कीवर्डहरू -

म साइबर क्राइमबाट प्रहरी बोलेको हो भन्दै नग्न फोटो र भिडियो माग्नेमा सचेत रहन आग्रह

म साइबर क्राइमबाट प्रहरी बोलेको हो भन्दै नग्न फोटो र भिडियो माग्नेमा सचेत रहन आग्रह

‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, भन्दै नग्न फोटो र भिडियो माग्ने क्रम बढ्दै गएको र त्यस्ता क्रियाकलापबाट सचेत रहन नेपाल प्रहरीको साइबर ब्यूरोले आग्रह गरेको छ ।

साइबर ब्यूरोका अनुसार ‘म साइबर क्राइम डिपार्टमेन्ट’ बाट प्रहरी बोलेको हो, तपाईको फेसबुक अकाउन्ट ह्याक भएको छ अश्लिल फोटो तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, हामीले एक पटकका लागि त्यो हुन् रोकिदिएका छौं । तर भेरिफिकेसनको लागि आफ्नो नग्न फोटो र भिडियो पठाउनुहोस् भन्ने गरेका छन् ।
ल्याण्डलाइन, मोबाइल फोनमा प्राइभेट वा कुनै पनि नदेखिने तथा सामाजिक सञ्जाल फेसबुकमा फेक अकाउन्ट बनाई मेसेन्जरबाट कल गरेर नग्न फोटो र भिडियो माग्ने क्रम बढ्दै गएको प्रति ध्यानाकर्षण भएको ब्यूरोले जनाएको छ ।

नग्न फोटो र भिडियो इमेल तथा सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा पठाउन लगाउने र त्यसपछि सो इमेल र फेसबुक आइडी, म्यासेन्जर डिएक्टिभेट गर्ने गरेको भन्ने सूचना एवं उजुरी पछिल्लो समय बढ्दै साइबर ब्यूरोका प्रवक्ता नविन्द अर्यालले जानकारी सिएका छन् ।

यसरी प्रविधिको दूरूपयोग गरी गरिएका गैरजिम्मेवार तथा ऐन कानून विपरित कार्य गर्ने प्रति सजग भई त्यसरी झुक्यानमा पार्ने खालका क्रियाकलाप बाट सचेत रहन र आफ्ना कुनै पनि व्यक्तिगत विवरण कसैलाई उपलब्ध नगराउन प्रहरीले अनुरोध गरेको छ ।

साइबर ब्यूरोका अनुसार त्यस्ता कार्यहरु भए गरेको पाईएमा तत्काल आफ्नो अभिभावक, नजिकको प्रहरी कार्यालय वा प्रहरी प्रधान कार्यालय, साईबर ब्यूरोको टेलिफोन नं. ०१- ४२१९०४४, ४२१९०४८, मोबाईल नं. ९८५१२८६७७० वा ई-मेल ठेगाना [email protected] मा सूचना वा जानकारी दिन सकिने छ ।