कीवर्डहरू -

यस्ता छन् आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ११ स्टार्टअप 

यस्ता छन् आइसिटी अवार्ड २०१९ का उत्कृष्ट ११ स्टार्टअप 

काठमाडौं । लिभिङ विथ आइसिटीको आयोजनामा साउन ३२ मा हुन लागेको चौथो संस्करणको ‘आइसिटी अवार्ड २०१९’ अन्तर्गत ९ विधामध्ये ३ विधाका शीर्ष ११ को घोषणा गरिएको छ । यी तीन विधाअन्तर्गत स्टार्टअप आइसिटी अवार्ड, प्रडक्ट आइसिटी अवार्ड र राइजिङ स्टुडेन्ट आइसिटी अवार्डका उत्कृष्ट ११ प्रतिष्पर्धीको नाम सार्वजनिक गरिएको छ । यो लेखमा उत्कृष्ट ११ मा पर्न सफल स्टार्टअप कम्पनीबारे चर्चा गरिएको छ :

उत्कृष्ट ११ स्टार्टअप
सूचना प्रविधि क्षेत्रका स्टार्टअप कम्पनीहरुले सहभागिता जनाउने विधा हो, स्टार्टअप आइसिटी अवार्ड । यसअन्तर्गत शीर्ष ११ मा सफल स्टार्टअप कम्पनीमा एडमाना टेक्नोलोजी, सिनिकल टेक्नोलोजी प्रालि, ई–डिजिटल नेपाल प्रालि, हाम्रो टेक्नोलोजी प्रालि, खाली सिसी प्रालि, किताब यात्रा प्रालि, यति बुक्स स्टोर, टायर ट्रेजर्स, युजी केक्स प्रालि, उनेल्मा प्लाटफर्म र वाकम्यान -ग्रिन क्वेन्स रहेका छन् ।

१. एडमाना टेक्नोलोजी
एडमाना टेक्नोलोजी डिजिटल विज्ञापनको एक प्लाटफर्म हो । २०१८ को अक्टुबरदेखि सञ्चालनमा आएको एडमानाले विज्ञापनदाता र सूचनामूलक वेबसाइट दुवैलाई लाभ पुर्याउने गरी काम गरिरहेको छ । यसको प्लाटफर्मको सहयोग लिई जो कसैले आफ्नो ब्लग, एप्स, समाचार साइट लगायतबाट आम्दानी गर्न सक्छन् । त्यसैगरी विज्ञापनदाताले आफ्नो बजेट र डेटा एनालाइटिक्स अनुसार धेरै ठाउँमा विज्ञापन गर्ने अवसर पाउँछन् र आफ्नो प्रडक्टको बजारिकरण सरल र प्रविधियुक्त रुपले गर्न पाउँछन् । स्थापनाको छोटो अवधिमै २०० भन्दा बढी पब्लिसरले एडमानामा साइनअप गरेका छन् । विज्ञापन डिस्प्ले भएका ७० भन्दा बढी लाइभ साइट रहेका छन् । पब्लिसर (एप, वेबसाइट आदि) र विज्ञापनदाता दुवैले लाभ लिने वेब एप्लिकेशनको रुपमा चर्चा कमाएको यो स्टार्टअप २०१९ को स्टार्टअप आइसिटी अवार्डको उत्कृष्ट ११ मा पर्न सफल भएको छ । पब्लिसरले सजिलै अनलाइन एकाउन्ट खोलेर कोड लिएपछि विज्ञापनबाट पैसा कमाउन थाल्छन् भने विज्ञापनदाताले अनलाइन एनलाइटिक्स सहित देशैभरी विज्ञापन गर्न पाउँछन् । विज्ञापन गर्ने पुरानो विधि र प्रक्रियालाई परिवर्तन गर्न चाहेको एडमानाले विज्ञापन उद्योगमा प्रत्यक्ष योगदान दिने उद्धेश्यसहित काम गरिरहेको छ ।

