कीवर्डहरू -

सुबिसु कन्क्लेभमा इमर्जिङ टक्नोलोजी र ट्रेन्डबारे गम्भीर छलफल हुनेछ : अधिकारी

सुबिसु कन्क्लेभमा इमर्जिङ टक्नोलोजी र ट्रेन्डबारे गम्भीर छलफल हुनेछ : अधिकारी

सुबिसु केबल नेटको आयोजनामा काठमाडौंमा दोस्रो संस्करणको ‘सुबिसु कन्क्लेभ २०१९’ हुने भएको छ । आगमी जेठ १ गते बुधबार काठमाडौंको नक्सालस्थित होटल मेरियटमा सो कन्क्लेभ हुने छ । यसैबीच सुबिसु केबल नेटका भाइस प्रेसिडेन्ट (इन्जिनियरिङ) बालकृष्ण अधिकारी सँग लिभिङ विथ आइसिटीले गरेकाे कुराकानी प्रस्तुत गरेका छाैं :

सुबिसु कन्क्लेभ २०१९ गर्नुको मुख्य उद्धेश्य के हो ?
नेपालले पनि विस्तारै आइटी उद्योगमा फड्को मार्दै छ । नवीनतम प्रविधि भित्रिरहेका छन् । यस्ता प्रविधिको माग र प्रयोगमा गुणात्मक वृद्धि आइरहेको छ । कस्ता नयाँ सूचना प्रविधि आइरहेका छन्, कसरी प्रयोग गर्ने, यसका सुरक्षा प्रणाली कस्ता छन्, कसरी सुरक्षित रुपले आफ्नो ब्यापार व्यवसाय र दैनिकीमा प्रयोग गर्ने लगायतका सवाल हाम्रासामु छन् । हामी सेवा प्रदायक भएका नाताले हाम्रा विशेषगरी इन्टरप्राइज कस्टुमरहरुलाई यसबारे जानकारी हुनुपर्छ । उहाँहरुलाई मात्रै होइन जोकोहीलाई यसबारे जानकारी लिन अनिवार्य भइसकेको छ । हामीले उपभोक्तालाई मात्रै जानकार गराउने हेतुले कार्यक्रम गरेका छैनौं ।

कार्यक्रममा टाटा, नोकिया, टाइको, राडवेयर, भर्टिभजस्ता प्रसिद्ध आइटी कम्पनीका विज्ञहरु रिसोर्स पर्सनको रुपमा आउँदै हुनुहुन्छ ।

सरकारी तथा गैरसरकारी तवरबाट सूचना प्रविधि क्षेत्रमा विभिन्न स्तरमा काम गरिरहनु भएका व्यक्तिहरुलाई एकै थलोमा ल्याएर अन्तक्र्रिया गराउने चाहना हाम्रो छ । हाम्रो यस कार्यले समग्र आइटी उद्योगलाई लाभ पुग्ने विश्वास छ । हामीले आफ्नो सेवाको प्रचार गर्नेभन्दा पनि टेक्नोलोजीको बारेमा प्रचार गर्नलाई यो कार्यक्रम गरेका हौं । किनभने हाम्रा कस्टमरले टेक्नोलोजी बुझे भने हामीलाई सेवा प्रवाह गर्न थप सजिलो पुग्ने छ ।

अघिल्लो संस्करणको तुलनामा नयाँ के के छ ?  कस्ता विषय समावेश गर्नुभएकाे छ ?
पहिलो संस्करण गर्दा हामी आफैले टपिक र रिसोर्स पर्सनहरु छनोट गरेका थियाैं । सो कन्क्लेभबाट उत्साहजनक प्रतिक्रिया पायौं । यस संस्करणमा हामी आफैले टपिक नछानी हाम्रा लक्षित वर्गहरुको चाहना र माग बमोजिम आइटी इस्युहरु संकलन गर्यौं । यसका लागि सरकारी निकाय, नीति निर्माता, नियामक निकाय, आइटी उद्योग तथा आइटी क्षेत्रमा विभिन्न स्वरुपमा काम गरिरहेका व्यक्तिहरुसँग कुराकानी गर्यौं । उहाँहरुले नै रिकमेन्ड गरेका विषयमा हामीले विश्वविख्यात कम्पनीहरुबाट रिसोर्स पर्सनको व्यवस्था गर्न सफल भएका छौं । कार्यक्रममा टाटा, नोकिया, टाइको, राडवेयर, भर्टिभजस्ता प्रसिद्ध आइटी कम्पनीका विज्ञहरु रिसोर्स पर्सनको रुपमा आउँदै हुनुहुन्छ ।

साथै नेपालमा आइटी उद्योगसँग सरोकार राख्ने निकायहरु प्यानल डिस्कसनमा सहभागी हुँदै छन् । सुबिसु कन्क्लेभ २०१९ मा इमर्जिङ इन्फर्मेशन टेक्नोलोजीका इस्युहरुलाई हामीले कभर गरेका छौं । यस अन्तर्गत Blockchain Technology in Cybersecurity, QoS of Internet, Technology for Secured Society, IoT with AI, Future of Data Center, Emerging Technologies for Digital Transformation लगायतका विषय रहेका छन् ।

