डिल्ली अधिकारी सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमका प्रबन्ध निर्देशक हुन् । इन्जिनियरिङ पृष्ठभूमिका उनी टेलिकमको नेतृत्वमा आएपछि मुख्यतः फोरजी परियोजनाले गति लिएको छ । टेलिकमको व्यवसाय र नेटवर्क कभरेज बढाउन क्रियाशील अधिकारीसँग कम्पनीको नेतृत्व र पछिल्लो कार्यप्रगतिबारे हामीले कुराकानी गरेका छौं :
प्राविधिक पृष्ठभूमिको व्यक्ति नेपाल टेलिकमको प्रशासकीय नेतृत्व सम्हाल्दै हुनुहुन्छ, कस्तो अनुभव भइरहेको छ ?
खासमा म इन्जिनीयरिङ पृष्ठभूमिबाट आएँ । यो सन्दर्भमा मैले विभिन्न अफिसहरूमा काम गरेँ । आयोजना, व्यापार प्रवद्र्धन अन्तर्राष्ट्रिय व्यापार, मर्मतसम्भारका कामका स कार्यालय प्रमुख भएर पनि गरेँ । एउटा पब्लिक इन्टरप्राइजको भूमिका कस्तो हुन्छ भनेर पहिले पनि अनुभव थियो । व्यावसायिक अर्गनाइजेशनमा प्रशासनिक काम मात्रै हुँदैन । यो लिडरसिपमा व्यावसायिकता, प्रविधिलाई कसरी अवलम्बन गर्ने र सेवा कसरी प्रवाह गर्ने र यहाँ रहेका ४ हजार २ सय कर्मचारी छन्, उनीहरूको व्यवस्थापन लगायतका कुराहरू पनि रहेकाले टेलिकमको नेतृत्व सम्हाल्दा मिश्रित अनुभव भएको छ । विगतको अनुभवले मलाई त्यस्तो समस्या भने आएको छैन ।
तपाईं आएपछि टेलिकमले सञ्चालन गरिरहेका धेरै परियोजनाहरू चुस्त रूपमा अघि बढ्ने अनुमान गरिएको छ, यसअनुरूप कसरी काम भइरहेको छ ?
२/३ वर्ष अघिदेखि नै हामी प्रोजेक्ट होलिडेमा थियौं । मुख्यतः जिएसएम आयोजना र अन्य आयोजनाहरू खासै राम्ररी गएका थिएनन् । म आइसकेपछि कम्पनीको लाइफलाइनको रूपमा रहेको जिएसएम लाइन र फोरजी परियोजनालाई अगाडि बढाउने काम सुरू भयो । हामीले यससम्बन्धी आयोजनाको सञ्चालनलाई तीव्र महत्व दिई धेरै ठाउँमा बिटिएस टावरहरू पहाडी, मध्यपहाडी र हिमाली क्षेत्रमा सञ्चालनमा ल्याएका छौं । त्यसैगरी फोरजी सेवालाई कार्यान्वयन गराउने प्रक्रिया सुरू भइसकेको छ । यही बुधबारदेखि हामी देशका मुख्य शहरहरूमा फोरजी कार्यान्वयन गर्दैछाैं । हालसम्मको तयारी अनुसार ५० शहरी तथा नगर क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा उपलब्ध गराउने तयारी अनुसार काम भइरहेको छ । त्यसका लागि करीब ११० बढी स्थानमा बिटिएस टावर जडान गरिसकेको छ । फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ ।
हामी देशमा लिडिङ टेलिकम प्रोभाइडर भएकाले पछिल्लो समय दूरसञ्चार क्षेत्रमा उच्चस्तरको प्रविधिलाई अवलम्बन गर्ने, नयाँ प्रविधिलाई ग्रहण गर्ने, नयाँ प्रविधि सेवाग्राहीलाई दिने र नेपाल सरकारले जुन डिजिटल नेपालको अवधारणा ल्याएको छ, यसको निम्ति चाहिने पूर्वाधार निर्माणको काम पनि हामी गर्दै छौं ।
त्यस्तै अर्को योजना मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने र सूचनाको महामार्ग बनाउने सरकारको योजना र दूरसञ्चार प्राधिकरणको सहयोगमा पाँचथरको चियोभञ्ज्याङदेखि गोरखाको आरुबारीसम्मको अप्टिकल फाइबर योजना पनि अघि बढिरहेको थिएन, अहिले कार्यान्वयनमा गइरहेको छ । लेगासी स्विचलाई आइएमएसमा रूपान्तरण गर्ने, एडिएसएललाई विस्तारै एफटिटिएचमा प्रतिस्थापन गर्ने, एफटिटिएचमा आइपी टिभी सर्भिस, र इन्टरनेट सर्भिस दिने भन्ने कुरा थियो, त्यो चिज पनि अहिले अगाडि बढिसकेको छ । यो आर्थिक वर्षमा मात्रै करिब ८८ हजार एफटिटिएच लाइन विस्तार गरिसक्यौं भने आउने आर्थिक वर्षमा हामीले ४ लाख लाइन नेटवर्क विस्तार गर्ने योजना गरेका छौं ।
