कीवर्डहरू -

मानिसको अभिन्न अंग जस्तै बन्दैछ \'मोबाइल र इन्टरनेट\'

मानिसको अभिन्न अंग जस्तै बन्दैछ \'मोबाइल र इन्टरनेट\'

सूचना प्रविधिको विकास र विस्तार दिनप्रतिदिन बढ्दै जान थालेसँगै पछिल्ला केही वर्ष यता धेरैका घर र कार्यालयका ल्यान्डलाइन टेलिफोन क्रमशः प्रयोगविहीन बन्न थालेको छ।

मानिसको दैनिक जीवनमा ल्यान्डलाइनको खासै प्रयोग हुन छाडेपछि त्यसको लाइन चुँडिए पनि तिर्नुपर्ने र रकम सकिए पनि वास्ता गर्न छाडिएको छ।

आजभोलि जुनसुकै पेसा व्यवसाय गर्नेले पनि आफ्नो संवादको माध्यम मोबाइललाई नै बनाउन थालेका छन्। गाउँदेखि शहरसम्‍मका फरक(फरक पेशा व्यवसायका मानिसहरु मोबाइललाई आफ्नो अभिन्‍न अङ्ग जस्तै मान्न थालेका छन् । गाउँमा उनीहरु गोठालो जाँदा होस् वा घरमा बस्‍दा होस् वा साथीभाईसँग कुरा गर्दा होस् प्राय मोबाइल नै प्रयोग गर्ने गरेका छन् ।

यस्तै शहरमा त झन् अफिसदेखि घर र घरदेखि अफिससम्‍मै मोबाइलको प्रयोग हुने गरेको छ। अफिसमा काम गर्दा अधिकांश काम मोबाइलबाटै हुने गरेका छन् ।

यसले ल्यान्डलाइन फोन औचित्यहीन साबित हुन थालिसकेको छ । मोबाइल अब केवल संवादको माध्यममा मात्र पनि सीमित रहेन। नुनदेखि सुनसम्म किन्न, दानभेटीदेखि लाखौँको कारोबार गर्न, विभिन्न शुल्क तिर्नेको भरपर्दो र सहज माध्यम बनिदिएको छ मोबाइल।

स्वदेशमा होस् वा विदेश, विश्वको जुनसुकै कुनामा बसेर पनि एक अर्काबिचको सामीप्यता आदानप्रदानको माध्यम बनिरहेको छ मोबाइल। यसकारण मोबाइल  बालबालिकादेखि वृद्धवृद्धासम्ममा मोबाइल मोह झन् उत्तिकै छ।

काठमाडौं सिनामंगल ९ की ७० वर्षीया प्रेमरत्न कुमारी तामाङ भन्छिन्, ‘मलाई बरू एकाध दिन खाना नदिए हुन्छ, त्यो सहन सक्छु। तर विदेशमा भएको छोराहरुसँग कुरा गर्न मोबाइल नदिए त सक्नै सक्दिन।’ उनका दुई भाई छोराहरु एउटा अस्ट्रेलिया र अर्को अमेरिका बस्छन्।

उनी भन्छिन्, ‘छोरा बुहारी अनि नातिनातिना अस्ट्रेलिया र अमेरिका बस्ने भएपछि मोबाइल र इन्टरनेट त मलाई २४ सै घण्टा चाहिन्छ।किनकी अब नातिनातिनालाई हेर्न मन लागिहाल्छ। जतिबेला हेर्न मन लाग्यो। कल दबाइहाल्छु। मोबाइलले छोराहरुबाट टाढा भएको आभास हुन दिएको छैन।’

यस्तै पारिवारिक र सामाजिक विभिन्न समारोहका निम्ता पठाउन होस् वा प्रेमीरप्रेमिकाको डेटिङ सेट गर्न, घाँस(दाउरा गर्दागर्दै रुखको हाँगाबाट विदेशमा रहेका आफ्नासँग माया पिरती साट्न मोबाइलले नै महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ।

आजभोलि त झन् सामाजिक सञ्जल फेसबुक, ट्विटर, इन्स्टाग्राम, ह्वाट्सएपलगायतमा लिप्त युवापुस्ताले नयाँ नयाँ एप्लिकेसन तथा गेमका कारण मोबाइललाई आफ्नो जीवनको अभिन्न अङ्ग जतिकै मान्न थालेका छन् ।

