कीवर्डहरू -

अब हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा

अब  हरेक क्षेत्रका लागि डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ : खतिवडा

आइटी क्षेत्रमा विभिन्न काम गर्न सकिन्छ । डिजिटल मार्केटिङ पछिल्लो समय फस्टाएको एक करियर हो । यसभित्रको एसइओ (सर्च इन्जिन अप्टिमाइजेशन) काम गर्ने युवाहरुको संख्या बढ्दो छ । यसैबीच नेपालमा एसइओका विभिन्न कम्युनिटीमा रहेर काम गरिरहेका र एसइओमा १० वर्षभन्दा बढी अनुभव सँगालेका प्रकाश खतिवडा सँग हामीले कुराकानी गरेका छौं :

सर्च इन्जिन अप्टिमाइजेशन र डिजिटल मार्केटिङलाई नजिकबाट कसरी बुझ्ने ?
एसइओ र डिजिटल मार्केटिङ उस्तै उस्तै हुन् । दुवैको काम कम्पनीको ब्राण्ड प्रोमोसन गर्नु हो । एसइओले कुनै एउटा वेबसाइटमा बसेर ब्राण्ड मार्केटिङको काम गर्छ । डिजिटल मार्केटिङले चाहिँ वेबसाइट सँगसँगै सोसल मिडिया, प्रिन्ट मिडिया, टेलिभिजन तथा अन्य माध्यमबाट प्रयोगकर्तालाई कसरी आकर्षण गर्न सकिन्छ भनेर जोड दिन्छ । यी काममा मानिसहरुको आकर्षण बढ्दो छ । यति धेरै मानिसहरु किन आकर्षण भए भन्दा यसमा कोडिङको सी पनि लेख्नु पर्दैन । तपाईँसँग रुची छ भने सजिलै एसइओ र डिजिटल मार्केटिङसम्बन्धी कामहरु गर्न सकिन्छ ।

नेपालमा यो क्षेत्रमा कसरी काम भइरहेको छ ?
अहिले एसइओ र डिजिटल मार्केटिङको काम राम्रो छ, धेरैको रोजाइमा परेको छ भन्दै गर्दा म त्यो समय सम्झिन चाहन्छु । मैले नेपालमा करियर सुरु गर्दा यहाँ निकै कमैलाई मात्र यसबारे थाहा थियो । त्यो समयमा औलामा गन्न सकिने मात्र डिजिटल मार्केटिङ र एसइओका साथीहरु हुनुहुन्थ्यो । अब अहिले पढाउने शैक्षिक संस्था धेरै छन् । पढ्ने विद्यार्थी धेरै छन् । त्यो समय चुनौतीपुर्ण थियो । मानिसहरुले महत्व बुझ्दै गए । डिजिटल मार्केटिङको उद्योग पनि फस्टाउदै गयो । तर सँगसँगै विकृति पनि बढ्दै गयो । अहिले ४ हजार ९ सय ९९ मा वेबसाइटमा बनाइदिन्छौ भन्नेहरु पनि यही बजारमा छन्, लाखौं रुपियाँमा काम गर्नेहरु पनि यहीँ छन् । कम्तिमा तपाई सेवा दिनुहोस् तर गुणस्तरीय सेवा दिनुहोस् । क्वालिटिमा कम्प्रोमाइज नगर्नुहोस । सय प्रतिशत जेन्युन सेवा कसैले पनि दिन सक्दैन होला । मलाई काम चाहिएको छ पैसा जति भएपनि हुन्छ भन्ने मानसिकताले बजार बिग्रिरहेको छ । आइटी कम्पनी चल्न त चलिरहेकै छन् तर इज्जत पनि खस्किरहेको छ । अर्कोतर्फ केही समयसम्म कम्पनीमा काम गर्ने र कम्पनी छोडेर सस्तोमा आफूले प्रोजेक्ट÷काम लिने प्रवृत्ति धेरै मौलाएको छ ।

