कीवर्डहरू -

अन्तरदेशीय भुक्तानीका लागि फोनपे र श्रीलंकाको लंका पेबीच सम्झौता

अन्तरदेशीय भुक्तानीका लागि फोनपे र श्रीलंकाको लंका पेबीच सम्झौता

नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्क फोनपे र श्रीलंकाको राष्ट्रिय भुक्तानी नेटवर्क लंका पेबीच अन्तरदेशीय डिजिटल भुक्तानीका लागि सम्झौता भएको छ ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दिवस कुमार सापकोटा र लंकापेका सिइओ चन्ना डि सिल्भाले समझदारी पत्र(एमओयु)मा हस्ताक्षर गरेका थिए ।

यो सम्झौताले डिजिटल भुक्तानी प्रणालीले दुई राष्ट्रबीचका प्रयोगकर्ताहरूलाई निर्वाध रूपमा भुक्तानी कारोबार गर्न सम्भव बनाउँने छ ।

हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथिको रूपमा काठमाडौंस्थित श्रीलंका दूतावासका चार्ज डे अफेयर्स तथा चान्सरि प्रमुख श्रीमती निलुषा दिलमिनीको विशेष उपस्थिति रहेको थियो भने एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजि डिरेक्टर डेनियल डि. श्रेष्ठ र फोनपेका अध्यक्ष विश्वास ढकालको उपस्थिति रहेको थियो ।

यो सहकार्य दुई देशबीच भ्रमण गर्नेहरूको सहजताका लागि अत्यन्त प्रभावकारी हुनेछ । श्रीलंकाका नागरिकहरू नेपाल भ्रमण गर्दा लंकापेद्वारा अधिकृत मोबाइल एप प्रयोग गरी फोनपे नेटवर्कका विभिन्न मर्चेन्टहरूमा ‘क्युआर’ भुक्तानी गर्न सक्नेछन् ।

त्यसैगरी, श्रीलंका जाने नेपाली नागरिकहरूले फोनपेद्वारा अधिकृत एपहरू प्रयोग गरी ‘क्यु आर’ भुक्तानी गर्न सक्नेछन् । यस पश्चात फोनपे वा लंकापे मध्ये जुनै पनि नेटवर्कको एप प्रयोग गरिरहेका पर्यटकहरूले यी दुई सञ्जालका मर्चेन्टहरूमा सरल र सुविधाजनक तरिकाले क्रसबोर्डर भुक्तानी गर्न सक्नेछन् ।

यस सहकार्यमा उत्साहित हुँदै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटाले यो सहकार्य नयाँ अवसरहरू विस्तार गर्न, वित्तीय समावेशीकरण बढाउन र समृद्ध डिजिटल अर्थतन्त्र सिर्जना गर्न प्रविधिको प्रयोग गर्ने प्रतिबद्धताको प्रमाण भएको बताए ।

'यो सहकार्यले, नवप्रवर्तन र अन्तरआबद्धताद्वारा राष्ट्रको आर्थिक वृद्धिलाई नयाँ उचाइमा पुग्नको लागि मद्दत पुर्‍याउने छ । यो साझेदारी हाम्रो लागि निकै महत्त्वपूर्ण छ । हामीले नेपालमा मात्र नभई हाम्रो सबैभन्दा नजिकको दक्षिण एसियाली देश श्रीलंकामा पनि क्रसबोर्डर डिजिटल भुक्तानीलाई छिटो, सुरक्षित र सजिलो बनाउन मद्दत गर्नेछौं,' उनले भने ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा बोल्दै, लंकापेका प्रमुख कार्यकारी अधिकृत चन्ना डि सिल्भाले यो साझेदारी, श्रीलंकामा डिजिटल भुक्तानीमा फड्को मार्ने उद्देश्यको महत्त्वपूर्ण कोसेढुङ्गा सावित भएको बताए ।

'यो रणनीतिक साझेदारीले हाम्रा ग्राहकहरूको लागि सहज र समावेशी भुक्तानीको वातावरण सिर्जना गर्ने हाम्रो साझा दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ । हाम्रा सम्बन्धित प्लेटफर्महरूबीचको दुरी घटाई, हामी नयाँ सम्भावनाहरू खोल्दैछौँ जसले व्यक्ति र व्यवसायहरूलाई सहज रूपमा भुक्तानी कारोबार गर्ने वातावरण बनाउँछ,' उनले भने ।

समझदारी पत्र हस्ताक्षर कार्यक्रममा अतिथि तथा प्रतिनिधिहरूलाई धन्यवाद व्यक्त गर्दै फोनपेका अध्यक्ष विश्वास ढकालले यो फोनपेका लागि मात्र नभई सम्पूर्ण राष्ट्रका लागि डिजिटल भुक्तानी क्षेत्रमा अन्तरआबद्धता हासिल गर्ने ऐतिहासिक कदम भएको बताएका थिए ।