कीवर्डहरू -

आइटी शिक्षाको क्रेज !

आइटीमा कुन बिषय, कहाँ पढ्ने ?

आइटी शिक्षाको क्रेज !

केही वर्षअघिसम्म मेडिकल साइन्स र इन्जिनीयरिङमा नाम निक्लिएन भने मात्रै विद्यार्थी आइटी पढ्न आइपुग्थे । अहिले भने विद्यार्थीको पहिलो रुचि नै आइटीमा हुन थालेको छ । आइटीका शैक्षिक कार्यक्रमको आगमनपछि अन्य संकायका विषयहरूमा विद्यार्थीहरूको चाप घट्न थालेको छ । अहिलेका विद्यार्थीलाई स्कुल पढ्दादेखि नै प्रविधिको मोहले छोएको देखिन्छ । उनीहरू बच्चामै कम्प्युटर इन्जिनीयरको सपना पालिरहेका छन् ।

उच्च शिक्षाको ढोका उघार्न तयार विद्यार्थीका लागि आइटी शिक्षा एक आकर्षक रोजाइ बन्न सक्ने अवस्था आएको छ । आइटी आफैंमा नवीनतम विषय हो र यसभित्र असंख्य विधाहरू आइरहेका छन् । विभिन्न विश्वविद्यालयले आफ्ना पाठ्यक्रम बदलिँदो उद्योगलाई लक्षित गरी बनाइरहेका छन ।

पछिल्लो समय सरकारी कार्यालयमा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नियुक्त गर्ने क्रम बढेको छ । नेपाल डिजिटल नेपालको युगमा प्रवेश गर्न खोजिरहेको छ । यसको लक्ष्य पूरा गर्न सूचना प्रविधिको पहुँच प्रत्येक स्थानीय तहसम्म पुर्याउने सरकारको योजना छ ।

मेडिकल र अन्य इन्जिनीयरिङमा जस्तो आइटी मध्यम क्षमता भएका विद्यार्थीले पढ्न सक्ने भएकाले पनि आइटी शिक्षाको क्रेज बढेको हो । अधिकांश आइटीका कार्यक्रम पढ्न प्लस टुमा दोस्रो श्रेणीमा उत्तीर्ण भए पुग्छ । यो व्यावहारिक र प्राविधिक शिक्षा हो । कम्प्युटर प्रोग्रामर, नेटवर्क टेक्निसियन, डाटा एनालिस्ट जस्ता जनशक्तिको माग विश्वव्यापी रूपमा बढिरहेको छ । नेपालमै पनि वेब डेभलपमर, आइटी हेड, चिफ टेक्नोलोजी अफिसर जस्ता जबहरूको माग तीव्र छ । यसर्थ यो २१औं शताब्दी हो र जे छ प्रविधिकै बारेमा छ । यदि तपाईंले टेक्नोलोजी प्रयोग गरिरहनु भएको छ र प्रयोग गर्न इच्छुक हुनुुहुन्छ भने पक्कै पनि तपाईंलाई सजिलो हुन्छ ।

अर्कोतिर प्लस टुमा विज्ञान नपढेका विद्यार्थीले पनि आइटीका शैक्षिक कार्यक्रम पढ्न पाउनु राम्रो कुरा हो । कम्प्युटर इन्जिनीयरिङ, सिएसआइटी, बिएससी जस्ता विषयमा विज्ञान र गणित अनिवार्य मानिए पनि बिसिए, बिआइटी, बिआइएम, बिएड आइसिटी जस्ता शैक्षिक कार्यक्रमहरू अन्य विषय पढेका विद्यार्थीले पनि पढ्न पाउँछन् । नेपालमा आएका आइटीका अधिकांश विदेशी डिग्री पनि प्लस टुमा जुनसुकै विषय लिएर पास गरे हुन्छ ।

पछिल्लो समय सरकारी कार्यालयमा सूचना प्रविधिसम्बन्धी दक्ष जनशक्ति नियुक्त गर्ने क्रम बढेको छ । नेपाल डिजिटल नेपालको युगमा प्रवेश गर्न खोजिरहेको छ । यसको लक्ष्य पूरा गर्न सूचना प्रविधिको पहुँच प्रत्येक स्थानीय तहसम्म पुर्याउने सरकारको योजना छ ।


नेपालमा आइटीको प्रयोग हरेक क्षेत्रमा बढ्नुका साथै जनशक्तिको माग पनि उत्तिकै भएकाले विद्यार्थीले आइटी अध्ययन गर्न सक्छन् । आइटी पढेपछि स्वदेशमै रोजगारी पाउने र आफैले पनि अवसर सिर्जना गर्न सकिने पर्याप्त सम्भावना छ ।