बीएससीआइटी तेस्रो सेमेष्टरमा अध्ययनरत टीकाथलीका सागर चौधरी भन्छन्,  ‘म कक्षाको सबै प्रोजेक्टहरु मोबाइलबाटै गर्छु। अझ मेरो त एप्लिकेशन हो मुख्य विषय। त्यसकारण मोबाइल त मेरो लागि अभिन्न अङ्ग जत्तिकै छ । एकछिन छोडेँ भनेँ के छुटे जस्तो महशुस हुन्छ।’

उनी नेपालको चर्चित आइटी कम्पनी ब्रेन डिजिटमा गेम इन्जिनयरको रुपमा काम गर्छन्। उनी भन्छन्, ‘ मेरो अफिसको काम पनि यही मोबाइलबाटै गर्छु।घरमा पनि अफिसमा पनि प्राय मोबाइलबाटै नयाँ नयाँ ‘बग’हरुको समाधान वा नयाँ सफ्टवेयरहरुको काम गर्ने गर्छु।’

खासगरी विश्वभर महामारी संक्रामक रोग कोभिड-१९को मध्यतिर मोबाइलको प्रयोग तीव्रगतिमा बढ्‍दै जान थाल्यो। पठन-पाठकका लागि त प्रमुख माध्यम नै मोबाइल बन्‍न पुग्‍यो।

विद्यालयदेखि विश्वविद्यालयसम्मका कक्षाका पाठहरु मोबाइलमा आउन थाले । कक्षा पनि मोबाइलबाटै सञ्‍चालन हुन थाल्यो। शिक्षकहरु मोबाइलमै विद्यार्थीहरुलाई पढाउन थाले भने चिकित्सकहरुले अनलाइनमा मोबाइलबाटै परामर्श दिन थाले।

‘विश्वविद्यालयको पाठ, नबुझेको पाठ बुझ्ने मोबाइलमा विश्वविद्यालयका अधिकांश सूचना सूचना पाटीको सट्टा मोबाइलमा आउने भएपछि के गर्नु, अनलाइनबाटै पढाउनै पर्‍यो।’  बागबजारस्थित पद्मकन्या कम्‍याम्पस, फुण्ड न्युट्रिशन विभागका प्रमुख जया प्रधान भन्छिन् ।

कोरोना महामारीको समयमा मास्टर्सका सबै कक्षा अनलाइनमार्फत नै चलाउनु परेको र विद्यार्थीहरु त्यतिबेला मोबाइलबाटै कक्षामा सहभागी भएको उनको भनाइ छ।  उनी भन्छिन्, ‘ त्यतिबेला कोरोना महामारी देशभरी थियो।हामीले सबै कक्षाहरु अनलाइन नै सार्नुपर्‍यो। विद्यार्थीहरु मोबाइलबाटै कक्षामा उपस्थित हुन्थे। मैले सबै कक्षा त्यतिबेला अनलाइनमै लिए र विद्यार्थीहरु मोबाइलकै प्रयोग गरेर सहभागी भए।मोबाइल विद्यार्थीको लागि वरदान बनेर आइदियो।’

\"विनय
विनय मिश्रा

यस्तै धुम्बाराहीस्थित नेशनल कलेजका कोर्डिनेटर विनय मिश्रा भन्छन्, ‘मोबाइल त अहिले शैक्षिक क्षेत्रको लागि वरदान साबित भएर आएको छ। मोबाइल नभइदिएको भए कोरोनाको समयमा हाम्रो पठनपाठन, मूल्यांकन र कक्षा प्रोमोशन नै रोकिन्थ्यो। तर विद्यार्थीको हात(हातमा मोबाइल भएका कारण हामीले पाठ्यक्रमलाई अनलाइन कक्षामा सिफ्ट गर्‍यौ र अध्यापन गराउन सफल भयौं।’

उनी मोबाइलले विद्यार्थीको प्रश्‍नपत्र, परीक्षा र मूल्यांकन गर्नमा पनि मोबाइलले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँछन्। ‘विद्यार्थीहरुले गृहकार्य गर्ने र हामीले नम्बर दिनेदेखि रिजल्ट निकाल्नसम्म मोबाइललाई प्रयोगमा ल्यायौं। शैक्षिक क्षेत्रलाई सफल बनाउन मोबाइल र आइसिटीले महत्वपूर्ण माध्यमको रुपमा बनिदियो।’

