कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप

यस्ता छन् आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप

आइसिटी अवार्ड २०२३ का उत्कृष्ट १२ स्टार्टअप छनोट भएका छन् । प्राप्त आवेदन मध्येबाट अवार्डको जुरी समिति र सल्लाहकार समितिको विभिन्न चरणको बैठक पश्चात उत्कृष्ट १२ स्टार्टअप छनोट गरिएको हो ।

स्टार्टअप आइसिटी अवार्ड आईटी प्रडक्ट, सर्भिसेस तथा इन्नोभेसनको क्षेत्रमा काम गरिरहेका स्टार्टअप कम्पनीलाई प्रोत्साहन र प्रवर्द्धन गर्न प्रदान गरिन्छ ।

यस विधामा विगत ४ वर्षको अवधिमा दर्ता भएका कम्पनीहरूले आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । यस्ता छन् आइसिटी अवार्ड २०२२ का उत्कृष्ट स्टार्टअप

एरिया टेक्नोलोजी

एरिया टेक्नोलोजी प्रालि डिजिटल सेवा प्रदान गर्ने स्टार्टअप कम्पनी हो । कम्पनीले वेबसाइट डेभलपमेन्ट, मोबाइल एप डेभलपमेन्ट, एडटेक सोलुसन, आईटी कन्सल्टीङ, एण्ड प्रोजेक्ट प्लानिङ र फिनटेक सोलुसन प्रदान गर्दै आएको छ । एरिया टेक्नोलोजीले सम्पत्ति, क्युबेक्स, लालिगुराँस, मिजानी र मुंशीजी प्रडक्ट समेत तयार पारेको छ ।

भोजमाण्डु

भोजमाण्डु फुड प्रालि अनलाइन फुड डेलिभरी तथा क्लाउड किचेन स्टार्टअप कम्पनी हो । काठमाडौं उपत्यकाबाट सुरू भएको भोजमाण्डु विरगंजमा समेत विस्तार भएको छ । अन्य ठाउँमा समेत विस्तार गर्ने कम्पनीको योजना छ ।  भोजमाण्डुले राती ११ बजेदेखि बिहान ३ बजेसम्म पनि आफ्नो सेवा दिदै आएको छ । भोजमाण्डुले रातमा ३० देखि ४५ मिनेट र दिनमा सकेसम्म १ घण्टामा अर्डर डेलिभरी गर्दै आएको छ ।

दियो एआई टेक्नोलोजी

दियो एआई टेक्नोलोजी प्रालिले एआई प्रविधिमा काम गर्ने कम्पनी हो । दियो एआईले विशेष गरी अहिले एआई प्रविधिमा आधारित च्याटबटमा काम गरिरहेको छ । कम्पनीले मल्टी ल्याङ्वेज सपोर्ट, अटोमेट रेस्पोन्स, ओम्नी च्यानल इन्टिग्रेसन र सञ्चालनलाई प्रभावकारी बनाउने सुविधासहितको च्याटबट बनाउँदै आएको छ ।

दियो एआईले तयार पारेका च्याटबट विभिन्न सरकारी निकायदेखि निजी संस्थाहरूले समेत प्रयोग गरिरहेका छन् । दियो एआईले स्थानीय तहका लागि मुना च्याटबट बनाएको छ भने मनोरञ्जन, क्विज, जोक, राशिफल लगायतका लागि गोलु च्याटबट तयार पारेको छ । यस बाहेक कम्पनीले व्यवसायहरूको आवश्यकता अनुसार च्याटबट निर्माण समेत गर्दै आएको छ ।

ह्याप्पी माइन्ड्स

ह्याप्पी माइन्ड्स अनलाइनबाटै मानसिक स्वास्थ्य सम्बन्धि परामर्श दिने कम्पनी हो । ह्याप्पी माइन्ड्सले परामर्शका साथसाथै जनचेतना र मानसिक स्वास्थ्य पढेका प्रोफेसनहरूलाई जोड्ने काम समेत गर्दै आएको छ ।

कम्पनीले मानसिक स्वास्थ्य सम्बन्धि व्यक्तिगत परामर्श, ग्रुप परामर्श र विभिन्न कम्पनीका कर्मचारीलाई सहायता सेवा पनि दिइरहेको छ ।

लेन्समी अप

लेन्समी अप नेपालको पहिलो वर्कस्पेश प्लेटफर्म हो । कोरोना महामारीमा सुरू भएको लेन्समी अपमा च्याट ड्राइभ, प्रोजेक्ट म्यानेजमेन्ट टूल, डिभाइस ट्रयाकिङ्ग, सेटिङ्ग, ट्रयाकिङ, भिडियो कन्फेरेन्सिङ्ग, रियल टाइम च्याट, स्मार्ट अलर्ट, एक्सेस कन्ट्रोल जस्ता विभिन्न फिचरहरू छन् । लेन्समी अप निःशुल्क र सःशुल्क प्रयोग गर्न सकिन्छ । निःशुल्क प्रयोग गर्नेले भने फिचरमा केही सिमितता पाउनेछन् ।

