नेपालमा भारतबाट विभिन्न ५ नाका र चिनबाट १ ठाउँबाट इन्टरनेट भित्रने गरेको एनपीनगका अध्यक्ष समीत जन थिङले जानकारी दिए । नेपालमा इण्टरनेटको ब्याण्डवीथ भित्र्याउने मूलबाटो भैरहवा नाका भएको उनले बताए । त्यसपछि वीरगञ्जबाट पनि धेरै ब्याण्डवीथ आयात हुने उनले जानकारी दिए । त्यसपछि ढल्केबर, दुहबी र टनकपुरबाट पनि इण्टरनेट आयात हुन्छ ।
रसुवागढी नाका भएर ब्याण्डवीथ किन्ने चीनसँग सम्झौता भए पनि त्यहाँबाट खासै ठूलोमात्रामा ब्याण्डवीथ आयात हुन नसकेको उनले बताए । रसुवागढी नाकाबाट इण्टरनेट ल्याउँदा हिमाली बाटो भएकाले प्राकृतिक प्रकोपको जोखिम बढी भएको थिङले जानकारी दिए । ‘हिमपहिरो र हिमपातले पनि बेलाबेला फाइबरमा समस्या आउने हुन्छ,’ उनले भने, ‘सिन्धुपाल्चोकको तातोपानी नाकाबाट पनि ल्याउने गरी पुर्वाधार निर्माणको काम हुँदै छ । त्यो नाका खुलेपछि चाहीँ चीनसँगको कारोबार बढ्नसक्छ ।’
उनले एउटा नाकामा समस्या हुँदा अर्को नाकाबाट ब्याण्डवीथ ल्याउन सक्ने सुविधा भएमा चिनियाँ ब्याण्डवीथ आयात गर्न इन्टरनेट सेवाप्रदायकहरु तयार हुनसक्ने बताए । यद्यपि, भारतको तुलनामा चिनियाँ इण्टरनेट महँगो पर्ने भएकाले पनि नेपाली सेवा प्रदायक आकर्षित हुन नसकेको उनले बताए ।
नेपालले अहिले भारतको एयरटेल र टाटा कम्पनीसँग ठूलो मात्रामा इण्टरनेट खरीद गरिरहेको छ । त्यसपछि सिफी र अरु थुप्रै कम्पनीको इण्टरनेट ब्याण्डवीथ पनि नेपालले आयात गर्छ । चीनबाट भने नेपाल टेलिकमले चाइना टेलिकमसँग इण्टरनेट किनिरहेको छ । अलिबाबा र बाइडुजस्ता कम्पनीबाट पनि मर्कण्टायल र वल्ड लिंकले कमैमात्र भए पनि इण्टरनेट खपत गरेको थिङले जानकारी दिए ।