातमा बोक्न सकिने स्याटेलाइटमा नेपालको झण्डा छ भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको लोगोसहित विद्यार्थीहरुको नाम पनि छ ।
यसमा सरकारले एक करोड ८२ लाख रुपैयाँ खर्चेको छ ।
काम कसरी गर्नेछ ?
सफल प्रक्षेपण भयो भने यसले अन्तरिक्षबाट तस्वीरसहितका डाटाहरु पठाउन थाल्नेछ । यसले मौसमी सूचनाहरु पनि दिन सक्छ । ‘यो स्याटेलाइट अन्तरिक्षमा पुगेपछि हामी पनि अध्ययन अनुसन्धान थाल्न सक्छौं,’ ढकालले भने, ‘स्पेश इन्जिनियरिङको अध्ययन गर्ने विद्यार्थीलाई पनि यसले निकै सहयोग पुग्नेछ । उनीहरूलाई नेपालमै बसेर स्पेशबारे जानकारी लिने अवसर मिल्नेछ ।’
प्राप्त हुने तस्वीर र सूचनालाई नास्टले आफ्नै कार्यालयको ‘ग्राउन्ड स्टेशन’मा भण्डारण गर्नेछ । ग्राउन्ड स्टेशन निर्माणका लागि करिब ३० लाख रुपैयाँ खर्च लाग्नेछ ।
नानो स्याटेलाइट’बाट नेपालले तत्काल केही तस्बिर र जानकारी मात्रै लिनेछ । पृथ्वीकै अक्षमा राखिने यो स्याटेलाइटबाट नेपालले आफ्नो भूगोल, मौसम, इन्टरनेट एक्सिस र अरु स्याटेलाइटका जानकारी पनि प्रदान गर्नेछ ।
नेपाललाई के फाइदा छ ?
वैशाखदेखि प्रक्षेपण हुने उक्त भू–उपग्रहले देशका विभिन्न स्थानको तस्वीर संकलन तथा यहाँका हिमाल, पहाड, तराई, वन, पाखा हिमनदी, सडक र बाढीका बारेमा सूचना प्रवाह गर्नेछ । यो एजुकेशन रिसर्च प्रोजेक्ट भएको ढकाल बताउँछन् ।
प्रक्षेपणपछि नेपालको आफ्नै भू–उपग्रह नहुँदा अन्य मुलुकसँग ठूलो रकम खर्चेर सूचना तथा जानकारी लिनुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य हुनेछ । भविष्यमा नेपालले ठूला क्षमताका आफ्नै भूउपग्रह पठाउने गरी बनाएका योजनामा पनि यसले सहयोग पुग्नेछ ।
यो भूउपग्रको प्रक्षेपणपछि नेपाली इन्जिनियरहरुको क्षमता पनि विकास हुने र त्यसले राष्ट्रलाई नै लाभ दिने नास्टको भनाइ छ ।