कीवर्डहरू -

इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी

इन्टरनेटले बालयौन दुर्व्यवहार बढायो : प्रहरी

महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले पछिल्लो समयमा सामाजिक सञ्जाल इन्टरनेट मार्फत बालयौन दुर्व्यवहारका घटना बढ्दै गएको बताएका छन् । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायीक प्रहरी सेवा तथा सामुदायीक सेवा केन्द्र वडा नं १० र ३१ काठमाडौंको सहकार्यमा साथसाथ नामक गैरसरकारी संस्थाद्वारा बुधबार नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा काफ्लेले सो कुरा बताएका हुन् ।

अभिभावकले आफ्ना छोराछोरीलाई सजिलैसंग मोवाइल उपलव्ध गराएकोले त्यसको सदुपयोग भन्दापनि दुरुपयोग बढेको प्रति गुनासो गर्दै आफ्ना छोराछोरीले मोवाइलमा के खेल्छन, कस्तो साइटहरु हेर्छन र कोसँग च्याट गर्छन, त्यसबारे अभिभावकले बेलाबेलामा छड्के जाँच गर्नुपर्ने कुरामा पनि डिएसपि काफ्लेले जोड दिए । थाहा पाउँदा पाउँदै या अन्जानमै बलबलिकाहरु मोबाइल र सामाजिक सञ्जालको कुलतमा फस्दै गएको पनि उनले गुनासो गरे ।

अश्लील सामग्रीमा नजर
सूचना प्रविधिको बढ्दो प्रयोग र इन्टरनेटको सहज पहुँचका कारण बालबालिकाले अश्लील सामग्रीमा नजर दौडाइरहेका छन् । उमेर नपुग्दै सामाजिक सञ्जाल प्रयोग गर्ने, गुगलमा सर्च गरेर पोर्न सामाग्रीहरु हेर्ने, सामाजिक सञ्जालमार्फत पोर्न भिडियो र फोटोको लिंक शेयर गर्ने क्रम रोकिएको छैन । ‘ससाना बालबालिकालाई अभिभावकले मोबाइल र ट्याब उपहार दिँदा पनि कतिपय स्थानमा बालबालिका अश्लील भिडियो हेर्न पुगेका छन् । बालबालिकालाई इन्टरनेटमा के गर्दा हुने, के गर्दा नहुने केही थाहा नै छैन,’ रघुवंशीले भने, ‘त्यसका लागि अभिभावक र शिक्षकले उनीहरुलाई परामर्श दिनु आवश्यक छ ।’

कलिला दिमागमा असर
सानै उमेरमा यौनजन्य, नकारात्मक तस्विर र भिडियो हेर्न पुगे कलिलो मानसिकतामा असर गर्नेदेखि विविध आपराधिक गतिविधिमा संलग्न हुनेसम्मका गम्भीर घटना निम्त्याउने सरकोकारवाला बताउँछन् । यस्तो भयावह अवस्था आउनुपहिले नै अभिभावक र सबै जिम्मेवार पक्ष चनाखो हुन जरुरी छ । इलेक्ट्रोनिक ग्याजेट र इन्टरनेट उपलब्ध सामग्रीको अधिकतम प्रयोगले धेरै समस्या ल्याइरहेका छन् । यस प्रकारको खेलले निद्रा मात्र बिगार्दैन, रक्तचापदेखि मधुमेह जस्ता रोग पनि निम्त्याउँछ । पर्याप्त निद्रा नपुग्दा एकाग्रतामा कमी आउने र सम्झने शक्तिमा पनि ह्रास आउन सक्छ । यस्ता खेलमा देखाइने हतियारका कारण बालबालिकाको दिमागमा हिंसात्मक विचार उत्पन्न हुन सक्ने र यसले उनीहरुमा नैराश्य पैदा गराउन सक्ने सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

अपराधको ग्राफ उकालो
आर्थिक वर्ष २०७३/७४ मा १ हजार १९७ र आर्थिक वर्ष २०७४/७५ मा १ हजार ४८२ उजुरी साइबर अपराधसम्बन्धी आएकोमा चालू आर्थिक वर्षमा माघ महिनासम्ममा एक हजार १८ उजुरी परेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । ‘साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा अप्ठ्यारो हुने गरेको छ । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐनअन्तर्गत कारबाही गर्दै आएको छ,’ उनले भने । महाशाखाका अनुसार १५ देखि २५ वर्षसम्मका सबैभन्दा बढी अपराधमा लागेका छन् । धेरै किशोरहरुलाई आफूले इन्टरनेटमा गरिरहेको काम अपराध हो र यस्तो गरे कस्तो सजाय पाइन्छ भन्नेसम्म थाहा छैन । जानीनजानी यस्ता अपराध गर्दा घरबारविहीन हुने, पढाइ बिग्रने, डिप्रेशनमा आउने, आत्महत्या गर्ने जस्ता घटना बढेका छन् । बालबालिकालाई इन्टरनेटबाट हुने खतराबाट जोगाउने तथा चेतना जगाउने काम भएको पाइए तापनि पर्याप्त छैन । बालअधिकार सम्बन्धी काम गर्ने केही सरकारी र गैरसरकारी निकायको उपस्थिति कम देखिन्छ । अब भने यससम्बन्धी गम्भीर हुनुपर्ने बेला आएको छ ।