नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम सेवा प्रदायकको सिस्टममा राख्न लागेको टेरामोक्स (टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ तथा फ्रड कन्ट्रोल सिस्टम) प्रविधिबाट कल ट्यापिङ नगर्ने र ग्राहकको एसएमएस नहेर्ने स्पष्ट पारेको छ ।
नेपाल टेलिकमले ग्राहकको डेटा सुरक्षामा प्रश्न उठाउँदै टेरामोक्स जडानमा सहयोग नगरेपछि प्राधिकरणले टेरामक्स प्रविधिले कल ट्यापिङ नगर्ने र ग्राहकको एसएमएस पनि नहेर्ने स्पष्ट पारेको हो ।
‘यस परियोजनाको उद्देश्य ग्राहकले कल ट्यापिङ गर्ने र ग्राहकको एसएमएस हेर्ने नभइ राज्यको अर्बौ आम्दानी किन घट्यो ? मोबाइल अपरेटरले कन्जुमरलाई बाचा गरे अनुरूपको सेवाको गुणस्तरीयता दोएका छन् कि छैनन् । मोबाइल अपरेटर नाफामुखी मात्र भएर कम गुणस्तरीय सेवा दिइ उच्च गुणस्तर बराबरको मूल्य लिइ रहेका छन कि छैनन् भन्ने निर्क्यौल गर्नु हो,’ प्राधिकरणले भनेको छ ।
प्राधिकरणका अनुसार यदी मोबाइल अपरेटलाई टेरामोक्स प्रविधिले आफ्ना ग्राहकको गोपनियता लगायत अरूको अनाधिकृत पहुँच भन्ने लागेमा दूरसञ्चार प्राधिकरणलाई दिने डेटा इन्क्रिप्टेड गर्न सकिने छ ।
टेलिकम कम्पनीको ग्राहक संख्या र भ्वाइस बढ्दै जाने तर वार्षिक रूपमा अर्बौको राजस्व घट्दै गएपछि त्यसको यथार्थ थाहा पाउन टेरामोक्स प्रविधि जडान गर्न लागेको छ ।
टेरामोक्स दूरसञ्चार क्षेत्रमा हुने ठगी, भ्वाइस तथा डेटा सेवाको गुणस्तर मापन तथा भ्वाइस र डेटाको टोटल भोलुम परीक्षण गर्ने प्रविधि हो ।
यसले भ्वाइस र डेटा सेवाको गुणस्तर वृद्धि गरी ग्राहकलाई अधिकतम स्तरीय सेवा प्रदान गर्न र राजस्व बढाउन मद्दत गर्ने प्राधिकरणले जानकारी दिएको छ ।