ग्राहकलाई एफटिटिएचमा भ्वाइस, इन्टरनेट, टेलिभिजन सेवा दिने भनेर त्यसको टेन्डर प्रक्रिया सम्पन्न गरिसकेका छौं । दूरसञ्चार प्रविधिमा ग्राहकलाई जुन खालको सेवाहरू आवश्यक छ, खासगरी वायरलेस प्रविधिमा उच्च डेटा रेट भएको फोरजी, जिएसएममा थ्रिजी, फिक्स्ड ब्रोडब्यान्डमा एफटिटिएच र समग्र देशलाई दूरसञ्चारले जोड्न अप्टिकल फाइबरले जोड्ने कुरा थियो । यी सबै कुरा अहिले अगाढि बढिरहेको छ । यसले गर्दा कम्पनीको नेटवर्क क्षमता, ग्राहक क्षमता र गुणस्तरमा क्षमता विस्तार भएको छ । यसको परिणाम छिट्टै नै आउँछ ।
नेपालको दूरसञ्चार क्षेत्र र यसमा नेपाल टेलिकमको योगदानलाई कसरी सम्झिनुहुन्छ ?
हाम्रो मुख्य कुरा नै गर्विलो इतिहास हो । सय वर्षभन्दा बढीको इतिहास छ । विभिन्न नाम हुँदै अहिले नेपाल टेलिकमको नाममा सञ्चालनमा छ । दूरसञ्चारको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जुन सर्भिस अब्लिेगसन छ, त्यो हामीले पूरा गर्दै आएका छौं । सदरमुकाम र शहरमा बस्ने ग्राहक होस् या दुर्गममा बस्ने ग्राहक, सबैलाई उही प्रकारको सेवा, गुणस्तर र दरमा प्रदान गर्नुपर्ने हुन्छ । त्यो हामीले गरिरहेका छौं । हामीसँग प्रचुर मात्रामा पूर्वाधार रहेको छ । २ करोडको हराहारीमा ग्राहक छन् । हामी देशमा लिडिङ टेलिकम प्रोभाइडर भएकाले पछिल्लो समय दूरसञ्चार क्षेत्रमा उच्चस्तरको प्रविधिलाई अवलम्बन गर्ने, नयाँ प्रविधिलाई ग्रहण गर्ने, नयाँ प्रविधि सेवाग्राहीलाई दिने र नेपाल सरकारले जुन डिजिटल नेपालको अवधारणा ल्याएको छ, यसको निम्ति चाहिने पूर्वाधार निर्माणको काम पनि हामी गर्दै छौं । समग्रमा हामी राष्ट्रको सञ्चारकै रूपमा अघि बढिरहेका छौं ।
दूरसञ्चारको क्षेत्रमा अन्य सेवाप्रदायकले नयाँ प्रविधि भित्र्याउन टेलिकमलाई उछिनेको अवस्था छ नि ?
त्यस्तो भनिहाल्न मिल्दैन । थ्रिजी सेवा दक्षिण एशियामै पहिलोपटक हामीले ल्याएका हौं । फोरजीको एडप्सनमा पनि हामी पहिलो हौं । प्रविधि अवलम्बन गर्नेमा हामी नै पहिलो छौं । तर त्यसलाई व्यावसायिक हिसाबले एग्रेसिभ विस्तार गर्नका लागि हामी पछाडि परेको अवस्था थियो । अहिले हामीले फोरजीको व्यापक विस्तार गाउँदेखि शहरसम्म बढाउन लागिपरेका छौं । प्रविधि अवलम्बनको सन्दर्भमा हामीलाई कुनै समस्या नभए पनि हामीले निश्चित प्रक्रिया पूरा गरेर जानुपर्छ । सार्वजनिक खरिद ऐन र हाम्रो आर्थिक विनियमावली अनुसार हामीले अवलम्बन गर्नुपर्ने हुन्छ । तत्कालै सामान किन्न, तोकिएको ब्रान्ड र तोकिएको गुणस्तरमा हामीलाई कहिलेकाहीँ समस्या हुन्छ । यसलाई परिमार्जन गर्न पछिल्लो समय खरिद ऐनले नै निजी कम्पनीहरूसँग प्रतिस्पर्धा गर्न छुट्टै कार्यविधि कानून बनाउने छूट दिएपछि गुणस्तरीय सामान किन्न हामीलाई सजिलो हुन्छ ।
हाल कस्ता सेवामा नेपाल टेलिकम प्राथमिकताका साथ लागिपरेको छ ? नयाँ प्रविधियुक्त सेवाहरू के के छन् ?
