काठमाण्डौ महानगरपालिकाले केएमसी एप सार्वजनिक गरेको छ । सेवाप्रवाहलाई होम डेलिभरी गर्ने नीति अनुरुप सेवाप्रवाह सुधारका लागि महानगरले एकीकृत डिजिटल शुसासन प्रणाली केएमसी एप सार्वजनिक गरेको हो ।
एपमार्फत महानगरका सेवाग्राहीहरूले अनलाइन मार्फत जुनसुकै ठाउँबाट महानगरको सेवा लिन सकिने व्यवस्था गरेको काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले बताए । सिफारिस लिनेदेखि महानगरको भुक्तानीसम्म एपबाटै गर्न सकिने छ ।
एपबाट नागरिकता सम्बन्धी सिफारिस, घरवाटो सिफारिस, कित्ताकाट सिफारिस, जग्गा मुल्यांकन सिफारिस, घरधनी प्रमाणपुर्जाको प्रतिलिपि, घर कायम सिफारिस, सम्पत्ति कर चुक्ता सिफारिस,अस्थायी बसोबास सिफारिस, स्थायी बसोबास सिफारिस, विद्युत जडान सिफारिस, धारा जडान सिफारिस, आन्तरिक बसाइसराइ सिफारिस, कोठा खालि गर्ने सिफारिस, जन्म मिति प्रमाणित, अविवाहित प्रमाणित, नामथर फरक सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, अदालत शुल्क मिनाहा सिफारिस, बैंक खाता बन्द गर्ने सिफारिस, व्यवसाय बन्द सिफारिस, संस्था दर्ता सिफारिस, छात्रवृत्ति सिफारिस, अपांगता सिफारिस, विद्यालय कक्षा वृद्धि सिफारिस,बिपन्न नागरिक औषधी उपचार सिफारिस, ब्यवसाय स्थानान्तरण सिफारिस लगायका ३१ वटा सिफारिसहरू लिन सकिने छ ।
अन्य केही कार्यालयमै उपस्थित भएर गर्नुपर्ने सिफारिसहरूका लागि भने सेवाग्राही कार्यालयमै उपस्थित हुनुपर्नेछ । यस एपमा अनलाइनबाटै सम्पत्ति कर, भूमी तथा मालपोत कर, व्यवसाय कर जस्ता विभिन्न करहरू तिर्न सकिने छ । अनलाइन भुक्तानीका लागि इसेवा, खल्ती आएमई पे, प्रभु पे जस्ता पेमेन्ट गेटवे इन्टिग्रेट गरिएको छ ।
साथै महानगरपालिकाले विभिन्न कामहरू तथा ठेक्का बापतको भुक्तानीका लागि समेत EFT(Electronic Fund Transfer ) सेवा सुरू गरेको छ । योसंगै महानगरमा कर तथा रकम तिर्न र भुक्तानी लिन कार्यालय आउनु पर्ने छैन् । यसबाट सेवाग्राहीहरूले पैसासँग जोडिएका हरेक कारोवार घरबाटै गर्न सकिने व्यवस्था गरिएको छ ।
यसले महानगरको सेवा प्रवाह तथा आर्थिक कारोवारलाई थप पारदर्शी बनाई सेवाग्राहीमैत्री महानगर बनाउन टेवा पुर्याउने शाहको भनाइ छ । एन्ड्रोइडमा महानगरको एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।
के के छन् एपमा सुविधा ?
✓ ३० भन्दा बढी प्रकारका सिफारिसहरू,
✓ अनलाइन राजस्व,
✓ नगर प्रमुखसंग भेटघाटका लागि अपोइन्टमेन्ट,
✓ च्याटबोट,
✓ महानगरको बारेमा बिभिन्न सूचना तथा समाचारहरू,
✓ बिभागगत कार्यबिबरण सहितको डिजिटल नागरिक वडापत्र,
✓ हेल्लो मेयर,
✓ जनगुनासो,
✓ स्मार्टकर,
✓ प्रकाशित राजपत्रहरू,
✓ पर्यटकीय स्थलहरू,
✓ आकस्मिक सेवाहरु जस्तै रगत, एम्बुलेन्स, दमकल तथा प्राकृतिक प्रकोप
✓ सार्वजनिक शौचालयको जानकारी