कीवर्डहरू -

सागीया एनभिडिया इन्सेप्सन कार्यक्रममा आबद्ध, नेपालमै एआई अनुसन्धान र पूर्वाधार निर्माणलाई तीव्रता दिन सहयोग पुग्ने

सागीया एनभिडिया इन्सेप्सन कार्यक्रममा आबद्ध, नेपालमै एआई अनुसन्धान र पूर्वाधार निर्माणलाई तीव्रता दिन सहयोग पुग्ने

काठमाडौं । नेपाली प्रविधि कम्पनी सागीया एनभिडियाको स्टार्टअप सहयोग कार्यक्रम ‘एनभिडिया इन्सेप्सन’मा आबद्ध भएको छ । कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नवीन अनुसन्धान, आफ्नै प्रविधिमा आधारित मोडेल विकास तथा पूर्वाधार निर्माण गरिरहेको सागीयाले यस कार्यक्रममार्फत अनुसन्धान र विकासका लागि थप प्राविधिक स्रोत, उपकरण तथा विश्वव्यापी सञ्जालमा पहुँच प्राप्त गर्ने जनाएको छ ।

एनभिडिया इन्सेप्सन एआई तथा अन्य उन्नत प्रविधिमा काम गरिरहेका स्टार्टअपलाई सहयोग गर्ने एनभिडियाको कार्यक्रम हो । यसले आबद्ध कम्पनीलाई प्राविधिक स्रोत, तालिम, एनभिडियाका हार्डवेयर तथा सफ्टवेयरमा विशेष मूल्य सुविधा र विश्वभरका प्रविधि कम्पनी, विकासकर्ता तथा लगानीकर्तासँग जोडिने अवसर प्रदान गर्छ ।

सागीयाका अनुसार एआई प्रविधि अहिले देश, कम्पनी तथा विभिन्न संस्थाका लागि महत्वपूर्ण पूर्वाधार बन्दै गएको छ । यस्तो प्रविधिमा निर्भर रहने संस्थाहरूले आफूले प्रयोग गर्ने मोडेल बुझ्न, प्रणालीमाथि नियन्त्रण राख्न र भरपर्दो पूर्वाधार निर्माण गर्न सक्ने क्षमता आवश्यक हुन्छ । त्यसका लागि अरूले विकास गरेका प्रविधिमा मात्र निर्भर नभई आफ्नै आवश्यकताअनुसार एआई मोडेलको अनुसन्धान, प्रशिक्षण र प्रयोग गर्न सक्ने क्षमता विकास गर्नुपर्ने कम्पनीको भनाइ छ ।

सागीयाले यही आवश्यकतालाई ध्यानमा राख्दै स्वायत्त एआईको क्षेत्रमा काम गरिरहेको जनाएको छ । कम्पनीले आफ्नै अनुसन्धान, स्वामित्वमा रहेका एआई मोडेल र पूर्वाधार विकासमार्फत जटिल समस्याको समाधान गर्ने लक्ष्य राखेको छ ।

एनभिडिया इन्सेप्सनमा आबद्धताले कम्पनीको अनुसन्धान तथा विकास प्रक्रियालाई थप प्रभावकारी बनाउने सागीयाको विश्वास छ । विशेष गरी एनभिडियाको द्रुत कम्प्युटिङ प्लेटफर्ममा आफ्ना मोडेल तथा प्रणाली विकास, परीक्षण र सुधार गर्न अनुसन्धानकर्ता तथा इन्जिनियरलाई थप सहज हुने कम्पनीले जनाएको छ । यसका साथै एनभिडिया डीप लर्निङ इन्स्टिच्युटमार्फत प्राविधिक तालिम र इन्जिनियरिङसम्बन्धी मार्गदर्शन प्राप्त गर्न सकिनेछ ।

सागीयाका सहसंस्थापक बासब झाका अनुसार यो आबद्धताले कम्पनीको अनुसन्धान, पूर्वाधार विकास र अन्तर्राष्ट्रिय विस्तारलाई गति दिनेछ ।

“एनभिडिया इन्सेप्सनले हामीलाई विश्वव्यापी प्रविधि सञ्जाल, आवश्यक स्रोत साधन र प्राविधिक सहयोगमा पहुँच प्रदान गर्छ, जसले हाम्रो कामलाई अझ तीव्र बनाउनेछ । सागीयाका लागि यसको अर्थ अनुसन्धानलाई गति दिनु, अझ बलियो एआई पूर्वाधार निर्माण गर्नु र नेपालमा विकास भइरहेका प्रविधिलाई विश्वमञ्चमा पुर्‍याउनु हो,” झाले भने ।

‘हिमालयबाट अत्याधुनिक एआई’ निर्माण गर्ने लक्ष्यसहित अघि बढिरहेको सागीयाले वास्तविक परिस्थितिमा देखिने जटिल समस्यालाई सम्बोधन गर्न सक्ने प्रणाली विकासमा जोड दिँदै आएको जनाएको छ ।

कम्पनीका अनुसार एनभिडिया इन्सेप्सनमा आबद्धताले मुख्यतः तीन क्षेत्रमा सहयोग पुर्‍याउनेछ । यसअन्तर्गत एनभिडियाको द्रुत कम्प्युटिङ प्लेटफर्ममा अनुसन्धान तथा विकास, टोलीका लागि प्राविधिक तालिम र इन्जिनियरिङ मार्गदर्शन तथा विश्वव्यापी एआई कम्पनी र साझेदारहरूको सञ्जालसँग जोडिने अवसर रहेका छन् ।

यस सहकार्यले नेपालमै विकास भइरहेका एआई प्रविधि, अनुसन्धान र पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न थप आधार तयार गर्ने सागीयाको अपेक्षा छ ।