कीवर्डहरू -

‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’

‘डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ’

आगामी फ्रेबुअरी २५ अर्थात् फागुन १३ गते नेपालमा ‘डिजिटल लर्निङ डे’ मनाइने भएको छ । हरेक वर्ष फ्रेबुअरी २५ मा विश्वभर मनाउँदै आएको डिजिटल लर्निङ डे यस वर्ष पनि नेपालमा मनाइने भएको हो ।

यस वर्ष निमा एजुकेसन फाउन्डेसनको आयोजना तथा कारखाना, सोचवेयर र लिभिङ विथ आइसिटीको सहआयोजनामा नेपालमा ‘डिजिटल शिक्षाका लागि सँगै’ भन्ने नाराका साथ डिजिटल लर्निङ डे मनाइँदै छ । सन् २०१२ बाट विश्वभर डिजिटल लर्निङ डे मनाउन थालिएको हो ।

निमा एजुकेसन फाउन्डेसनले पनि डिजिटल लर्निङको जनचेतना फैलाउन गत दुई वर्षदेखि नेपालमा डिजिटल लर्निङ डे मनाउँदै आएको छ । यसै विषयमा डिजिटल लर्निङ डेकी कार्यक्रम संयोजक तथा निमा एकेडेमीकी सीओओ नेहा जोशी सँग आइसिटी समाचारले गरेको कुराकानीको सम्पादित अंशः


डिजिटल लर्निङ डे भनेको के हो ? किन नेपालमा डिजिटल लर्निङ डे मनाइन्छ ?

डिजिटल लर्निङ डे फेब्रुअरी अन्तिम साता विश्वभर नै मनाइन्छ । डिजिटल लर्निङको जनचेतना फैलाउन र यसको महत्व देखाउन डिजिटल लर्निङ डे मनाइन्छ ।

नेपालमा पनि हामीले पहिलोपटक दुई वर्ष अघिदेखि डिजिटल लर्निङ डे मनाउन थालेका हौं । त्योभन्दा अगाडि नेपालमा कसैले पनि डिजिटल लर्निङ डे मनाउँदैनथे ।

डिजिटल लर्निङ डेको महत्व के छ ?

डिजिटल लर्निङ कुनै पनि बेला कुनै पनि ठाउँबाट लिन सकिन्छ । डिजिटल लर्निङमा शिक्षाको गुणस्तरीयता कायम हुन्छ । डिजिटल लर्निङ सबैले एफोर्ड गर्ने खालको हुन्छ । डिजिटल लर्निङले गर्दा शिक्षाको पहुँच र शिक्षाको समानता पनि मेन्टेन हुन्छ ।

सन् २०२१ मा यो कार्यक्रम कसरी मनाउँदै हुनुहुन्छ ?

सन् २०२१ मा हामीले यसलाई ठूलो र राम्रो कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेका छौं । गत दुई वर्षदेखि हामी आफैले मात्रै डिजिटल लर्निङ डे नेपालमा मनाइरहेका थियौं ।

यस वर्ष हामीले ठूलो गरौं र मिलेर गरौं भन्ने उद्देश्यले निमा एजुकेसन फाउन्डेसनको आयोजना, सोचवेयर र लिभिङ विथ आइसिटीको सहआयोजना र कारखानाको सपोर्टमा डिजिटल लर्निङ डे मनाउँदै छौं ।

कार्यक्रममा कुन कुन विषयमा प्यानल सेसनहरू हुनेछन् ?

यस पटकको डिजिटल लर्निङ डेमा ‘पोलिसी र प्लानिङ’ विषयमा एउटा प्यानल डिस्कसन आयोजना गर्दैछौं । त्यस्तै ‘भविष्यको डिजिटल शिक्षा’ विषयमा पनि हामीले अर्को प्यानल डिस्कसन आयोजना गर्दैछौं ।

त्यसैगरी हामीले फेब्रुअरी २२, २३, २४ मा अनलाइनबाटै वर्कशप गर्दैछौं, जसमा ३ दिनमा ३ फरक फरक वर्कशप आयोजना हुनेछ । साथै ‘किड्स एण्ड टेक’ विषयमा पनि अनलाइनबाटै किड्स प्यानल डिस्कसन हुनेछ ।

नेपालमा पछिल्लो समय डिजिटल लर्निङको अवस्था कस्तो छ ?

अहिलेको समयमा डिजिटल लर्निङको अवस्था राम्रो नै छ । कोरोना महामारीले त यसको महत्व झनै बढेको छ । महामारीपछि धेरै शैक्षिक संस्थाले डिजिटल लर्निङलाई प्रयोग गर्न थालेका छन् ।

पछिल्लो समय अभिभावकहरूले पनि अनलाइनबाटै पढ्नका लागि ल्यापटप, मोबाइल लगायतका ग्याजेट्स किनिदिनु भएको छ । नेपालमा एउटा लेभलसम्म यसको प्रयोग भएको छ । तर अझै धेरै काम गर्न बाँकी छ ।

निमाले डिजिटल लर्निङमा कसरी योगदान दिइरहेको छ ?

हामीले रिसर्च एण्ड डेभलपमेन्ट गरिरहेका छौं । बच्चाहरूलाई कस्तो खालको कन्टेन्टको आवश्यकता छ र उनीहरूले के मन पराउँछन्, त्यस्तो खालको कन्टेन्टहरू तयार गर्दैछौं ।

साउन्ड, म्युजिक, क्यारेक्टर डिजाइन लगायत सानो सानो भागमा केन्द्रित भएर काम गरिरहेका छौं । हामीले सन् २०२० मा कोरोना महामारी शुरु भएपछि हाम्रो एप निःशुल्क प्रयोग गर्न दिएका छौं । अहिलेसम्म पनि निःशुल्क नै छ ।

हामीले विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी सबैलाई निःशुल्क ट्रेनिङ दियौं । हामीले करिब ८५ विद्यालय, २०० विद्यार्थीलाई निःशुल्क ट्रेनिङ दियौं । यो काम हामीले संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत गरेका हौं ।