कीवर्डहरू -

के हो टेरामोक्स प्रणाली ? के साच्चै कल ट्यापिङ गर्छ ? 

के हो टेरामोक्स प्रणाली ? के साच्चै कल ट्यापिङ गर्छ ? 

नेपाल दूरसञ्चार प्राधिकरणले राजस्व चुहावट रोक्न, कल बाइपास नियन्त्रण गर्न र सेवाको गुणस्तर मापन गर्न भन्दै टेरामोक्स प्रणाली लागु गर्न खोजिरहेको छ ।

यसका लागि प्राधिकरणले ३ अर्ब बढीको लागतमा आवश्यक उपकरण समेत विदेशबाट आयात गरिसकेको छ । उपकरण आयात भएपनि टेलिकम सेवा प्रदायकको असहयोगका कारण उक्त प्रणाली लागु हुन सकेको छैन् ।

खासमा टेरामोक्स प्रणाली पूर्ण विकसित दुरसंचार क्षेत्रमा हुने ठगीका क्रियाकलपा, भ्वाइस तथा डेटा सेवाको गुणस्तर मापन तथा अनुगमन र भ्वाइस तथा डेटाको त्यसको टोटल भोलुम परीक्षण गर्ने प्रविधि हो ।

यस परियोजनाको प्रमुख उदेश्य भ्वाइस तथा डेटा सेवाको (QOE & QOS) गुणस्तर वृद्धि गरी ग्राहकलाई अधिकत्तम स्तरिय सेवा प्रदान गरी प्रति प्रयोग कर्ता औसत राजस्वलाई सुधार गरेर टेलिकम राजस्व बढाउन मद्दत गर्नु रहेको प्राधिकरणले जनाएको छ ।

यसले अपरेटरहरुद्धारा निर्क्यौल गरीएको ट्राफिक भोल्युम सही र पूर्ण रुपमा भए नभएको सुनिश्चित गर्ने गर्दछ । टेरामोक्सले कल बाइपास लगायतका ठगीका क्रियाकलापबाट हुने करोडौको राजस्व चुवावटलाई रोकी नेपाल सरकारको समग्रमा राजस्व बढाउन मद्द्त गर्ने प्राधिकरणले बताएको छ ।

टेरोमोक्स प्रविधि अन्तर्गत मुख्यतः ट्राफिक मापन तथा अनुगमन सिस्टम (टीएमएस), नेटवर्क अनुगमन प्रणाली (एसएमएस), ठगी व्यवस्थापन प्रणाली (एफएमएस) रहेका छन् ।

ट्राफिक मेजरमेन्ट एण्ड मोनिटरिङ सिस्टम (टीएमएस)

टीएसएम अन्तर्गत मोबाइल सेवा अपरेटरले घोषणा गरेको भोलुम ठिक छ की छैन् जाँच्ने काम हुन्छ । अपरेटले गर्न सक्ने Uundeclared / Under Declaring Volume लाई पूर्ण रुपमा नियन्त्रण गर्ने काम यस प्रणालीको हो ।

यसका साथै यसले यूरोपियन दूरसञ्चार मानक संस्था (ईटीएसआई) र अन्तर्राष्ट्रिय दूरसञ्चार संगठन (आईटीयु) ले गुणस्तरीय सेवा सम्बन्धि निर्धारण गरेको मापदण्ड अनुसारको सेवा सेवा प्रदायकहरुले ग्राहकलाई उपलब्ध गराए, नगराएको मापन गर्ने काम गर्छ ।

नेटवर्क मोनिटरिङ सिस्टम (एनएमएस)

नेटवर्क मोनिटरिङ सिस्टम अन्तर्गत सेवा प्रदायकको साइटमा प्रोब सामग्री इन्स्टल गरी सेवा प्रदायकको ट्रान्समिसन लिंक लगायतका अति आवश्यक नेटवर्किङ सामग्रीको अनुगमन गर्नु हो । यसले गर्दा उपभोक्ताले पाउनु पर्ने सुविधा तथा समय समयमा सेवा प्रदायकले मर्मत सम्भार गर्नु पर्नेमा सो गरे / नगरेको अनुगमन गर्ने हो ।

फ्रड म्यानेजमेन्ट सिस्टम (एफएमएस)

फ्रड म्यानेजमेन्ट सिस्टम अर्थात ठगी व्यवस्थापन प्रणाली पनि यो परियोजनाको एउटा महत्वपुर्ण भाग हो, जसले दूरसञ्चार उद्योगमा ठगी सम्बन्धि क्रियाकलापहरूलाई रोकी सेवा प्रदायक तथा नेपाल सरकारको राजस्व वृद्धिमा उल्लेखनिय भुमिका खेल्ने जनाइएको छ ।

दूरसञ्चारको क्षेत्रमा हुने विभिन्न खालका ठगीहरू जस्तै बाइपास ठगी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्राफिक रिफाइलिङ, फल्स एनसर सुपरभिजन, ओटीटी बाईपास, कल स्पुफिङ, वाङगिरी अट्याक, पीबीएक्स ट्याकिङ, रोबो कल, रोमिङ ठगी, सब्सक्राइबर फ्रड, सीम कोलिनिङ, आईआरएसएफ ठघी, अपरेटर इन्टरनल फ्रडहरुले टेलिकम क्षेत्रको राजस्वमा प्रत्यक्ष प्रभाव पारी अपरेटर उपभोक्ता नेपाल सरकारले पनि करोडौको राजस्व गुमाई रहेको अवस्थामा यस प्रविधिले उक्त वित्तीय अपराधलाई रोक्न महत्वपुर्ण भुमिका खेल्न प्राधिकरणको दावी छ ।

के टेरामोक्स प्रविधिले भ्वाइस कल ट्यापिङ गर्छ ?

