कीवर्डहरू -

‘३ करोड जनसंख्या भनेको सानो होइन, सम्भावना देखेरै इन्ड्राइभ नेपाल आएको हो’

‘३ करोड जनसंख्या भनेको सानो होइन, सम्भावना देखेरै इन्ड्राइभ नेपाल आएको हो’

करिब डेढ वर्ष अगाडि नेपालमा विदेशी राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभ सुरू भएको थियो । अमेरिकाको क्यालिफोर्नियामा मुख्य कार्यालय रहेको इन्ड्राइभको लोकप्रिया नेपाल बढ्दो छ । अहिलेसम्म चालकबाट कमिसन पनि लिएको छ । दर्ता भइसकेपछि मात्रै कमिसन लिने योजना बनाएको छ ।

यसबाट रियल टाइम डिल्स(आरटीडी) मोडलमार्फत यात्रुले रोजेको रुटका लागि भाडा तोक्न तथा नजिकका चालकहरुबाट सोझै काउन्टर अफर पठाउन सक्छन् । त्यसैकारण अन्य प्लेटफर्मभन्दा यो फरक छ ।

यसै शिलशिलामा इन्ड्राइभका एशिया प्यासिफिक क्षेत्रका निर्देशक रोमन एरमोसिन नेपाल आएका थिए । एरमोसिन नेपाल आएको अवसरमा इन्ड्राइभको दर्तामा किन ढिलाइ भइरहेको छ ? नेपाल जस्तो सानो बजारमा किन आउनु भयो ? प्रयोगकर्ता कति छन् ? कमिसन कस्तो छ ? प्रतिष्पर्धा कस्तो छ ? लगायतका विषयमा आइसिटी समाचारका लागि स्नेहा झा ले उनै एरमोसिन सँग गरेको कुराकानी

तपाई इन्ड्राइभको एसिया प्यासिफिक क्षेत्रको निर्देशकको रुपमा काम गर्दै आउनुभएको छ । नेपालमा इन्ड्राइभको अवस्था कस्तो छ ?

हाल नेपालमा इन्ड्राइभ सबैभन्दा ठूलो मोबिलिटी प्लेटफर्मको रूपमा रहेको छ । काठमाडौँमा निकै राम्रो तरिकाले इन्ड्राइभले काम गरिरहेको छ भने उपत्यका बाहिर पनि हामीले पोखरा र भरतपुरमा विस्तार गरिसकेका छौँ ।
हामीले गत वर्षको दोस्रो त्रैमासिकमा इन्ड्राइभलाई सार्वजनिक गरेका थियौँ । त्यो समयदेखि अहिलेसम्म कम्पनीले निकै सफलता हासिल गर्न सफल भइसकेको छ ।

हरेक दिन हाम्रो प्लेटफर्मममा हजारौँ राइडहरु भइरहेका छन् । यात्रुहरुको संख्या बढेसँगै चालकहरु पनि धेरै जना इन्ड्राइभमा जोडिनु भएको छ । यात्रुहरुबाट सकारात्मक प्रतिक्रिया पाइरहेका छौँ । नेपालमा इनड्राइभले एक किसिमको सफलता हासिल गरेको छ ।

अरू देशको तुलनामा नेपालको बजार सानो छ । यस्तो अवस्थामा इन्ड्राइभले किन आफ्नो लक्षित व्यवसायिक क्षेत्रको रूपमा नेपाललाई छान्यो ?

क्षेत्रफलका हिसाबले नेपाल सानो देश भए पनि करिब ३ करोड जनसंख्या भएको देश हो । ३ करोड भनेको सानो जनसंख्या होइन । त्यस कारण नेपाललाई सानो देश भनेर भन्न सकिदैन । हामीले जहिले पनि विकासोन्मुख बजारको खाजी गर्ने गर्दछौँ ।

यस्तो ठाउँमा उपभोक्ताहरुलाई सेवा चाहिएता पनि ठूला कम्पनी, मार्केट सानो छ भनेर आउन चाहँदैनन् । तर हामीले त्यस्तो कहिले सोच्दैनौँ । हामी नेपालमा आएर सेवा दिन थाल्यौँ । नेपालमा सम्भावना देखेरै हामी आएका हौं । कुनै प्रकारको कमिसनको पनि चालकहरुसँग माग गरेका छैनौँ ।