२. सिनिकल टेक्नोलोजी प्रालि
आइसिटी स्टार्टअप अवार्ड विधामा यस वर्ष उत्कृष्ट ११ मा छानिएको अर्काे स्टार्टअप हो, सिनिकल टेक्नोलोजी प्रालि । यो साइबर सेक्युरिटी स्टार्टअप कम्पनी हो, जसले एप्लिकेशन पेनिट्रेशन, नेटवर्क पेनिट्रेशन, सेक्युरिटी अडिटिङ, कम्प्लायन्स आदिको क्षेत्रमा काम गर्दै साइबर सेक्युरिटीसम्बन्धी विभिन्न सेवा प्रदान गर्दै आएको छ । वेब र मोबाइल स्पेस सेक्युरिटीलाई मुख्य कार्यक्षेत्र बनाउँदै आएको यो कम्पनी २०१७ को अक्टुबरमा स्थापना भएको हो । सिनिकल टेक्नोलोजीले देशका विभिन्न बिजनेश, सरकारी तथा गैरसरकारी संस्थाहरुका लागि डिजिटल रिस्क एडभाइजरको रुपमा काम गर्ने गरेको छ । आफ्नो ब्राण्ड, बिजनेश र प्रतिष्ठाको सुरक्षाका लागि पनि अहिले साइबर सुरक्षामा बढी ध्यान दिनुपर्ने अवस्था छ । कम्पनीले Application VAPT, Network VAPT, Risk Assessment, Incident Response, Training and Consulting, CMS Security लगायतमा काम गरिरहेको छ । कम्पनीले नेपालका केही ठूला कम्पनी र सरकारी निकायका लागि सेवा प्रदान गरिसकेको छ ।

३. ई–डिजिटल नेपाल प्रालि
उत्कृष्ट ११ मा पर्न सफल अर्को स्टार्टअप हो, ई-डिजिटल नेपाल प्रालि । नेपालको शिक्षण संस्थामा देखिएको परम्परागत सूचना व्यवस्थापन प्रणालीलाई कम गरी डिजिटल सूचना व्यवस्थापन प्रणाली सुरु गर्ने अभियानमा यो कम्पनी रहेको छ । २०७५ को वैशाखमा स्थापना भएको कम्पनीले छोटो समयमै ४०० भन्दा बढी स्कुललाई यसको स्टुडेन्ट म्यानेजमेन्ट सिस्टम सफ्टवेयरबाट सफलताका साथ डिजिटाइज गरिसकेको छ । यो स्टार्टअपको हेड अफिस काठमाडौंमा छ र प्रदेश १ को इटहरीमा शाखा पनि खोलेको छ । प्रदेश १, २, ३, ६ र ७ गरी नेपालका ३० जिल्लामा यसले आफ्नो ग्राहक विस्तार गरिरहेको छ । यो कम्पनी नेपालको शिक्षा पद्धतिलाई परिवर्तन गर्दै शिक्षक, अभिभावक, विद्यार्थी, विद्यालय र सरकार सबैका लागि साझा प्लाटफर्म बन्न खोजिरहेको छ । यसले ग्राहक विस्तार गरिसकेको छ ।  इन्नोभेटिभ सोलुसन्सका लागि आइटी क्षेत्रमा ५ वर्षयता काम गरिरहेको टिमले यो स्टार्टअप हाँकिरहेको छ ।

