नेपालमा पहिलो पटक सफ्टवेयर सम्बन्धि जानकारी दिने उद्धेश्यले सफ्टवेयर मिन अप आयोजना भएको छ । नेपालमा दिन प्रतिदिन सूचना प्रविधिको क्षेत्रमा नयाँ प्रयोग र विकास भईरहेको सन्दर्भ पारेर पहिलो पटक सफ्टवयेयर मिट अप आयोजना गरिएको हो । नेपालको सूचना प्रविधि तथा सफ्टवेयर उद्योगमा देखिएका विभिन्न समस्या , चुनौती र अवसरका विषयमा बृहतरुपमा चर्चा परिचर्चा गर्ने उद्धेश्य अनुसार आइसिटी फ्रेम र डिआईटी सोलुशनले संयुक्त रुपमा सफ्टवेयर मिट अप गरेका हुन् ।
यही वैशाख १३ गते आयोजना गरिएको सफ्टवेयर मिटअपमा सूचना प्रविधिको क्षेत्रमा कार्यरत संस्था तथा व्यक्तिहरुलाई एउटै थलोमा राखेर विभिन्न विषयहरुमा छलफल गरिएको थियो । यो कार्यक्रम नेपाली सफ्टवेयर उद्योगको विविध आयामहरुको बारेमा केन्द्रि रहेको थियो । कार्यक्रममा बोल्दै सुरेन्द्र न्यौपानेले नेपालमा सफ्टवेयर विकासमा अझै चुनौती रहेको र स्थानीय सफ्टवेयरलाई अझै बजारको समस्या रहेको बताए ।
‘ नेपालमा अझैपनि विदेशी र विशेषगरि भारतीय सफ्टवेयरहरुको बर्चश्व रहँदै आएको छ र स्थानिय सफ्टवेयर उच्चस्तरको भएप नि सेवाग्राहीले प्रयोग गर्न चाहँदैनन् , ’ उनले भने । न्यौपानेले नेपालमा अधिकांश विदेशी कम्पनीका सफ्टवेयरहरु प्रयोगमा रहेको भन्दै स्थानीय सफ्टवेयरको विकास गर्न विदेशी सफ्टवेयरको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने स्पष्ट पारे । त्यसैगरि कार्यक्रमकी अर्की वक्ता श्रीसा महर्जनले नेपाल कविताहरुलाई अन्तराष्ट्रिय माध्यममा लैजान सूचना प्रविधिको सहयोग उपयुक्त विधि रहेको जानकारी दिईन् । उनले नेपाली कविता र कविहरुलाई उनीहरुको श्रृजनालाई अनलाइन प्लेटफर्म मार्फत सिधै विश्व बजारमा चिनाउन प्रयास गरिरहेको बताईन् ।
अर्का सूचना प्रविधि उद्योग संचालन गरिरहेका युवा उद्यमी सुदीप घिमिरेले काठमाडौं बाहिर सूचना प्रविधिको उद्योग तथा कम्पनी संचालनमा निकै कठिनाई र अवरोधहरु रहेको आफ्ने अनुभव सुनाए । उनले मोफसलमा उद्योग खोल्दा सूचना प्रविधि क्षेत्रको लागि आवश्यक जनशक्तिको अभाव भएको भन्दै यो क्षेत्रका विज्ञहरु पनि काठमाडौं बाहिर जान नचाहेको दाबी गरे ।
विधाना अनलाइन प्लेटफर्मकी सेल्स हेड सरिता श्रेष्ठले अनलाइन मार्फत औषधी उपलब्ध गराउने स्टार्टअप कम्पनीको बारेमा जानकारी दिईन् । उनले अनलाइन सेवाको बिस्तारको संभावना निकै रहेको भन्दै आफ्नो कम्पनीले ग्राहकको मागअनुसार विधाना अनलाइन मार्फत घरमा नै औषधि पुर्याउने सेवा शुरु गर्न लागेको बताईन् । प्रभु पे डिजिटल वालेटको प्रायोजनमा सम्पन्न भएको सो सफ्टवेयर मिटअपले नेपाली सफ्टवेयर कम्पनी तथा उद्योगहरुलाई एकै थलोमा ल्याउने प्रयास गरेको छ भने सूचना प्रविधि नीति निर्माताहरुलाई पनि पछिल्लो विकास र बिस्तारको बारेमा नीति बनाउन सहयोग गर्ने अपेक्षा आयोजकले गरेको छ । यस कार्यक्रम आईसीटी फ्रेम म्यागेजीनकी प्रधान सम्पादक श्रीमती मिना अर्याल ज्यूको अध्यक्षतामा सम्पन्न भएको थियो ।