कीवर्डहरू -

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

नेपालमै पहिलो पटक ʻडाटा सेन्टर समिटʼ सम्पन्न

काठमाडौं । नेपालमै पहिलो पटक आयोजना गरिएको डाटा सेन्टर समिट सफलतापूर्वक सम्पन्न भएको छ । डाटा सेन्टर सोलुसन्सको क्षेत्रमा विश्वविख्यात कम्पनीहरुबाट आएका विषयविज्ञहरुले डाटा सेन्टरको परिचय, महत्व, पछिल्ला टेक्नोलोजी, बिजनेशमा यसको प्रयोग, सुरक्षा आदि विषयमा आफ्नो अनुसन्धान पत्र पेश गरेका थिए ।

समिटको उद्घाटन गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले सरकार डाटा सुरक्षाको सन्दर्भमा गम्भीर रहेको भनाइ राखे । हरेक क्षेत्रमा सूचना प्रविधिको आवश्यकता बढिरहेको बताउँदै मन्त्री बास्कोटाले डाटाको संकलन, प्रशोधन, भण्डारण, यसको सुरक्षाका विषयहरु अहिलेको सबैभन्दा संवेदनशील विषय रहेको बताए । ʻनेपाल सरकारले डिजिटल नेपालको अवधारणा अघि सारेको छ । हामी निजी क्षेत्रसँग (स्वदेशी होस् या विदेशी) मिलेर नेपाललाई छिटोभन्दा छिटो विकसित र प्रविधियुक्त राष्ट्रको रुपमा अगाडि बढाउन चाहन्छौं,ʼ उनले भने ।

\"Image

सरकारको अहिले सिंहदरबारमा रहेकाे डाटा सेन्टरकाे सामर्थ्य बढाउनुपर्ने आवश्यकता पनि रहेको उनले बताए । हेटौंडामा डिस्टार रिकभरी सेन्टेर स्थापना भइसकेको जानकारी दिदै उनले अर्को वर्ष इटहरी र नेपालगञ्जमा सरकारी स्तरबाट डाटा सेन्टर स्थापना गर्ने तयारी भइरहेको बताए ।

ʻहरेक उद्योगलाई डाटा सेन्टर आवश्यक छ । यसैले सरकारले यसको कानूनी प्रबन्धको व्यवस्था गर्न लागेको छ । अहिले डाटामाथिको हमला, सुरक्षामाथिको हमला, राष्ट्रियताको हमला, व्यक्तिको गोपनीयतामाथिको हमला बढिरहेकाले हामीले कानूनी पाइला पनि चालेका हौं,ʼ उनले भने, ʻकानूनमार्फत् यसको व्यवसायिक प्रयोगका लागि बाटो खुल्ला गर्ने, संवेदनशील विषयको सुरक्षा प्रबन्ध गर्ने गरी कानूनी व्यवस्था आवश्यक देखिएको छ ।ʼ

उनले पूर्वाधार मात्रै ब्यापक विस्तारमा मात्रै जोड नदिई यसबाट आउने चुनौतीलाई पनि नियन्त्रण गर्न सरकार गम्भीर रहेको बताए । ʻहामीले इमर्जेन्सी रेस्पोन्स टिम (आइटी सर्ट) स्थापना समेत गर्न लागेका छौं,ʼ उनले भने । १५औं पञ्चवर्षीय योजनामा सूचना प्रविधिका विषयलाई ब्यापक रुपमा समेटेको र त्यसमा डाटा सेन्टरको विषयलाई प्रमुखताका साथ व्यवस्था गरिएको पनि उनले जानकारी दिए ।

\"Image

समिटमा नेपालको डाटा सेन्टर उद्योगसम्बन्धी सेवाप्रदायक, सेवाग्राही, विश्वविद्यालयका प्राध्यापक, अनुसन्धाता, सूचना प्रविधि उद्योगी लगायतको उल्लेख्य सहभागिता रहेको थियो । समिटकै अवसरमा विभिन्न डाटा सेन्टर कम्पनीहरुले आफ्ना प्रडक्ट र सर्भिसको जानकारी दिन स्टल राखेका थिए ।

समिटमा नौटनिक्सका रिजनल सेल्स म्यानेजर गणेश लेर, डेल्टा इलेक्ट्रोनिक्स इण्डियाका बिजनेश हेड दीपकसिंह ठाकुर, हुवावे नेपाल टेक्नोलोजिजका गोङ, कास्परस्काईका सुदीप बस्नेत, इपिआई इण्डियाका सिद्धार्थ जैन, रोजेनबर्गर कुटुब उड्डिन डुर्लभ, जेनेस सफ्टवेयर सोलुसनका सचिन उदास, कमस्कोपका अमित चक्रवर्ती, नेटजुम टेक्नोलोजिज इंकका प्रियाकं बर्मालगायतले अनुसन्धान पत्र पेश गर्दै डाटा सेन्टर प्रडक्ट र सोलुसन्सको जानकारी गराएका थिए । उनीहरुले डाटा सेन्टरको ग्लोबल स्ट्यान्डर्ड, गाइडलाइन, बेस्ट प्राक्टिस आदिको बारेमा प्रस्तुति दिएका थिए ।

\"Image

समिटकाे सह-आयोजक नेपाल डाटा सेन्टर सोसाइटीका अध्यक्ष स्टार श्रेष्ठले पछिल्लो समय डाटा सेन्टर सोलुसन्स र प्रडक्टको माग अत्याधिक बढिरहेको सन्दर्भमा यस उद्योगमा रहेका अवसर र सम्भावना समिटमा छलफल भएको बताउँदै आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले नेपाली डाटा सेन्टर उद्योगलाई विश्वस्तरीय मापदण्डअनूरुप अगाडि बढाउन यो कार्यक्रमले सहयोग गर्ने आफूहरुको अपेक्षा रहेको बताए ।

अर्काे सहआयोजक एनपी सर्टका अध्यक्ष चिरञ्जिवी अधिकारीले नेपालको डाटा नेपालमै रहनुपर्ने कानून आउन लागेको सन्दर्भमा ग्लोबल प्राक्टिस र नेपालको डाटा सेन्टर उद्योगमा रहेका अवसर र चुनौतीलाई यो कार्यक्रमले सम्बोधन गर्ने प्रयास रहेको बताए ।

समिटकै दौरान राष्ट्रिय तथा अन्तर्रा्िष्ट्रय ओइएम पार्टनर तथा सेवा प्रदायकले आफ्ना डाटा सेन्टर सोलुसन्स र प्रडक्टसहित सहभागिता जनाएका थिए हस्पिटालिटी, बैकिङ तथा वित्तीय संस्था, सरकारी संस्था, कर्पोरेट क्षेत्र, एनजिओ र आइएनजिओ लगायतबाट प्रतिनिधिहरुले अवलोकन गरेका थिए ।
\"Image