नेपाल दूरसञ्चार प्राधिकरणले टेरामोक्स जडान गर्ने भएपछि टेलिकम सेवा प्रदायकले डेटाको विषयमा प्रश्न उठाएका छन् । यसमा प्राधिकरणले प्रष्ट पारेको छ । प्राधिकरणले ग्राहकको भ्वाइस कल ट्यापिङ नगर्ने र एसएमएस नपढ्ने स्पष्ट पारेको छ ।

प्रोबिङ हार्डवेयर फर्मवेयर र प्रोबिङ एनालाइजर सफ्टवेयर नियामक निकाय दूरसञ्चार प्राधिकरणको आवश्यकता अनुरूप डिजाइन गरिएको हो । प्राधिकरणको को प्रोबिङ सोलुसन भ्वाइस मिडिया फाइलहरू वा एसएमएस (भ्वाइस कल तथा एसएमएस कन्टेन्ट) सामग्रीहरूमा कुनै अन्तरदृष्टि बिना भ्वाइस तथा एसएमएसको सीडीआर मात्र सङ्कलन गर्न डिजाइन गरिएको हो ।

त्यसकारण टेरामोक्स प्रविधिसँग मोबाइल अपरेटर वा मिडिया फाइलमा कुनै पनि पहुँच नहुने र कुनै आवाज रेकर्डिङ वा एसएमएस पढ्न सम्भव नभएको प्राधिकरणले स्पष्ट पारेको छ । मिडिया प्याकेटहरू आरटीपी प्रोटोकलसँग ट्याग गरिएका हुन्छ र मोबाइल अपरेटरहरूले तिनीहरूले सिग्नल ट्राफिकमा के पठाउँछन् भन्ने कुरा नियन्त्रण गर्न सक्छन यो कुरा विभिन्न मोबाइल अपरेटरका विशेषज्ञहरुले पुष्टि गरि सकेको कुरा भएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार आरटीएफ ट्राफिकलाई कुनै किसिमले पनि विश्लेष्ण गर्न नसकिने हुँदा अहिले गर्न लागिएको फर्मवेयर तथा प्रोटोकल एनलाइजर सफ्टवेयर पनि आरटीएफ ट्राफिक कन्टेन्टलाई एनालाइजर भित्रका कुराहरु भ्वाइस कल तथा एसएमएस कन्टेन्ट पढ्न सक्दैन ।

यति गर्दा पनि नभए प्राधिकरले मोबाइल सेवा प्रदायकलाई अन्य विकल्प पनि दिएको छ । मोबाइल अपरेटरले डेटा सुरक्षा लगायतका विषयमा प्राधिकरणसँग कानुनी सम्झौता गर्न सक्ने छन् । प्राधिकरणसँग भएको सम्झौताका आधारमा तेस्रो पक्षमार्फत डेटा सुरक्षा र ट्रान्समिसन लिंक लगायतका विषयमा अडिट गराउन सक्छन् ।

यसका साथै यदी मोबाइल सेवा सञ्चालकलाई टेरोमोक्स प्रविधिले ग्राहकको डेटा अनाधिकृत पहुँच हुन्छ भन्ने लागेमा प्राधिकरणलाई उपलब्ध गराउने डेटालाई इन्क्रिप्टेड गर्न सक्ने छन् ।

यस परियोजनाको उद्देश्य ग्राहकले कल ट्यापिङ गर्ने र ग्राहकको एसएमएस हेर्ने नभइ राज्यको अर्बौ आम्दानी किन घट्यो ? मोबाइल अपरेटरले कन्जुमरलाई बाचा गरे अनुरूपको सेवाको गुणस्तरीयता दोएका छन् कि छैनन् । मोबाइल अपरेटर नाफामुखी मात्र भएर कम गुणस्तरीय सेवा दिइ उच्च गुणस्तर बराबरको मूल्य लिइ रहेका छन कि छैनन् भन्ने निर्क्यौल गर्नु रहेको प्राधिकरणले स्पष्ट पारेको छ ।

टेलिकम कम्पनीको ग्राहक संख्या र भ्वाइस बढ्दै जाने तर वार्षिक रूपमा अर्बौको राजस्व घट्दै गएपछि त्यसको यथार्थ थाहा पाउन टेरामोक्स प्रविधि जडान गर्न लागिएको प्राधिकरणको जानकारी दिएको छ ।