स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकारमातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत–सम्भार र व्यवस्थापन गर्ने सम्बन्धमा सहकार्य गर्ने सम्झौता भएको छ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।
स्वास्थ्यमन्त्री पौडेलले सो अवसरमा भने, “हामीले साधन–स्रोत बढाएर तत्काल आवश्यकताअनुसारका उपकरण खरिद गर्न सक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता महत्त्वपूर्ण प्रयास रहेको छ।’’ उनले थपे, “अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिनेछ। मर्मत र व्यवस्थापनमा थोरै खर्च लाग्ने हुँदा यो सम्झौता महत्वपूर्ण छ।’’
मन्त्री पौडेलले उपकरणलाई चुस्त र व्यवस्थित राख्न आवश्यक रहेको र यसका लागि आविष्कार केन्द्रसँग सहकार्य गर्न लागिएको बताए। उनले भने, “मर्मत र अरू ढंगले उपयोगमा ल्याउन नसकिने सामग्री अस्पतालमा छन्, प्रयोगमा आउने र नआउने छुट्याएर सोही अनुरुप व्यवस्थापन गर्न जरुरी छ। यसरी काम गर्दा अस्पताल सफा हुनेछ र कम खर्चमा उपकरण प्राप्त गर्न सकिनेछ।”
केन्द्रका अध्यक्ष पुनले स्वास्थ्य क्षेत्र सुधारका सन्दर्भमा आविष्कार केन्द्रले अर्को महत्त्वपूर्ण जिम्मेवारी पाएको प्रतिक्रिया दिए। उनले भने, “यो जिम्मेवारी भनेको संघीय सरकारअन्तर्गत रहेका अस्पतालमा बिरामीको स्वास्थ्य परीक्षण गर्ने बायोमेडिकल उपकरण मर्मत गर्ने र ती उपकरणको अवस्था के–कस्तो छ भनी यकिन गर्ने हो।”
केंद्रले ती अस्पतालमा रहेका उपकरणहरूको स्थिति के–कति प्रयोगमा आउनसक्ने र कुन अवस्थामा छन् भनी यकिन गर्नेछ। मर्मत गर्न सकिने भए बनाउने र नसकिने भए सोही अनुसारको रायसुझाव मन्त्रालयलाई दिनेछ। अध्यक्ष पुनले यो जिम्मेवारी नागरिकको स्वास्थ्यसँग सम्बन्धित रहेको र उपकरणलाई ठिक अवस्थामा राख्न सकिए धेरैको ज्यान बचाउन सकिने बताउँदै, “लाखौँ नागरिकले यसको सेवा लिन सक्छन्। यसैले यो सानोतिनो जिम्मेवारी होइन।”
आविष्कार केन्द्रले इमान्दारीपूर्वक राष्ट्र र जनताको सेवा गर्ने प्रतिबद्धता जनाउँदै अध्यक्ष पुनले विगतका अनुभवले काम पूरा गर्ने विश्वास व्यक्त गरे।
सम्झौताअनुसार, केन्द्रका प्रतिनिधिहरू सबै अस्पतालमा गएर त्यहाँ प्रयोग नभएका र सूचीकृत सामानको पहिचान गरी सोही अनुरुपको प्रतिवेदन दिनेछन्। यसरी उपकरण व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुग्नेछ, र सरकारको एक मन्त्रालयले प्राविधिक रूपमा काम गराउन आविष्कार केन्द्रलाई विश्वास गर्न सुरु गरेको छ।