नेपालमा नयाँ टेक्नोलोजीको प्रयोगको सन्दर्भमा इन्भेस्टिगेसन गर्ने अभ्यास र प्रवृत्ति कमै छ । समग्रमा भन्ने हो भने टेक्नोलोजी छनौट गर्दा के के कुरामा ध्यान दिनुपर्छ र विश्वको ट्रेन्ड के केमा छ भनेर यो कार्यक्रममार्फत जानकारी लिन पाउनु हुनेछ ।

कन्क्लेभमा क-कसको सहभागिता हुनेछ ? कसरी व्यवस्थापन गर्दै हुनुहुन्छ ?
यो कार्यक्रम नक्साल नागपोखरीमा हालै सञ्चालनमा आएको मेरियट होटलमा गर्ने छौं । हामीले इभेन्ट म्यानेजरका लागि आउटसोर्सिङ गरेका छौं । उहाँहरुले सबै तयारी गरिरहनु भएको छ । कन्क्लेभको अडियन्समा हामीले आइटी इन्डस्ट्रीसँग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरुलाई निमन्त्रण गरेका छौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिहरु, नेपाल दूरसञ्चार प्राधिकरण, नेपालमा क्रियाशील आइटी कम्युनिटीहरु, विभिन्न कर्पोरेट संस्था, एनजिओ र आइएनजिओहरु, हस्पिटालिटी सेक्टर, सेक्युरिटी डिफेन्स लगायतबाट सहभागीहरु आउनु हुनेछ । सुबिसुसँग आबद्ध नभए पनि विभिन्न रुपले यहाँको आइटी क्षेत्रमा काम गर्दै आउनु भएका संस्था र व्यक्तिहरुलाई हामीले निमन्त्रण गरेका छौं । समग्रमा कार्यक्रममा ४ सयभन्दा बढी सहभागीहरु हुने आँकलन गरेका छौं ।

सुबिसु कन्क्लेभको प्रभाव कस्तो रहला ?
हरेक कार्यक्रम गरेपछि इम्प्याक्ट पर्नैपर्छ । नत्र कार्यक्रम गर्नुको अर्थ हुँदैन । अघिल्लो संस्करण हामी  आफैंले पहिचान गरेका विषयहरुमा कन्क्लेभमा छलफल भएको थियो । यसवर्ष जसका लागि कन्क्लेभ गरेका छौं, उहाँहरुले नै पहिचान गरेर विषय प्रदान गर्नुभएको छ । हामीले विभिन्न क्षेत्र र निकायसँग कार्यक्रमलाई लिएर जिज्ञासा सोध्यौं । उहाँहरुले के के नयाँ टेक्नोलोजी एडप्ट गर्दै हुनुहुन्छ र त्यसको च्यालेन्जहरु के के छन् भनेर जान्ने प्रयास गर्यौं । उहाँहरुले नै भोगेका र जान्न चाहेका विषयहरु कार्यक्रममा समावेश गरेका छौं । प्रिजेन्टेशन र प्यानल डिस्कसनबाट सूचना आएन भने व्यक्तिगत रुपमा सूचना लिने र जिज्ञासाको समाधान गर्ने व्यवस्था पनि गरेका छौं ।

नेपालमा नयाँ टेक्नोलोजीको प्रयोगको सन्दर्भमा इन्भेस्टिगेसन गर्ने अभ्यास र प्रवृत्ति कमै छ । समग्रमा भन्ने हो भने टेक्नोलोजी छनौट गर्दा के के कुरामा ध्यान दिनुपर्छ र विश्वको ट्रेन्ड के केमा छ भनेर यो कार्यक्रममार्फत जानकारी लिन पाउनु हुनेछ । म के भन्छु भने यो कन्क्लेभले सर्ट टर्मभन्दा लङ टर्म इम्याक्ट पार्दछ ।

अन्त्यमा सुबिसु कन्क्लेभ २०१९ को आयोजकको नाताले के भन्न चाहनुहुन्छ ?
यो कार्यक्रम हामीले मात्र गरेर सफल हुने होइन । सबैजनाको सहयोग चाहिन्छ । हामीले जसका लागि कार्यक्रम गरिरहेका छौं, उहाँहरुको प्रत्यक्ष साथ र सहयोगको अपेक्षा राखेका छौं । हामीले विदेशका ख्यातिप्राप्त कम्पनीबाट एक्स्पर्ट कार्यक्रममा निमन्त्रणा गरेका छौं । उनीहरुले रियल केश स्टडी देखाउँदै विश्वमा चलिरहेको ट्रेन्ड र नेपालले कसरी त्यसलाई एडप्ट गर्न सक्छ भन्ने विषयमा प्रस्तुति दिने छन् । नेपालकाे सूचना प्रविधि क्षेत्रकाे विकासमा हातेमालाे गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ । यो कार्यक्रम पनि सबैले अपनत्व महसुस गरेर सम्पन्न गरौं । हामीले आमन्त्रण गरेका सबै अतिथिलाई कार्यक्रम नछुटाउन र कार्यक्रमपछि आफ्ना अमूल्य प्रतिक्रिया दिनुहुन पनि हार्दिक अनुरोध गर्दछु ।

याे पनि पढ्नुहाेस् : जेठ १ मा ‘सुबिसु कन्क्लेभ २०१९’, यस्ता विषयमा हुँदै छ छलफल