४. हाम्रो टेक्नोलोजी प्रालि
जुलाई २०१६ मा स्थापना भएको हाम्रो टेक्नोलोजी प्रालि फिनटेक कम्पनीको रुपमा चिनिन्छ । यो कम्पनीले सफ्टवेयर सोलुसन्स, मोबाइल कन्सल्टिङ, डेभलपमेन्ट सर्भिस लगायतका सेवा क्लाइन्टलाई प्रदान गर्दै आइरहेको छ । क्वालिटी इन्टरप्राइज एप्लिकेशन सफ्टवेयर प्रडक्ट प्रदान गर्ने योजना अघि सारेको कम्पनीले बैंक तथा वित्तीय संस्थाहरु लगायत सबै प्रकारका इन्टरप्राइजहरुलाई सेवा दिने योजना ल्याएको छ । कम्पनीको स्थापना २०१६ को जुलाईमा भएको हो । हालसम्म १० बैंक र २ सयभन्दा बढी सहकारीका हाम्रो टेक्नोलोजी प्रालिको प्रडक्ट प्रयोग भइरहेको छ । कम्पनीले mBank, ParewaSMS, iBank, eTabBank, KhanepaniCollectorApp लगायतका प्रडक्ट ल्याएको छ । समृद्ध समाजका लागि प्रविधिलाई माध्यम बनाई देशमै उदाहरणीय काम गरिरहेको यो कम्पनी पनि उत्कृष्ट ११ स्टार्टअपभित्र पर्न सफल भएको छ ।

५. खाली सिसी म्यानेजमेन्ट प्रालि
\"No वातावरण र फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको स्टार्टअप हो, खाली सिसी म्यानेजमेन्ट प्रालि । यसको डिजिटल प्लाटफर्मले पुनःप्रयोग गर्न सकिने फोहोरलाई ल्याण्डफिल साइटमा पुग्न दिदैन । यसका लागि वेब बेस्ड प्लाटफर्म तयार पारिएको छ जसले फोहोर बेच्ने र फोहोर किन्ने मानिसलाई जोड्छ । २०१७ को जुनमा स्थापना भएको कम्पनीले हाल दुतुवास, सरकारी संस्था, स्कुल, एनजिओ आइएनजिओ, रेस्टुरेन्ट, घर, हस्पिटल आदि खालि सिसीका कार्यक्षेत्र वा कस्टमर हुन् । प्रत्येक घरबाट निस्कने ६० देखि ७० प्रतिशत फोहोर पुनः प्रयोग गर्न मिल्ने किसिमको हुन्छ । खाली सिसीले फोहरलाई बोत्तल, कागज, प्लास्टिक लगायतका वर्गमा विभाजन गरेर बिक्री केन्द्रमा पठाउने गर्छ । विभिन्न स्थानमा गई फोहोर उठाउने खालिसिसी साथीमार्फत् यो कम्पनीले काम गरिरहेको छ । हाल ३ सयभन्दा बढी खालिसिसी साथीको नेटटवर्क रहेको छ । यो स्टार्टअपले मानिसलाई फोहोरको पुर्नप्रयोग गर्न पनि हौसला दिएको छ । हाल देशका धेरै ठाउँहरुमा खालि सिसी साथीहरु (फोहोर क्रेता) पुगेका छन् ।

६. किताब यात्रा प्रालि
\"Image २०१७ को डिसेम्बरमा स्थापना भएको किताब यात्रा प्रालि बुक सेलर स्टार्टअप हो । यसले निर्माण गरेको प्लाटफर्मबाट पाठकले घरमै बसीबसी आफूले चाहेका किताब अर्डर गरी पढ्न पाउँछन् । नेपालमा मात्रै होइन विदेशमा प्रकाशित भएका पुस्तकहरु यो कम्पनीले ल्याएर पाठकको घरघरसम्म पुर्याउने गर्दछ । किताब यात्राको सोसल मिडिया, वेबसाइट, फोन आदिबाट अर्डर गर्न सकिन्छ । हालसम्म किताबयात्राले ११ हजारभन्दा बढीलाई सेवा प्रदान गरिसकेको छ । किताब यात्राले विभिन्न भाषाका विभिन्न विधाका किताबहरु आफ्नो प्लाटफर्ममा राखेको छ र ग्राहकले आफ्नो रोजाइअनूकुलका पुस्तक किन्न पाउँछन् । साथै कम्पनीले विभिन्न क्याफे, सिए फर्म, ल फर्म, मिडिया हाउस, स्कुल, ई कमर्स बिजनेश हाउस आदिका लागि २५ भन्दा बढी लाइब्रेरी स्थापना समेत गरेको छ । किताब यात्रा प्रालि पनि स्टार्टअप आइसिटी अवार्ड २०१९ को उत्कृष्टमा छानिन सफल भएको छ ।

