कीवर्डहरू -

देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक

तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी लिपिलाई तामाङ भाषामैत्री सफ्टवेयर विकास गरिएको जानकारी दिइयो । युवा आईटीविज्ञ भिक्टर सापकोटाले विकास गरेको तामाङ टोपीसहितको एन्ड्रोइड किबोर्ड सफ्टवेयरले तामाङ समुदायका प्रयोगकर्तालाई लाभान्वित गराउने विश्वास गरिएको छ । यो किबोर्डलाई ‘देवनागरी तामाङ’ नाम दिइएको छ ।

सेन्ट जेभियर्स कलेज बीएस्सी सीएसआईटीका विद्यार्थी सापकोटाले काठमाडौं विश्वविद्यालयका उपप्राध्यापक डा.बालकृष्ण बलको निर्देशनमा यो एप तयार पारेका हुन् । ‘भिक्टरले तीन महिना अवधिमा मिहिनेतपूर्वक यो काम गरेका छन्,’ बलले भने, ‘तामाङ भाषा लेखनमा नयाँ सम्भावना पहिल्याउने विश्वस्त छु ।’

तामाङ किबोर्डको मुख्य विशेषता भनेको यस किबोर्डबाट केही तामाङ अक्षरहरू लेख्न नुक्ता चिह्नको प्रयोग गर्न सकिन्छ । केही मौलिक तामाङ वर्णहरू ङ्ह, न्ह, म्ह आदिलाई नुक्ता चिह्न प्रयोग गरेर लेख्न सकिन्छ ।

प्रयोगकर्ताहरूलाई पनि प्रयोग गरिहाल्न सहज होस् भनेर किबोर्ड इन्सटल गरेदेखि मोबाइलको सेटिङमा तामाङ किबोर्ड इनेबल गरी चयन गर्नसम्म हाम्रो किबोर्डमा गरे जसरी नै तामाङ किबोर्ड एप ओपन गरेर गर्न सकिन्छ ।’ यति गरेपछि फेसबुक, मेसेन्जर, आदि जुनसुकै एपबाट पनि देवनागरी तामाङमा लेख्न सकिने उनले जनाएका छन् ।

यो एन्ड्रोइड ओएसको ४.४ वा माथिल्लो भर्जन प्रयोग गर्ने जुनसुकै मोबाइल तथा अन्य डिभाइसमा इन्सटल गर्न सकिने भिक्टर बताउँछन् । ‘देवनागरी लिपिमा तामाङ टाइप गर्नका लागि बनाइएको यस एपले देवनागरी र रोमन लिपिमा तामाङ, नेपाली र अंग्रेजी भाषा टाइप गर्न प्रयोग गर्न सकिन्छ,’ उनी भन्छन्, ‘देवनागरी तामाङमा टाइप गर्नका लागि तामाङ किबोर्डमा पनि रोमनाइज्ड ढाँचामा लेआउट तयार पारिएको छ ।