कीवर्डहरू -

आइटी उद्यमशीलतामा जम्दै टेक्नोरियोकी शुभेच्छा

आइटी उद्यमशीलतामा जम्दै टेक्नोरियोकी शुभेच्छा

तपाईं हामीलाई थाहा नै छ, नेपालको सूचना प्रविधि क्षेत्रमा महिलाको उपस्थिति न्यून छ । अझ कम्पनी स्थापना गर्ने, शीर्ष तहमा रहेर काम गर्ने महिला निकै थोरै छन् । शुभेच्छा श्रेष्ठ यी थोरै महिलामध्येकी एक हुन् । सानैदेखि कम्प्युटर क्षेत्रमा करियर बनाउने सपना बुनेकी शुभेच्छाले स्वदेशमै आइटी कम्पनी स्थापना गरी उद्यमशीलताको पाइला चालिरहेकी छन् । उनको कम्पनीको नाम हो, टेक्नोरियो इंक प्रालि । धेरै जसो आइटी कम्पनी विदेशका प्रोजेक्ट गरेर धानिएको बेला उनको टेक्नोरियोले नेपाली बजारका लागि काम गरिरहेको छ ।

कलेज पढ्दै गर्दा उनको समूहले काठमाडौं विश्वविद्यालयले आयोजना गरेको ह्याकाथन कम्पिटिशन जितेको थियो । त्यही प्रोजेक्ट अन्ततः टेक्नोरियो स्थापनाको कारण बन्यो । प्रोजेक्टलाई प्रडक्टमा उतार्न कलेज र केही अग्रजहरुबाट प्रोत्साहन मिल्योे । यही टिमले अन्ततः आइटी कम्पनी खोलेर अगाडि बढ्ने हिम्मत गर्यो ।

युवा विदेश पलायन भइरहेको बेला उनीसहितको टिमले नेपालमै अवसर पहिचान गरेर अगाडि बढ्यो । वैशाख १२ गते शनिबारको दिन कम्पनीको शुभारम्भ गरे । बिडम्बना त्यही दिन नेपालमा महाभूकम्प आयो । ठूलो संख्यामा मानवीय र भौतिक क्षति भयो । यसको प्रत्यक्ष असर शुभेच्छाको टेक्नोरियो जस्तो कम्पनीलाई भयो । व्यावसायिक कम्पनी निर्माणमा खटिनुपर्ने बेला उनको टिम भूकम्प प्रभावित क्षेत्रमा स्वयम्सेवकको रुपमा खटियो । लगत्तै भारतले लगाएको नाकाबन्दी र मधेश आन्दोलनले देश थला पर्यो । धेरै युवा विदेशिन थाले । मार्केट अस्तव्यस्त थियो । ‘यस्तो बेला पनि नेपालमै भविष्य देखेर टेक्नोरियोलाई अगाडि बढायौं । नेपालमै अवसर सिर्जना गर्न लागिपर्याैं’ उनले सुनाइन् ।

उनको कम्पनीले नेपाली मार्केटमै काम गरिरहेको छ । ‘बाहिरको प्रडक्ट नसकेर होइन, नचाहेर नै नलिएको हो । पहिला लोकल मार्केट कभर गरेर राम्रो गर्न सक्यौं भने विदेशी काम पनि सजिलै हुन्छ,’ उनले भनिन् । आइटीमा महिलाको सहभागिता निकै कम छ । उनीहरुलाई पनि आइटीमा समाहित गर्दै याे क्षेत्रमा थप अवसर सिर्जना गर्नुपर्नेमा उनी जाेड दिन्छिन् ।

बिना लगानी एउटा प्रोजेक्ट डेलिभर गरेर पाएको रकमले कम्पनी सुरु गरेका थिए उनीहरुले । अहिले यो कम्पनीले ४ वर्ष पार गरिसकेको छ । सुरुवाती चरणमा व्यक्तिगत सम्पर्कमा प्रोजेक्ट ल्याउँथे । गुणस्तरीय प्रडक्ट बनाएर दिँदा अरु क्लाइन्ट पनि थपिँदै गए । योबीचमा उनले धेरै सिकिन् । बजारको माग र आवश्यकता बुझिन् । ‘प्रविधिको माध्यमबाट सामाजिक रुपान्तरण गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त छौं । त्यो रुपान्तरणका लागि नयाँ आइडिया आवश्यक छ । र, त्यो आइडिया हामी जस्तै युवाले ल्याउने हो,’ उनले भनिन् ।
उनले आफ्नो कम्पनीले व्यावसायिक आर्जनलाई मुख्य नठानी सेवा र सन्तुष्टि प्रदान गर्दै सामाजिक उत्थानको एउठा भाग बन्न चाहेको सुनाइन् । भन्छिन् ‘हामी अस्वस्थ प्रतिस्पर्धामा लाग्दैनौं । आफ्ना क्लाइन्टको विश्वास जित्नु नै हाम्रो उपलब्धि हो ।’ कम्पनी ब्राण्डिङका लागि टेक्नोरियोले विज्ञापन गर्दैन । सोसल मिडियाको प्रयोगले पनि क्लाइन्टलाई आफ्नो पोर्टफोलियो र सेवाको जानकारी दिन सहज भएको उनी बताउँछिन् ।