नेपालमा कुन कुन क्षेत्रलाई डिजिटल मार्केटिङ र एसइओ चाहिन्छ ?
नेपालमा एसइओ र डिजिटल मार्केटिङ खोज्ने भनेको ठूलो संख्यामा ग्राहकहरु भएका कम्पनीहरुले हो । अटो मोबाइल्स, न्युज पोर्टल, होटल, ट्राभल ट्रेकिङ र ई–कमर्स सेक्टरले यसलाई प्राथमिकतामा राख्न थालेका छन् । डिजिटल मार्केटिङमा कलेजहरु पनि एक्टिभ छन् तर । एसइओमा खासै एक्टिभ छैनन् । अब हरेक उद्योग आइटी प्रणालीमा आइरहेकाले सबैका लागि डिजिटल मार्केटिङ र एसइओको आवश्यकता बढेको छ ।

एसइओमा काम गर्ने जनशक्तिको स्याटिसफ्याक्सन लेभल कस्तो छ ? पुराना ग्राहकसँग फेरि काम गर्ने अवस्था कत्तिको छ ?
मैले एसइओमा करियर सुरु गर्दा एकदम कमैलाई मात्र थाहा थियो । मैले एसइओ को बारेमा बुझाउदै उहाँहरुलाई सेवा दिनु पर्ने अवस्था थियो । अहिले धेरै परिवर्तन आइसकेको छ । यहाँनेर फुलटाइम काम गर्ने मान्छेहरु पनि धेरै छन् ।  उनीहरुलाई अफिसले राम्रै स्यालरी दिएको हुन्छ । त्यो कामको लागि ज्ञान र एक्सपर्ट हुनुपर्यो । फ्रेसरहरुले चाहि फ्रिल्यान्सिङ सेवामा बढि फोकस गरिरहेका छन् । फ्रेसरहरुलाई कम्पनीले राम्रो तलब दिएर राख्न पनि सक्दैनन् ।

एसइओमा आएका चुनौती र विकृति के के हुन् ?
एसइओे वा डिजिटल मार्केटिङको ट्रेनिङ लिएर गएपछि उनिहरुले म नै एक्सपर्ट हो भन्ने सोच्छन । पासआउट भएर गएपछि उनिहरुसँग त्यस्तो धैर्येता हुँदैन । पासआउट हुने बितिकै जस्तोसुकै चुनौती पनि सामना गर्न सक्छन् । इन्टरभ्यु दिदा उनीहरुले मलाइ यो पनि आउँछ, त्यो पनि आउँछ, सबै आउछ भनेर भन्छन् । तर काम गर्न सक्दैनन् । अगाडि वा पछाडि स्पेसलिस्ट र एक्सपर्ट थप्दैमा शतप्रतिशत जेन्युन सेवा दिन सक्नुहुन्न । जबसम्म त्यो ठाउँमा पुग्न सकिदैन तबसम्म यस्तो नलेखिदिनुहोस । एउटा कुनै टपिकलाइ छान्नुहोस । र त्यसैमा एक्सपर्ट हुनुहोस । तपाई जुन कुराको एक्सपर्ट हुनुहुन्छ त्यसमा मात्रै एक्सपर्ट छु भन्नुहोस ।

डिजिटल मार्केटिङ र एसइओको फिल्डमा करियर बनाउन चाहनेहरुका लागि के सन्देश दिनुहुन्छ ?
डिजिटल मार्केटिङमा रुचि राख्नुहुन्छ भने कम्पनीमा बसेर सिक्नुसु तर कम्पनीलाई धोका नदिनुहोस् । तपार्इंले सिक्नुपर्ने धेरै कुराहरु हुन्छन् । त्यसैले ६ महिना एउटा कम्पनीमा काम गरेर आफै नयाँ कम्पनी खोल्छु भन्ने मानसिकता नराख्नुस् । कम्पनीको ओनरलाई कहिले पनि धोका नदिनुहो्स । तपाईले कम्पनी खोल्नुहोस तर कम्पनी कसरी म्यानेज गर्ने भनेर पहिले सिक्नुहोस । अनि नयाँ काम गर्दा तपाईले जे आउँछ त्यो कुरा मात्र आउँछ भन्नुहोस । तर, जुन कुरा तपाईँलाई राम्रोसँग आउँदैन त्यो कुरा आउँछ भनेर नभन्नुहोस । क्लाइन्टलाई धोका नदिनुहोस् ।  कम्पनीका सिइओ वा मालिकले काम गर्ने मान्छेलाई गाली नगर्नुहोस् उनिहरुलाई तालिम दिएर राम्रो बनाउनुहोस् । उहाँहरुको दिमागमा मैले राम्रो काम गर्न सकिन भन्ने भावना आउन सक्छ त्यो आउन नदिनुहोस् ।