कीवर्डहरू -

\'युवा, विद्यार्थी र स्टार्टअपको हितमा काम गर्न क्यानमा मेरो उम्मेदवारी\'

\'युवा, विद्यार्थी र स्टार्टअपको हितमा काम गर्न क्यानमा मेरो उम्मेदवारी\'

क्यान महासंघको आसन्न १३औं कार्यसमितिको निर्वाचनका लागि नवराज कुँवर र सुनैना घिमिरेको प्यानल प्रतिष्पर्धामा उत्रिएको छ । आगामी मंसिर ७ मा हुने महासंघको निर्वाचनका लागि दिनेशराज कार्की ले व्यक्तिगत साधारण समूहबाट सदस्यमा उम्मेदवार दिएका छन् । उनले नवराज कुँवर समूहको प्यानलबाट आफ्नो उम्मेदवारी दिएका हुन् । उनी आइटी कम्पनी ‘आइटी भिल्ला’ का प्रबन्ध निर्देशक हुन् भने नेपाल सरकारको विश्व बैंक अन्तर्गतको प्रोजेक्टमा आइसिटी कन्सल्ट्यान्ट रुपमा कार्यरत छन् । विगत ८ वर्षदेखि आइसिटी सम्बन्धी विभिन्न सामाजिक क्रियाकलापहरुमा सक्रिय कार्की क्यान महासंघमा युवा सदस्यहरुबीच बढी परिचित छन् । उनले क्यान इन्फोटेकमा भोल्युन्टर संयोजकदेखि युवा कमिटीमा सक्रिय भूमिका खेलेका छन् :

क्यान महासंघमा तपाईंको उम्मेदवारी किन ?
नेपालको सूचना र सञ्चार प्रविधि क्षेत्रको साझा र एक मात्र अभिभावक संस्थाको रुपमा क्यान महासंघ परिचित छ । विभिन्न प्रकृतिको सदस्यता प्रणाली रहेका कारण समग्र आइसिटी क्षेत्रकै प्रतिनिधित्व यस संस्थाले गरेको छ । मैले विशेषगरी प्राविधिक, युवा जनशक्ति र विद्यार्थीलाई क्यानसँग जोड्नुपर्छ भन्ने अभिप्राय राखेको छु । क्यानभित्र मैले युथ कमिटी र बाहिर विभिन्न सामाजिक फाेरमहरूमा रहेर काम गर्दा थुप्रै समस्या र चुनौती देखेँ ।

युवा जनशक्तिको क्षमतालाई उच्चतम परिचालन गर्न, अवसर सिर्जना गर्न र स्वदेशमै आइटी उद्योगको सहज वातावरण ल्याउनुपर्ने आवश्यकता देखेको छु । यो एक/दुई जनाले गरेर सम्भव हुने होइन । क्यान महासंघजस्तो देशैभर सञ्जाल भएको र राज्य र सरोकारवाला निकायहरु निकट रहेर काम गर्ने संगठनले यसको अगुवाई गर्नुपर्छ भन्ने धारणा मेरो हो । यसकारण मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको छु ।

निर्वाचनका लागि कस्ता एजेन्डा अघि सार्नुभएको छ ?
पहिलो कुरा त क्यान महासंघले युवा, विद्यार्थी र स्टार्टअपको विषयलाई अपनत्व गर्नुपर्छ भन्नेमा म अडिग छु । संगठनले धेरै काम गर्नुपर्ने छ, जुन धेरै सदस्यहरुले उठाइरहनु भएको विषय पनि हो । क्यानले आइसिटी क्षेत्रका मुद्धाहरुको लबी गर्ने, यो क्षेत्रका व्यवासयी र प्रोफेसनलका हकहितका लागि आवाज उठाउने कुरालाई प्राथमिकता दिनुपर्छ । क्यानका हरेक गतिविधि पारदर्शी बनाउन र सबै सदस्यहरुलाई थाहा दिने परिपाटी सुरुवातका लागि मैले आवाज उठाउने छु ।

नेपाल सरकारले स्वदेशी सफ्टवेयर निर्मातालाई प्रोत्साहन गर्न न्यूनतम मापदण्ड ल्याउनुपर्छ । यसका लागि क्यान महासंघले भूमिका खेल्नु वातावरण ल्याउनुपर्छ । नियमित रुपमा नलेज सेयरिङ गर्न क्यानले साझा प्लाटफर्म बनाउनुपर्छ । अर्कोतर्फ क्यानमा सदस्य बन्न स्वतःस्फुर्त मानिसहरु आउने वातावरणका लागि पहल गर्नेछु । यसैबीच हाम्राे समूहले २ वर्षे कार्यकालका लागि प्रतिबद्दतापत्र ल्याएकाे छ । त्यसमा समग्र याे क्षेत्रकाे विकास र विस्तारका लागि प्रस्ट रूपमा उल्लेख गरिएकाे छ ।

नेपालकाे आइसिटी क्षेत्रमा कस्ता चुनौतीहरु देख्नुहुन्छ ?
अहिले पनि नेपालको आइसिटी क्षेत्रलाई सरकारले पत्याउन सकेको छैन । विदेशी सफ्टवेयर नै किन्नुपर्छ भन्ने प्रवृत्ति सरकारमा छ । तर कतिपय सफ्टवेयर विदेशीका लागि नेपालीले नै बनाएका छन् । यसले नेपाली प्रतिभा र क्षमतालाई दुरुत्साहित पारेको छ । यही कारण हजारौं आइटी जनशक्ति विदेशमा पलायन समेत भइरहेका छन् । स्टार्टअपलाई फन्डिङका कार्यक्रम छैनन्, उत्प्रेरणा दिने निकायको अभाव छ । स्टार्टअप कल्चरको चेतना पनि कमै छ ।

क्यान जस्तो संस्थाले स्टार्टअपका लागि ‘ग्रुमिङ सेन्टर’को व्यवस्था गर्नुपर्छ । अर्कोतर्फ विकासमा सूचना प्रविधिको प्रयोग बढाउन सकिएको छैन । इन्डस्ट्री र एकाडेमियाबीच अझै तालमेल नमिलेको अवस्था छ । यी यावत् चुनौतीका बाबजुद पनि नेपालको भविष्य आइसिटी क्षेत्रमै छ । यो ढिलो चाँडो सबैले बुझ्ने छन् ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामी आइटी क्षेत्रमा विभिन्न भूमिकामा काम गरिरहे पनि हाम्रो अहिलेको दायित्व भनेको नेपालमा आइसिटी क्षेत्रको इकोसिस्टम बनाउनु नै हो । सबैले यसका लागि आफ्नो ठाउँमा योगदान दिनुपर्छ । एकअर्कामा सहकार्यको भावना उत्तिकै आवश्यक छ । क्यान महासंघले सम्पूर्ण आइसिटी क्षेत्रका लागि साझा संगठनको रुपमा काम गर्दै आएको छ ।

यही परिप्रेक्ष्यमा मैले आसन्न क्यान महासंघको कार्यसमितिको निर्वाचनमा व्यक्तिगत साधारण समूहबाट सदस्यका लागि उम्मेदवारी दिएको छु । यो समूहमा रहेका सम्पूर्ण मतदाताको पक्षमा मैले काम गर्न प्रस्ट योजना पनि अघि सारेको छु । तपाईहरुको मुद्धा लिएर संगठनमा प्रतिनिधित्व गर्न मलाई अमूल्य साथ र सहयोगको खाँचो छ ।