तर मोबाइलले भने सूचनाको ‘ओभरफ्लो’ले मानिसको व्‍यक्तिगत जीवनलाई अस्तव्यस्त बनाइदिनु नै चुनौती रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘मोबाइलले सबै काम राम्रो गरेर पनि सूचनाको ओभरफ्लो बढी भयो की। यसले मानिस व्यक्तिगत जीवन नै अस्तव्यस्त बनाइदिन्छ।’

कुनै बेला मोबाइल फोनको प्रयोग सम्भ्रान्तहरूको विलासिताको साधनको हुने गरे पनि अहिले समाजका हरेक तप्का र उमेर समूहका लागि यो आधारभूत आवश्यकता  बनिसकेको छ । मोबाइल मोह बढेपछि यसको बजारको व्यापकता पाउने नै भयो।

विप्रेषणका कारण क्रय शक्तिमा आएको बढोत्तरीसँगै, प्रविधिमा पहुँच व्यापक बन्दा केबल संवादका लागि मात्र नभई विभिन्न प्रयोजनमा मोबाइलको प्रयोग बढेकै छ।

जेनेरल टेक्नोलजिजकी सीईओ सुनैना पाण्डे घिमिरे भन्छिन्, ‘म प्राय मिटिङहरु जुम, गुगल टिम्समा मोबाइलबाटै बसिरहेकी हुन्छु। मेरो व्यक्तिगत डकुमेन्ट, क्यालेन्डर र महत्वपूर्ण टिपोट पनि मोबाइलमै राखेको हुन्छु। अफिसको पेमेन्ट र बाहिर विदेशका क्लाइन्डहरुसँग प्राय मोबाइलमै मिटिङहरु फिक्स गर्छु।’

अहिले अफिसको भाडा, खानेपानीको बिल, स्टाफहरुको तलब, किनमेल प्राय मोबाइलबाटै गरिरहेको उनको भनाइ छ। उनी भन्छिन्, ‘म त घर बस्दा पनि मोबाइलमै सक्रिय हुन्छु। किनकी अफिसको काम र बाहिर के कसरी भइरहेको छ भन्ने खबर र चासो मोबाइलबाटै अपडेट आउँछ। रेन्ट, फन्ट ट्रान्सफर र व्‍यक्तिगत, क्यालेन्डर र महत्वपूर्ण डकुमेन्टहरु मोबाइलबाटै अपडेट गर्दै आएकी छु।’

\"\"
सुनैना पाण्डे

यस्तै मोबाइलको प्रयोगले घर र अफिसको काम सहज बनाइदिएको कम्प्युटर एशोशिएशन अफ नेपाल (क्यान) महासंघका अध्यक्ष रञ्जित पोदार स्वीकार्छन् । उनी भन्छन्, ‘क्यान महासंघले गर्ने हरेक महत्वपूर्ण मिटिङमा प्रदेश र जिल्लाका साथीहरु मोबाइलबाटै उपस्थिति जनाउँछन्। उहाँहरुलाई मोबाइलबाटै आ-आफ्नो एजेण्डा राख्नुहुन्छ। म मोबाइलबाटै बिजुली, पानी, बैंक ट्रान्सफरको काम गर्छु।’

तर कहिलेकाही मोबाइलबाट फन्ट ट्रान्सफर गर्दा भने समस्या भएको उनको गुनासो छ। उनी भन्छिन्, ‘ मोबाइलले दैनिकी सहज र सरल त बनाइदिएको छ नै। यसले मानिसको काम फत्ते गरेको भए पनि कहिलेकाही भने पैसा पठाउँदा नागरिकहरुले पैसा नपुग्ने सास्ती झेल्नु परेको छ।’

\"\"
रञ्जीत पोदार

यता, पूर्वविज्ञान तथा प्रविधिमन्त्री एवं सूचना प्रविधिका अगुवा तथा राजनीतिज्ञ गणेश साह प्रविधिले मानिसको जीवनशैली नै बदली गराइदिएको बताउँछन् ।

उनी भन्छन्, ‘पहिला हुलाक र चिठीपत्रले खासै उत्साह नल्याए पनि मोबाइलले मानिसको जीवनमा नै क्रान्ति गरिदिएको छ। यसले जीवन शैली नै परिवर्तन भएको छ विश्वका मानिसहरुको। उनीहरु आजभोलि मोबाइलमै गफ, मोबाइलमै पैसा, मोबाइलमै गीत र मोबाइलमै आफ्नसँग रमाउन र सुख दुख साटासाट गर्न सक्‍ने भएका छन्।’

