कीवर्डहरू -

इटहरीको क्यान इन्फोटेक विशेष हुनेछ: बास्तोला

इटहरीको क्यान इन्फोटेक विशेष हुनेछ: बास्तोला

माघ १ गते देखि ५ गते सम्म इटहरीमा प्रदेश १ स्तरीय ‘क्यान इन्फोटेक’ हुदैछ । नेपालमा क्यान इन्फोटेक धेरैको आकर्षनको केन्द्र समेत हो । क्यान इन्फोटेकबाट सुचना प्रविधि सम्बन्धी  विविध जानकारी थाहा पाउन सकिन्छ ।  क्यान इन्फोटेकको विषयमा आधारित रहेर क्यान महासंघ सुनसरीका अध्यक्ष विशाल बास्तोला सँग गरिएको कुराकानीको सम्पादित अंशः

यस वर्ष प्रदेश १ को इटहरीमा इन्फोटेक हुँदैछ, कस्तो छ तयारी ?

इटहरीमा २ वर्षपछि इन्फोटेक हुँदैछ । प्रदेश १ मा गतवर्ष विराटनगरमा इन्फोटेक भएको थियो । यस वर्षको इन्फोटेकलाई विशेष बनाउने प्रयास गरिरहेका छौं ।

नेपालभर हुने इन्फोटकको सुरुवात नै इटहरीबाट भइरहेको छ, यसर्थ यो सूचना प्रविधि क्षेत्रका लागि महत्वपूर्ण प्लाटफर्मको रूपमा विकास गर्ने तीव्र तयारीमा छौं । स्पोन्सर र स्टल बुकिब धमाधम भइरहेको छ ।

हामीले प्रचार प्रसारमा विशेष ध्यान दिएर विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । कलेजहरूमा आइसिटी क्लब मार्फत कार्यक्रमहरू भइहेका छन् । प्रदर्शनीका स्टलसँगै ब्राण्डिङ, इन्नोभेसन, स्टार्टअपहरूलाई पनि प्राथमिकता दिएका छौं ।

इन्फोटेकमा सामान खरिदविक्री मात्र बढी भयो भन्ने गुनासोलाई इटहरीको इन्फोटेकले नयाँ सन्देश देला ?

नयाँ प्रडक्टहरूको प्रदर्शनी स्वाभाविक रूपमा नै हुन्छ । हरेक समय नयाँ प्रविधिहरू भित्रिरहेका हुन्छन्, यसको बारेमा जानकारी दिनु आवश्यक पनि छ ।

यसैगरी हामीले ब्राण्डिबलाई विशेष ध्यान दिएका छौं । ठूला आइटी कम्पनीहरूले प्रोडक्ट ल्याएर विक्री गर्नेमात्र नभएर कम्पनीलाई ब्राण्डिब गर्ने स्पेसहरू पनि दिएका छौं । नयाँ

इन्नोभेसन, विद्यार्थीका प्रोजेक्ट र स्टार्टअपहरूलाई छुट्टै स्पेस छुट्याएर प्रवद्र्धन गर्ने तयरीमा छौं । आइसिटी स्टार्टअप मेलाका केही स्टार्टअप, रोबोट र ड्रोनहरूलाई पनि कार्यक्रममा निमन्त्रणा दिएका छौं ।

इन्फोटेकमा सयभन्दा बढी स्टलहरू रहनेछन् । यसले गर्दा इन्फोटेक सबै हिसाबले राम्रो बनाउने प्रयास छ ।

इन्फोटेकमा किन आउने, अवलोकनकर्तालाई तपाईंको आग्रह के छ ?

नयाँ प्रविधिको जानकारी लिन, सिक्न अवश्य इन्फोटेक आउनुपर्छ । प्रविधिप्रेमीले मात्र नभएर सबै जनमानसले यस्ता कार्यक्रममा सहभागी भएर धेरै कुरा बुझ्ने अवसर मिल्नेछ ।

इटहरीसँगै प्रदेश १ का सर्वसाधारण, उद्योगी व्यवसायी, कर्मचारी, सरकारी अफिसर, विद्यार्थी लगायत सबैलाई इन्फोटेक अवलोकनका लागि आग्रह गर्दछु ।