नेपाल सूचना प्रविधिको क्षेत्र तिव्र गतिमा बढिरहेको छ, जसकारण प्रयोगकर्ता पनि हरेक दिन नयाँ एप तथा प्रविधि प्रयोग गर्नलाई उत्सुक रहेका छन् । त्यस कारण इनड्राइभ पनि सफलतापूर्वक चलिरहेको छ । धेरै प्रयोगकर्ता हुनुहुन्छ, जसले हरेक दिन हरेक समय इनड्राइभकै प्रयोग गर्नुहुन्छ ।

चालक र यात्रुको संख्या पनि द्रुत गतिमा बढ्दो छ । हामी कृतज्ञ छौँ । यही कारणले पनि नेपालको बजारलाई मोबिलिटी प्लेटफर्मका लागि सानो क्षेत्र भन्न सकिदैन् ।

नेपालमा इनड्राइभ कानूनी रुपमा दर्ता भएको छ ?

यो सधैँभर आइरहेको प्रश्न हो । विश्वको जुन क्षेत्रमा काम गरे पनि कानूनी रुपमै सञ्चालित हुने हाम्रो उद्देश्य हुन्छ । नेपालमा इनड्राइभ सार्वजनिक हुने बित्तिकै दर्ताको प्रक्रिया सुरू गरेका थियौं । गत वर्ष नै निवेदन पनि पेश गरिसकेका छौं ।

आफ्नो तर्फबाट कानूनी मान्यता प्राप्त गर्नका लागि पूर्ण रुपले लागेका छौँ । त्यसपछि हामी नेपाली राइडरबाट कमिसन लिन्छौं र सरकारलाई पनि कर तिर्छौं । नेपालमा कानूनी रुपमा दर्ता हुनका लागि सरकारी सहयोग महत्वपूर्ण छ । यस वर्षको अन्त्यसम्ममा कानूनी दर्ता हुने आशा छ ।

नेपालमा इनड्राइभ सञ्चालन गर्दा कुनै किसिमको बाधा व्यहोर्नु भएको छ ?

नेपाली समाज राम्रो र खुल्ला विचार भएको महसुस गरेको छु । नेपाली जनताबाट हामीले कुनै किसिमको खराब प्रतिक्रिया वा व्यवहार महसुस गरेका छैनौँ । कहिलेकाँही प्रहरीबाट चालकहरुले समस्या भोग्नुपरेको छ ।

कम्पनी नेपालमा दर्ता नै भएको छैन्, कहाँ चलाउन पाइन्छ भनेर बेला बेलामा हाम्रा चालकहरु रोकिनु पनि भएको छ । तर चालकहरु हाम्रो प्रविधिमा एकदमै परिचित भइसकेका छन् । त्यसकारण उहाँहरु यो प्लेटफर्म छोडेर जान चाहनुहुन्न् । यसलाई राम्रो आम्दानीको स्रोत बनाइ सक्नुभएको छ ।

अहिलेसम्म हामीले धेरै ठूलो बाधा वा समस्या भोग्नु परेको छैन् तर हामी चाँडै हुन सकेनौँ भने पक्कै पनि विभिन्न मन्त्रालयहरुले प्रश्न चिह्न खडा गर्न सक्छन् । तपाईहरुले सुरुमा इनड्राइभ सार्वजनिक गर्दा ६ महिनासम्म कुनै प्रकारको कमिसन नलिने र त्यसपछि केही प्रतिशत लिने भन्नु भएको थियो ।

सुरू भएको ६ महिनाभन्दा धेरै भइसकेको छ । के इनड्राइभले चालकहरुसँग कमिसन लिन थालिसक्यो ?

हामीले अहिलेपनि चालकहरुसँग कुनै प्रकारको कमिसन लिएको छैन् । अहिलेसम्म सबै प्रयोगकर्ताका लागि हाम्रो प्लेटफर्म पूर्ण रुपले निःशुल्क रहेको छ । कमिसन बिना सञ्चालन गरेको पनि डेढ वर्षभन्दा बढि भइसकेको छ । दर्ता भएपछि सायद केही प्रतिशत कमिसन लिन सुरू गर्नेछौँ, जुन १० प्रतिशत भन्दा बढी हुने छैन् ।

दर्ता भएपछि स्थानीय सरकारलाई कर तिर्नुपर्ने हुँदा करका लागि र एपलाई थप राम्रो बनाउँदै लैजान न्यूनतम कमिशन लिनेछौँ । कमिसन कम हुने भएकाले उपभोक्तालाई अप्ठ्यारो हुने छैन । प्रतिस्पर्धी राइड सेयरिंग प्लेटफर्मको तुलनामा कमिसन कम हुनेछ ।

नेपालको राइड सेयरिङ टेन्ड्र अरु देशको तुलनामा कसरी भिन्न छ ?