नेपाट्रोनिक्स

नेपाट्रोनिक्स इन्जिनियरिङ आईओटी र अटोमेसनको क्षेत्रमा काम गरिरहेको कम्पनी हो । यसले हार्डवेयर र सफ्टवेयर डेभलपमेन्टको सेवा प्रदान गर्दै आएको छ । नेपाट्रोनिक्सले स्यानिटरी प्याड भेन्डिङ मेसिन, गोल्ड डिस्प्ले बोर्ड, वाटर ट्यांक कन्ट्रोलर लगायतका प्रडक्ट बिक्री वितरण गरिरहेको छ ।

कम्पनीले रोबोटिक्स र आईओटीको तालिम दिनेदेखि आईटी तथा इन्जिनियरिङ कलेजमा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक ल्याब सेटअप पनि गर्दछ । यस बाहेक विद्यार्थीको परियोजना सघाउने र डिजिटल मार्केटिङ सेवा समेत दिने गरेको छ ।

क्विकफक्स कन्सल्टिङ

अटोमेसनको क्षेत्रमा काम गर्दै आएको कम्पनी हो, क्विकफक्स कन्सल्टिङ । पटक पटक दोहोरिने कामलाई क्विकफ्कसले प्रविधिको प्रयोग गरेर अटोमेट गरिरहेको छ । त्यसले दक्षता, शुद्दतामा सुधार गर्ने सञ्चालन खर्च समेत घटाउने कम्पनीको भनाइ छ ।

क्विकफक्सले अब नेपालमा मात्र नभएर विदेशमा समेत सेवा प्रदान गर्ने योजना बनाएको छ । अहिलेसम्म कम्पनीले ५० बढी प्रक्रियालाई अटोमेट गरिसकेको छ भने ४ बढी उद्योगमा काम गरिसकेको छ ।

रासन टेक्नोलोजीज

रासन टेक्नोलोजिज प्रालि व्यवसाय देखि व्यवसाय (बिटुबी) सप्लाइ चेन व्यवस्थापन गर्ने कम्पनी हो । स्थापना एक वर्षको रासन ४ हजार रिटेल शपमा पुगिसकेको छ । रासनको मोबाइल एप र वेबसाइटबाट व्यवसायीहरूले एफएमसीजी र ग्रोसरी सामानहरू अर्डर गर्न सक्छन् । त्यसपछि व्यवसायीको पसलसम्मै उक्त सामान पुग्ने छ । रासन टेक्नोलोजिज पब्लिक कम्पनीमा रूपान्तरण हुने योजना बनाएको छ ।

स्टेलर कम्प्युटर सिस्टम

स्टेलर कम्प्युटर सिस्टम प्रालि साइबर सुरक्षाको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी हो । नेपालका इन्टरप्राइज र प्रयोगकर्ताको साइबर सुरक्षा अभिवृद्धि गर्ने कम्पनीको उद्देश्य छ । स्टेलर कम्प्युटर सिस्टमले साइबर सुरक्षासँग सम्बन्धित सेवाहरू प्रदान गर्दै आएको छ ।

टास्क सेवा

टास्क सेवा अनलाइन मार्केटप्लेस हो, जसले फ्रिल्यान्सर र व्यवसायीलाई जोड्ने काम गर्दछ । प्रयोगकर्ताले टास्क सेवामा राखिएको कुनै टास्क पुरा गरेर पैसा समेत कमाउन सक्छन् । फ्लो गरेर, लाइक गरेर, कमेन्ट गरेर, भिडियो हेरेर, एप इन्स्टल गरेर, वेबसाइट साइन अप गरेर लगायतका काम गरेर पैसा कमाउन सकिन्छ । कमाएको पैसा अनलाइनबाटै पाउन सकिने छ ।

इन्ट्रोनेप

इन्ट्रोनेप मानसिक स्वास्थ्य सम्बन्धि सेवा प्रदान गर्ने कम्पनी हो । इन्ट्रोनेपले एआई प्रविधिमा आधारित इन्ट्रोबट समेत बनाएको छ, जसले २४ सैं घण्टा मानसिक स्वास्थ्य सम्बन्धि सोधिएका प्रश्नको जवाफ दिन सक्छ । यसले अनलाइन थेरापी, काउन्सिलिङ, कम्युनिटी, कोर्स लगायतका अन्य मानसिक स्वास्थ्य सम्बन्धि रिसोर्स समेत प्रदान गर्नेछ ।

यार्सा टेक

यार्सा टेक कन्जुमर इलेक्ट्रोनिक प्रडक्ट बनाउने कम्पनी हो । पोखरामा प्रधान कार्यालय रहेको यार्सा टेकले अहिलेसम्म निजी पावर, अडिक्युआर, जुनकिरी, अटोमेटिक वाटर लेभल कन्ट्रोलर र अडिक्युआर प्रडक्ट बनाएको छ । नेपालको माटो सुहाउँदै नेपालीलाई आवश्यक पर्ने प्रडक्ट बनाइरहेको कम्पनीको दावी छ ।