आइटीसम्बन्धी सबैभन्दा धेरै कार्यक्रम स्नातकमा रहेका छन् । हाल नेपालमा स्वदेशी र विदेशी गरी २५० बढी कलेजमा सूचना प्रविधिसम्बन्धी शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । अहिले आइटीमा पनि सब–डोमेनहरू आइरहेका छन् । बिई कम्प्युटर, बिसिए, बिएससी सिएसआइटी, बिआइएम जस्ता कोर्सहरूको आआफ्नै महत्व छ । यति मात्रै होइन पछिल्लो समय आइटीका स्पेशलाइज्ड कोर्सहरू समेत भित्रिएका छन् । प्रोग्रामिङ, सफ्टवेयर, नेटवर्क, सेक्युरिटी, वेब डेभलपमेन्ट वा अन्य केमा रुचि छ, त्यहीअनुसारका शैक्षिक कार्यक्रम पढ्न सकिन्छ ।

कुन विश्वविद्यालयका कस्ता कार्यक्रम ?
त्रिभुवन विश्वविद्यालय

त्रिविले स्नातक तहमा इन्जिनीयरिङतर्फ कम्प्युटर, सिस्टम एन्ड नलेज र इन्फर्मेशन एन्ड कम्युनिकेशन इन्जिनीयरिङ कार्यक्रम सञ्चालन गरिरहेको छ । यस विश्वविद्यालयले ल्याएको आइटी शैक्षिक कार्यक्रम सिएसआइटी देशका झण्डै ५ दर्जन कलेजमा पढाइ भइरहेको छ भने थप कलेज सम्बन्धनको क्रममा छन् । सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको बिसिए कार्यक्रम ११६ कलेजमा सञ्चालनमा छ । त्रिविकै बिआइएम, बिएड इन आइसिटीमा पनि विद्यार्थी आकर्षण देख्न सकिन्छ ।

पूर्वाञ्चल विश्वविद्यालय
पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि संकायको आंगिक क्याम्पस स्कुल अफ इन्जिनीयरिङ एन्ड टेक्नोलोजी (पुसेट)ले आइटीका विभिन्न नयाँ कोर्स नेपालमा पहिलो पटक सुरू गरेको थियो । बिआइटी कार्यक्रम सुरू गरेको यस विश्वविद्यालयले स्नातक तहमा कम्प्युटर इन्जिनीयरिङ, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेशन इन्जिनीयरिङ, बिसिए, बिसिए (अनर्स) लगायतका शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएको छ ।

पोखरा विश्वविद्यालय
पोखरा विश्वविद्यालयले बिई कम्प्युटर, बिई आइटी, बिई सफ्टवेयर इन्जिनीयरिङ, बिसिआइएस, बिसिए, बिएससी कम्प्युटर साइन्स लगायतका कोर्स सञ्चालन गर्दै आएको छ ।

काठमाडौं विश्वविद्यालय
नेपालमा पहिलोपटक काठमाडौं विश्वविद्यालयले कम्प्युटर इन्जिनीयरिङ भित्र्याएको हो । केयुले बिई कम्प्युटरबाहेक बिएससी कम्प्युटर साइन्स कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विदेशी विश्वविद्यालयका कोर्स
नेपालमा लण्डन मेट्रोपोलिटन विश्वविद्यालय, नर्थयाम्टन विश्वविद्यालय, लिड्स बिकेट विश्वविद्यालय, कोभेन्ट्री विश्वविद्यालय, वोल्भर नर्थयाम्टन विश्वविद्यालय आदि युकेका आइटी डिग्री सञ्चालनमा रहेका छन् । त्यस्तै नेपालमा मलेसियाका विश्वविद्यालयहरूबाट सम्बन्धन लिएर आइटी कार्यक्रम गर्ने कलेजहरू पनि रहेका छन् । ६० देखि ७० लाखसम्म खर्चेर विदेशी डिग्री पढ्न जाने विद्यार्थीको संख्या नेपालमै विदेशी शैक्षिक कार्यक्रम सञ्चालनमा ल्याएपछि कम भएको छ । पछिल्लो १० वर्षयता यी शैक्षिक कार्यक्रम भित्रिने क्रम बढिरहेको छ । हाल युके र मलेसियाबाहेक नेपालमा सिंगापुर, थाइल्याण्ड, अस्ट्रिया आदि देशका डिग्री पनि सञ्चालनमा रहेका छन् ।