७. यति बुक्स स्टोर
यति बुक्स स्टोर पोखरामा रहेर उदाहरणीय काम गरिरहेको स्टार्टअप हो । यसले सुरु गरेको पुरानो बुक्सले छोटो समयमै चर्चा बटुल्न सफल भएको छ जसको काम भनेको पुराना पुस्तक किन्ने र बिक्री गर्ने दुवैलाई लाभ पुर्याउनु हो । प्रयोग भइसकेका वा पढिसकेका किताबहरुलाई धेरैले महत्व दिदैनन् । पुराना किताबहरु कबाडीवालालाई दिने चलन पनि छ । तर यो स्टार्टअपले पुराना पुस्तक बिक्री गरेर आर्थिक लाभ लिन सकिन्छ भन्ने आधार प्रस्तुत गरिदिएको छ । पुरानो बुक्सले नेपालमा पुस्तक बजारलाई नयाँ हिसाबले प्रवद्र्धन गर्न खोजिरहेको छ । हालसम्म सयभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिसकेको यो स्टार्टअपको मुख्य ग्राहकमा क्याफेहरु रहेका छन् । नेपालमा पठन संस्कृतिको विकास गर्न लागिपरेको छ यो कम्पनी । आगामी ५ वर्षभित्र प्रयोग भएका पुराना किताबहरुको किनबेच गर्ने उत्कृष्ट प्लाटफर्म बनाउने सहित काम गरिरहेको यति बुक्स स्टोरले देशभैरी आफ्ना ग्राहक विस्तार गर्न विभिन्न ठाउँमा कम्पनीको शाखा कार्यालय पनि विस्तार गर्ने योजना ल्याएको छ ।

८. टायर ट्रेजर्स
वातावरण प्रदूषण रोकथाम र उद्यमशीलताको विकास गर्ने उद्देश्यसहित नेपाली महिला उद्यमीहरूले सुरु गरेको स्टार्टअपको नाम हो टायर ट्रेजर्स । पुराना र थोत्रा टायरबाट हजारौँ रुपैयाँ मूल्यका फर्निचर र सजावटका सामग्री बनाउँदै आएको यो स्टार्टअप उत्कृष्ट ११ स्टार्टअपमा पर्न सफल भएको छ । थोत्रा टायरलाई नयाँ जीवन दिदै आएको छ यो कम्पनीले । पुराना टायर जम्मा गर्ने र यसबाट फर्निचर र डेकर आइटमहरु बनाइरहेको छ । २०१७ को अप्रिलमा स्थापना भएको कम्पनी निकट भविष्यमै नेपालमा अपसाइक्लिङ ब्रान्ड बन्न खोजरहेको छ । धेरैभन्दा धेरै टायरहरु संकलन गर्ने र यसको सुरक्षित र व्यवहारिक प्रयोग गर्नेतर्फ योजना कम्पनीको छ । टायर बचाउने र वातावरण बचाउने मात्रै नभई यसबाट उद्यमशीलता सुरु गर्न सकिन्छ भन्ने उदाहरण पनि टायर ट्रेजर्सले दिएको छ ।