नेपालको सबैभन्दा ठूलो भिन्नता भनेको नगदमा आधारित कारोबार धेरै हुने गरेको छ । अरू एशियाली मुलुकहरुमा धेरै जसो ई-वालेट वा कार्डको मार्फतबाट भुक्तानी हुने गर्दछ । तर नेपालमा यात्रुहरु नगदमै भुक्तानी गर्न रूचाउँछन् । यसका लागि हामी स्थानीय अनलाइन भुक्तानी प्रणालीहरुसँग पनि सकार्यका लागि छलफल गर्ने क्रममा रहेका छौँ । नेपालमा राइडका लागि विद्युतीय गाडीको प्रयोग पनि एकदमै कम रहेको छ ।

यसका लागि सरकारी तर्फबाट पनि काम हुनु महत्वपूर्ण छ किनभने विद्युतीय सवारीसाधनको बिक्री मात्रै नभएर त्यसका लागि चाहिने पूर्वाधारको विकास जस्तै चार्जिंग स्टेसनहरुको निर्माण गर्नुपनि एकदमै महत्वपूर्ण हुन्छ । यसले प्रदूषण नियन्त्रणमा पनि धेरै भूमिका निर्वाह गर्नेछ ।

पेट्रोलभन्दा विद्युत सस्तो हुने हुँदा पनि यो एक किफायति विकल्पको रूपमा हुन सक्छ । काठमाडौंमा ट्राफिक जाम एकदमै हुने हुँदा बाइक राइड सेयरिंग सबैभन्दा बढि प्रयोग भइरहेको छ । अरू देशहरुमा क्याब सेयरिंग बढी हुन्छ तर नेपालमा बाइकको प्रयोग एकदमै धेरै छ । सरकारले बाटोको निर्माणमा पनि राम्रो ध्यान पुर्याएमा एउटा शहरलाई अर्को शहरसँग जोड्नलाई पनि सहज हुने थियो ।

दिनहुँ इनड्राइभबाट करिब कति राईड हुने गर्दछन् ?

राइडको संख्या विभिन्न कारणले प्रभावित हुन सक्छ । मौसम, ट्राफिक र चाडपर्वले राइडको संख्यामामाथि तल ल्याइरहन्छ तर पनि काठमाडौँमा मात्रै प्रति दिन ५० हजार राइडहरु हुने गर्दछन् । विश्वव्यापी रुपमा हाम्रो प्लेटफर्मबाट दैनिक ४० लाख बढि राइडहरु हुने गरेका छन् । एउटै प्लेटफर्मबाट यति धेरै राइड हुनु आफैमा धेरै ठूलो कुरा हो ।

हाल नेपालमा इनड्राइभ लोकप्रिय राइड शेयरिङ प्लेटफर्मको रूपमा उदाएको छ । बजारमा अन्य राइड शेयरिङ प्लेटफर्म पनि छन् । तपाईहरू प्रतिस्पर्धालाई कसरी हेर्नुहुन्छ ?

विश्वव्यापी बजारकै कुरा गर्नुपर्दा भारत जस्तो देशमा हरेक हप्ता नै नयाँ राइड सेयरिंग प्लेटफर्म आइरहेका हुन्छन् । तर हामी अरू राइड सेयरिंग भन्दा फरक कसरी हुन सक्यौँ भने हाम्रो व्यवसायिक मोडेल नै अरुको भन्दा भिन्न छ । हामी चालक र यात्रु बिचको प्रविधिको रुपमा मात्रै काम गर्छौँ, जसकारण यात्रु र चालकले आफै वार्ता गरेर निश्चित मूल्य तोक्न सक्छन् ।

दुई पक्षलाई बार्गेन गर्ने उपकरण प्रदान गछौँ । यसले नेपालका अरु राइड सेयरिंग प्लेटफर्म भन्दा भिन्न बनाएको छ । प्रतिस्पर्धा जहिले राम्रो नै हुन्छ किनभने यसले हामीलाई पनि थप विकसित र परिमार्जित हुन सहयोग गर्दछ । प्रतिस्पर्धँलाई सकारात्मक रुपमा लिएर लामो समय उपभोक्तालाई सेवा दिने लक्ष्य लिएका छौँ ।