कीवर्डहरू -

चितवनमा अब हरेक वर्ष इन्फोटेक गर्ने योजनामा छौं

चितवनमा अब हरेक वर्ष इन्फोटेक गर्ने योजनामा छौं

विष्णुप्रसाद लामिछाने
उपाध्यक्ष, क्यान महासंघ चितवन

क्यान इन्फोटेकको विशेष आकर्षण केके हुन् ? 
मेलामा ५० भन्दा बढी कम्पनीहरुका ८० स्टल सहभागी भएकोमा अवलोकनकर्ताकर्ताले एकै थलोबाट विश्वबजारका नवीनतम सूचना प्रविधिजन्य वस्तु र सेवाबारे प्रत्यक्ष ज्ञान हासिल गर्ने अवसर पाएका छन् । मेलामा कम्युटर, मोबाइल, ल्यापटप, प्रिन्टर, नेटवर्किङ प्रडक्ट, इन्टरनेट सेवाप्रदायक, स्मार्ट टीभी, सफ्टवेयर, आइटी र कम्प्युटर इन्जिनियरिङ कलेज, सेक्युरिटी, कन्सल्टेन्सीलगायतका स्टल छन.। यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि आइटी सेमिनार र गोष्ठी गर्दैछौं । साथै विद्यार्थीले मेलामा रोबोटिक प्रर्दशनीका स्टलहरु राखेका छन् भने गेमिङ्गका स्टलहरु पनि आकर्षणको केन्द्रमा छन् । मेलाकै दौरान आइटी क्विज कम्पिटिशन र सफ्टवेयर लञ्च कार्यक्रम पनि राखिएको छ । 

एक्जिबिटर्सले भिजिटर कम भए कि भन्ने गुनासो राखेका छन् नि ?
भिजिटर कम भयो भन्न मिल्दैन । पहिलो दिन १२ हजारले मेला अवलोकन गरेका थिए । दोस्रो दिन झनै अवलोकनकर्ता बढेका थिए । आज शनिबार बिदाको दिन र इन्फोटेकमा बिजनेश डे समेत भएकाले धेरै अवलोकनकर्ता आउने अपेक्षा छ । हाम्रो मुख्य लक्षित अवलोकनकर्ता भनेको विद्यार्थी र युवापुस्ता हुन् । उनीहरुको आगमन बढिरहेको छ । हामीले करिब २ लाख अवलोकन आउने अपेक्षा लिएका छौं । हाम्रो योजना त्यही छ । सबैको साथ र सहयोग आवश्यक हुन्छ । चितवनमा समग्र सूचना सञ्चार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोगी भूमिका खेल्न सक्छ । हामीले इन्फोटेकलाई व्यापारिक रुपमा नभई प्रवद्र्धनात्मक अवधारणामा आयोजना गर्ने सोच छ । व्यापारिक मेला त एक दिन हो, ब्रान्डिगं कन्सेप्टमा गर्न सक्यौं भने त्यसले दीर्घकालनीन व्यापार दिन्छ भन्ने बुझाइ हाम्रो छ ।

चितवनमा आइीसटी क्षेत्रको विकास कसरी भइरहेको पाउनुभएको छ ? 
जे जति भएको छ, व्यवसायीको तर्फबाट भएको छ । राज्यले चितवनमा आइटीका लागि छुट्टै काम गरेको छ जस्तो लाग्दैन । इन्फोटेककै लागि हामीले नगरपालिकासँग समन्वय गर्न खोज्यौं । नेपाल सरकारसँग बजेट नै नभएर हो या इच्छा नभएर हो कुनै सहयोग समेत गर्न सक्नुभएन । व्यवसायिक रुपमा त चितवन ग्रोइङ मार्केट हो । हामीले निजीस्तरमा गरेका काम सन्तोषजनक नै छन् ।