९. युजी केक्स
२०७४ को जेठमा स्थापना भएको युजी केक्स अहिले अर्बान गर्ल इंक प्रालिको एउटा भाग भएको छ ।  अहिले त केक किन्न विभिन्न पसल चहारिरहनु पर्दैन । एक कलकैै भरमा वा अनलाईनमा अर्डर गरेकै भरमा आफूले चाहेजस्तो डिजाइनको र स्वादको केक घरमै आइपुग्छ । व्यस्त जीवनशैलीका कारण समय अभाव हुनेले अनलाईन मार्फत केक अर्डर गर्ने गर्छन । बेकरी इन्डस्ट्रीको अटोमेसनमा सरिक युजी केक्स विशेषगरी युवा र त्यसमा पनि महिलामाझ प्रिय छ । साथै विदेशमा रहेका नेपालीले आफ्ना आफन्तलाई केक गिफ्ट गर्ने सजिलो तरिका पनि युजी केक बनेको छ । केकको उत्पादन र डेलिभरीमा आफूलाई अब्बल बनाउन खोजिरहेको युजी केक्स पनि स्टार्टअप आइसिटी अवार्डको उत्कृष्ट ११ मा पर्न सफल भएको छ । कम्पनीले केकको अर्डर, पेमेन्ट, तयारी, गुणस्तर परीक्षण, डेलिभरी, ट्रयाकिङ, डेलिभरी कन्मर्फेशन आदिका लागि सफ्टवेयरको सहयोग लिने गरेको छ ।

१०. उनेल्मा प्लाटफर्म
आर्टिफिसियल इन्टेलिजेन्सको सेगमेन्टमा काम गरिरहेको स्टार्टअप हो, उनेल्मा प्लाटफर्म । नेपाली बजारमा ई-साथी र ई-खल्ती गरी दुई प्रडक्ट यो कम्पनीले ल्याएको छ । यी दुवै प्रडक्टले राम्रो बजार लिइरहेको छ । ई-साथी हरेक दिन १० लाख प्रयोगकर्ताले चलाउँछन् भने ई-खल्ती डिजिटल पेमेन्ट गेटवे प्लाटफर्ममा बलियो प्रतिष्पर्धीको रुपमा आइरहेको छ । यो स्टार्टअपले अन्य केही इन्टरनेश्नल प्रडक्ट पनि ल्याएको छ । यसमध्ये UnelmaMail, UnelmaMusic, UnelmaMovie, Unelma.AI, e-Aspatal, Fundheartly, Vidya ERP, UnelmaCRM लगायत रहेका छन् । हाल एक हजार संस्था र १० लाख मानिसलाई उनेल्मा प्लाटफर्मबाट बनेका विभिन्न प्रडक्ट र सर्भिसेसले लाभ पुर्याएको छ ।

११. वाकम्यान ʻग्रिन कोइन्सʼ
२०७५ को फागुनमा सार्वजनिक भएको वाकम्यान - ग्रिन काेइन्स हिँड्न हौस्याउने यस्तो एप हो जसमार्फत् प्रयोगकर्तालाई हिँडेको प्रत्येक पाइला रेकर्ड गर्दै भर्चुअल करेन्सी प्रदान गरिन्छ । प्रयोगकर्ताहरुले १० हजार स्टेप बराबर १०० ’क्वइन’ प्राप्त गर्नेछन् । ती क्वइनहरुबाट विभिन्न रेष्टुरा र स्टोरहरुमा छुट पाउन सकिनेछ । नेपालमा धेरैले स्मार्टफोन प्रयोग गर्छन् । तर यसको प्रयोग सामाजिक सञ्जाल चलाउन सिमित छ । वाकम्यान- ग्रिन कोइन्सबारे जानकारी हुने प्रयोगकर्ताले अवश्य पनि मन पराउन सक्ने छन् । अहिले एपको प्रयोगकर्ता एक हजार पुगिसकेका छन् भने बिटुबी पार्टनर २० भन्दा बढी रहेका छन् । यो निःशुल्क एप हो जहाँ जिपिएस र फुट ट्रयाकिङ सिस्टम रहेको छ । यसले छोटो दुरीका लागि गाडी चड्नुभन्दा हिँडन हौसला गर्दछ । वाकम्यान - ग्रिन कोइन्स पनि स्टार्टअप आइसिटी अवार्ड २०१९ को उत्कृष्ट ११ मा पर्न सफल भएको छ ।