हाम्रोको अहिलेको लक्ष्य भनेको फोरजीलाई एक वर्षभित्र देशव्यापी रूपमा विस्तार गर्ने हो र व्यावसायिक रूपमा सफल बनाउने हो । दोस्रो, एफटिटिएच सेवालाई विस्तार गरेर एडिएसएल र यससम्बन्धी टेक्नोलोजीलाई घटाउने हो । तेस्रो, सूचना प्रविधिको महामार्ग तयार पार्ने र चौथो भनेको यी सबै पूर्वाधार तहमा गएपछि एप्लिकेशन लेयरमा आइटी इन्फ्रास्ट्रक्चर लेभलमा बनाउने, नयाँ खालका सेवा र एप्लिकेशनहरू ग्राहकलाई प्रदान गर्ने हो । त्यो चाहिँ हामी चाँडै नै सुरुवात गर्दै छौं । शिक्षा, स्वास्थ्य, कृषि, व्यवसायमा दूरसञ्चार नेटवर्कमार्फत सूचना र प्राविधिक सेवा दिन हामी अघि बढिरहेका छौं ।
टुजी र थ्रिजीको स्तरोन्नति गर्ने काम कसरी भइरहेको छ ?
गएको आर्थिक वर्षमा मात्रै टुजी र थ्रिजीका ८ सयओटा बिटिएस बढायौं । साढे ४ सयको हाराहारीमा हामीले ग्राउन्ड बेस टावरहरू बनाइसक्यौं । यसले टुजी र थ्रिजीको कभरेज बढेको छ । जहाँ टुजी मात्रै थियौं, त्यहाँ थ्रिजी र जहाँ मोबाइलको नेटवर्क नै थिएन, त्यहाँ टुजी र थ्रिजीे नेटवर्क विस्तार गरेका छौं । दूरसञ्चार नेटवर्क कम भएका पूर्वी तराई, मध्य तथा उच्च पहाडी, क्षेत्रमा हामी पुगेका छौं । देशका सबै भूभागहरूलाई दूरसञ्चार नेटवर्कभित्र आबद्ध गरिसकेका छौं ।
दूरसञ्चार प्राधिकरणको परियोजनाअनूसार तीन प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने योजना टेलिकमले पाएको थियो, यसअनुरूप काम किन चुस्त ढंगले हुन नसकेको हो ?
हामीले प्रदेश १, २ र ३ का लागि अप्टिकल फाइबर बिछ्याउने जिम्मेवारी पाएका छौं । यसको ठेक्का सम्झौता गरिसकेका छौं । ठेकेदार कम्पनीहरूले सर्भे गरेर कार्ययोजना बनिसकेको छ र त्यसलाई चाहिने डक्ट र फाइबर आयातको प्रक्रिया चलिरहेको छ । यसलाई कार्यान्वयन गर्न सडक विभागसँग राइट अफ वे (अनुमति) लिने क्रममा छ । गल्छीदेखि मुग्लिनसम्मको अनुमति पाइसकेका छौं । समग्रमा २० देखि ३० प्रतिशतसम्मको काम भइसकेको अवस्था छ । उपकरणहरू आइसकेपछि युद्धस्तरमा काम हुन्छ ।
जहाँ टुजी मात्रै थियाे, त्यहाँ थ्रिजी र जहाँ मोबाइलको नेटवर्क नै थिएन, त्यहाँ टुजी र थ्रिजीे नेटवर्क विस्तार गरेका छौं । दूरसञ्चार नेटवर्क कम भएका पूर्वी तराई, मध्य तथा उच्च पहाडी, क्षेत्रमा हामी पुगेका छौं । देशका सबै भूभागहरूलाई दूरसञ्चार नेटवर्कभित्र आबद्ध गरिसकेका छौं ।
चालू आर्थिक वर्षमा टेलिकमको नाफा २ अर्ब घटेको रिपोर्ट आयो, टेलिकम कहाँनेर चुक्यो ?