‘सुरुसुरुमा प्रविधिमा मानिसले लगानी गर्न चाहँदैनथे । नयाँ प्रविधि अँगाल्न हिचकिचाउँथे । विस्तारै समय फेरिएको छ,’ उनी भन्छिन्, ‘मार्केट बढ्दो छ । मार्केटकै मागअनुसार हामीले आइटी सर्भिस ल्याउने गरेका छौं ।’ सफ्टवेयर र एप्लिकेशन डेभलपमेन्टमा काम गरिरहेको कम्पनी पछिल्लो समयमा डिजिटल मार्केटिङमा फोकस भएको छ । ‘बिजनेशको मार्केटिङ र प्रोमोशन डिजिटल प्लाटफर्म गर्ने क्रम बढेसँगै टेक्नोरियोले यो सेवा ल्याएको हो । यो बाहेक आइसिटी कन्सल्टेन्सी सेवा र अन्य आइटी सर्भिस ल्याएका छौं,’ उनले भनिन् ।

उनी कम्पनीको शीर्ष तहमा रहेर काम गर्दा धेरै अनुभव पनि सिकिन् । त्योभन्दा बढी मार्केटमा राम्रो काम गर्ने हो भने सफलता मिल्ने कुरा थाहा पाइन् । ‘पहिले क्लाइन्टसँग जाँदा केटी भएर पनि राम्रो काम डेलिभर गर्न सक्लान् र भन्ने मानसिकता थियो । जब हामीले राम्रो प्रडक्ट दिन थाल्यौं, ट्रस्ट लेभल पनि बढ्न थाल्यो,’ उनले भनिन् । उनी थप्छिन्, ‘हाम्रो समाजले महिलालाई १० देखि ५ बजेसम्मको जागिर राम्रो छ भन्ने मानसिकता राख्छ । तर आइटी सर्भिस दिने भनेपछि २४ घण्टा नै दिनुपर्छ । आइटीमा अफिस जानैपर्छ भन्ने छैन । ल्यापटप, मोबाइल र इन्टरनेट भए पुग्छ । अफिस नै जान पर्दैन ।’

उनको कम्पनीले नेपाली मार्केटमै काम गरिरहेको छ । ‘बाहिरको प्रडक्ट नसकेर होइन, नचाहेर नै नलिएको हो । पहिला लोकल मार्केट कभर गरेर राम्रो गर्न सक्यौं भने विदेशी काम पनि सजिलै हुन्छ,’ उनले भनिन् । आइटीमा महिलाको सहभागिता निकै कम छ । उनीहरुलाई पनि आइटीमा समाहित गर्दै याे क्षेत्रमा थप अवसर सिर्जना गर्नुपर्नेमा उनी जाेड दिन्छिन् । ‘कोडिङ मात्रै गर्नुपर्छ भन्ने होइन । धेरै अवसर छन् । आइटीको काममा पनि धेरै म्यानेजमेन्ट प्रोसेस रहेका छन्,’ उनले भनिन् ।

स्टार्टअपका लागि नेपालमा धेरै नै चुनौती छन् । मार्केट रेडी भइसकेको छैन । नयाँ आइडियालाई बिजनेशमा कन्भर्ट गर्न धेरै अप्ठ्यारो छ । उनीहरुलाई सहयोग गर्ने हातहरुको पनि कमी छ ।

टेक्नोरियोलाई सफलताको शिखरमा पुर्याउने चाहना राखेकी छन् उनले । डिजिटल नेपाल निर्माणमा टेक्नोरियो पनि साथसाथै रहेको उनी सुनाउँछिन् । नेपालमा धेरैजसो आइटी कम्पनीहरु विदेशका प्रोजेक्टहरु लिएर सस्टेन भइरहेको अवस्था छ । टेक्नोरियोले भने नेपालकै मार्केटमा भविष्य खोजिरहेको छ र नेपाली क्लाइन्टलाई आइटी सर्भिस दिँदै सन्तुष्टि प्रदान गरिरहेको छ ।

नेपाली बजार योग्य नहुँदासम्म आइटी उद्योग अगाडि बढ्न नसक्ने उनको तर्क छ । यसका लागि टेक्नोरियो जस्ता युवा उद्यमीले स्थापना गरेका कम्पनीहरुलाई नेपाली बजारमा फस्टाउने वातावरण आवश्यक छ । शुभेच्छा भन्छिन्, ‘स्टार्टअपका लागि नेपालमा धेरै नै चुनौती छन् । मार्केट रेडी भइसकेको छैन । नयाँ आइडियालाई बिजनेशमा कन्भर्ट गर्न धेरै अप्ठ्यारो छ । उनीहरुलाई सहयोग गर्ने हातहरुको पनि कमी छ ।’

अर्कोतर्फ आधा आकाश ओगट्ने महिलालाई सूचना प्रविधि क्षेत्रमा समाहित गर्न सके महिला सशक्तिकरणमा पनि टेवा पुग्ने विश्वास उनको छ । ‘सूचना प्रविधिको प्रयोगसँगै यसैलाई माध्यम बनाएर आयआर्जन गर्ने विकल्पहरु धेरै छन्, अब प्रविधिमा महिला पछि परे भने सधै पछि पर्छन्,’ उनले भनिन्, ‘परिवर्तका लागि सबैभन्दा पहिले हाम्रो सोच बदलिन आवश्यक छ । र, परिवर्तन प्रविधिबाट मात्रै सम्भव छ ।’