नेपालका राजनीतिक क्षेत्रमा लाग्‍नेहरुलाई पनि मोबाइलले सहज र सरल बनाइदिएको उनी स्वीकार्छन्। उनी भन्छन्, ‘ संविधानको कुन धारामा के लेखिएको छ। पार्टीका महत्वपूर्ण दस्तावेजहरु कहाँ पाइन्छ भनेर भौतारिनु नपर्ने, विभिन्न राजनीतिक एजेण्डा र समस्याहरुको समाचार, विचार, विमर्श, पुस्तकालय सब मोबाइलभित्रै पाइन्छ।’ तर राजनीतिकर्मीहरु  मोबाइलको प्रयोगबारे बेखर  अल्छी भएका कारण संसद र जनतासँग जोडिन नसकिरहेको उनको गुनासो छ।

\"\"
गणेश शाह

उनी भन्छन्, ‘राजनीतिकर्मीहरुको लागि मोबाइल त दीपक हो। सागर हो। तर हाम्रा सांसद मोबाइल खाली गफ गर्न मात्रै प्रयोग गरिरहेका छन्। राजनीतिक दलका महत्वपूर्ण दस्तावेजहरु, पुस्तकहरु, अनलाइन समाचारहरु र विभिन्न लेख, कानुनहरु अध्ययन गर्नु छाडेर लडेर बस्ने बानीले सांसदहरु कमजोरु भएका हुन्। नब मोबाइल नागको मणिजस्तै दलका नेताहरुको  लागि मोबाइल मन्त्र हो।’

यस्तै बैक तथा वित्तीय संस्थामा पनि मोबाइलले क्रान्ति ल्याइदिएको छ। मोबाइलले नै आजभोलि बैकमा पैसा पठाउन र पाउनुका साथै बैंकिङ गतिविधि पनि गर्न सकिने पूर्व बैंकर अनिल केशरी शाह बताउँछन् ।

उनी भन्छन्, ‘ मानिसहरु पहिला पहिला लाइन लागेर पैसा लिन आउथे। घण्टौं कुर्नुपर्थ्यो पैसा लिन र डिपोजिट गर्न। तर मोबाइल बैंकिङले यो कामलाई जिरोमा पुर्‍याइदिएर अब घरमै बसीबसी, हिड्दा हिड्दै, अफिसमै बसेर, जहाँ भए पनि मोबाइल बैंकिङको काम सम्भव बनाइदिएको छ।’ उनी मोबाइलले बैंकिङले पुरै बैंक र नागरिकको नातामा थप मजबुत बनाइदिएकोमा खुसी व्यक्त गर्छन् ।

टिकटक बनाउनेको माहोल

सामाजिक सञ्जाल टिकटकको प्रयोग बढेसँगै मोबाइलको प्रयोग झन् तीव्र गतिमा बढ्‍न थालेको छ। खासगरी महिला र युवा पुस्तामा टिकटकको बनाउने लहर नै चलेको माइतीघर बस्नै वीणा न्यौपाने बताउँछिन्।

\"\"
मिस पवि

उनी भन्छिन्, 'म त मोबाइलबाटै दिनमा २५/३० वटा टिकटक बनाउँछु। र लाइभ पनि ३/४ घण्टा दिनकै बस्छु।'  यस्तै मिस पबीको उपाधि पाएकी टिकटक स्टार पवित्रा साकी भन्छिन्, 'मोबाइल त मेरो लागि बरदानै भएर आइदियो। मैले मोबाइलमै टिकटक बनाएर स्टारसम्म भएकी हुँ। मोबाइलले मेरो जीवनमै परिवर्तन ल्याइदियो।'

सदुपयोग गरेर टिकटक बनाएर पैसा पनि कमाइ हुने उनको भनाइ छ। तर, आजभोलि टिकटकमा बढी छाडा हुने गतिविधि बढेकोप्रति भने उनको गुनासो छ।

उनी  भन्छिन्, 'टिकटक बनाउने नाममा अहिले छाडा बढी भयो। यसले समाजलाई बर्बातितर्फ लैजान्छ। मोबाइलले अवसर दिएको छ भने सदुपयोग गरौं। तर सुविधा पायो भन्दैमा छाडातन्त्र बन्द गरौं।'