खासगरी हाम्रा आयोजनाहरू केही ढिला भएका हुन् । मोबाइलको प्याकेज एक डेढ वर्ष नै ढिला भयो । पूर्वाधार (टावर) निर्माणको कुरामा पनि समस्या आयो । एउटा कम्पनीले सय ओटा टावर बनाउनुपर्ने सम्झौतामा ४ वर्षमा २० ओटा पनि बनाउन सकेन । हामीले सम्झौता रद्द गरेर कालोसूचीमा राख्ने प्रक्रिया सुरू गरिसकेका छौं । अरू पनि त्यस्ता कम्पनी छन्, जसले समयमै काम गरेका छैनन् । उनीहरू विरुद्धमा एक्सनमा गएर करेक्सन गर्नेछौं । हामी सरकारी कम्पनी भएका कारण नाफा नआउने काममा पनि लगानी गर्नुपर्ने हुन्छ र ट्यारिफ सर्वसाधारणलाई सर्वसुलभ रूपले दिनुपर्ने हुन्छ । हामीले सेवा सस्तोमा दिएका छौं, धेरै ठाउँमा दिएका छौं, नाफा नआउने ठाउँमा पनि सेवा दिएका छौं । नाफा कम होला तर सेवा पहुँच, सेवाको विविधता, ग्राहक संख्या, नेटवर्क र भोल्युमका आधारमा हामी कम छैनौं ।
चिनियाँ इन्टरनेट भित्रिएपछि टेलिकमले ब्यान्डविथमा कसरी फाइदा लिएको छ ?
हामीले ब्यान्डविथ अन्तर्राष्ट्रिय रूपमै किन्नुपर्ने हुन्छ । सिंगापुर, हङकङ, अमेरिका आदिबाट ब्यान्डविथ ल्याउनुपर्ने हुन्छ । हामी भू–परिवेष्ठित देश भएका कारण समुद्रसँग सीधा सम्पर्क (केबल ल्यान्डिङ स्टेशन) छैन । कि त चीनको मेन लाइन या त भारतको मेन लाइनलाई क्रस गरेर अप्टिकल फाइबरमा कनेक्टिभ हुनुपर्छ । तर, मिड लाइनबाट कनेक्टिभ भएका कारण अन्य देशको तुलनामा दर बढेको हो । अहिले भारत र चीनतर्फबाट ब्यान्डविथ आयात गर्दा कम्पिटिटिभ एड्भान्टेज हामीले पाएका छौं । अघिल्लो वर्षको तुलनामा ब्यान्डविथको कस्ट पनि घटाउन सफल भएका छौं । उत्तरतफको नेटवर्क पहाडबाट आउने भएका कारण केही अप्ठ्यारो र कमजोरी देखिएका छन् । यसमा गुणस्तर वृद्धि गर्नतर्फ लागेका छौं ।
टेलिकमभित्रको दक्ष जनशक्ति र क्षमताको अझै प्रभावकारी प्रयोग हुन नसकेको गुनासो आइरहन्छ नि ?
४/५ वर्षअघि नेपाल टेलिकममा ५ हजारभन्दा बढी कर्मचारी थिए । त्यतिबेला हाम्रो नेटवर्क साइज कम थियो । ग्राहक कम थिए । अहिले हेर्नुहुन्छ भने देशभर पूर्वाधार पुगेको छ । तर काम गर्ने जनशक्ति त्यतिबेलाको भन्दा कम छन् । त्यसलाई हामीले आउटसोर्समार्फत व्यवस्थापन गरेका छौं । अर्कोतर्फ भएका जनशक्तिलाई तालिम दने, उत्प्रेरणा दिने काम गरिरहेका छौं । अहिले टेलिकमभित्र कर्मचारीको औसत उमेर ४५ भन्दा बढी छ । हामीले उनीहरूलाई पुनर्ताजगी गर्न खोजिरहेका छौं । सेवा विस्तारका लागि आन्तरिक स्रोत र बाह्य स्रोतको प्रयोग भइरहेको छ ।
आगामी दिनमा टेलिकमको व्यवसाय र नेटवर्क कभरेज बढाउन के कस्ता योजना ल्याउँदै हुनुहुन्छ ?
हाम्रो कोर भ्यालू नै टिमवर्कमा हुनुपर्यो । ग्राहकको अपेक्षाअनुसार सेवा प्रवाह हुनुपर्यो । निष्पक्ष व्यवसाय धारण हुनुपर्यो । धेरै ग्राहकलाई कम्पनीको सेवा पुर्याउन र ग्राहकका गुनासोलाई तत्काल सम्बोधन गर्ने काम हुनुपर्यो । हामीले प्रविधिको सेवा दिइरहेका छौं । व्यावसायिकतालाई पनि ध्यान दिनुपर्यो । सँगै नेपाल सरकारको कम्पनी भएकाले सरकारका योजनाहरूलाई यो क्षेत्रबाट गर्नुपर्ने सहयोग पनि दिनुपर्यो । समग्रमा हामीसामु धेरै जिम्मेवारी छन् । यसलाई पूरा गर्न प्रतिबद्ध छौं ।