कीवर्डहरू -

क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे

क्यान कमटेक २०१७ सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो : सुनैना घिमिरे

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा हुन लागेको दोस्रो संस्करणको सुबिसु क्यान कमटेक २०१७ को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २९ देखि ४ दिनसम्म हुने कमटेकमा सुचना र सञ्चार क्षेत्रका विभिन्न कम्पनीका ८७ स्टलहरुको प्रदर्शनी रहनेछ । यसै सन्दर्भमा हामीले महासंघकी सचिव सुनौना घिमिरे(पाण्डे) सँग कमटेक विशेष भएर कुराकानी गरेका छौं  : \"\"
क्यान कमटेक आयोजना गर्नुको मुख्य उद्धेश्य के हो ?
नेपालमा सूचना तथा संचार प्रविधि क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका लागि क्यान महासंघले निरन्तर काम गरिरहेको विदितै छ । यसै सिलसिलामा हामीले गत वर्षदेखि आयोजना गरेको क्यान कमटेक मेला सञ्चार प्रविधिसँग सम्बन्धित वृहत् प्रदर्शनी हो । हामीले नेपाली समाजमा कस्ता सञ्चार प्रविधि भित्रिरहेका छन्, त्यसको पछिल्लो विकास र प्रगति आमजनतालाई देखाउन क्यान कमटेक गरेका हौं ।

कमटेकको तयारी कहाँ पुग्यो ?
हामीले लगभग सबै तयारी सकेका छौं । इन्फोटेकमा २ सयभन्दा बढी स्टल रहने भएकाले हामीलाई स्टल व्यवस्थापन गर्ने चुनौती थियो । तर, कमटेकमा करिब ९० स्टल छन् । हामीले भृकुटीमण्डपको मुख्य प्रदर्शनी हलमै सबै स्टल राख्ने भएकाले तुलनात्मक रुपले कम चुनौती छ । भोली बुधबारसम्म स्टल निर्माण पनि भइसक्ने छ ।

उद्घाटन कसरी हुँदैछ ?
सुबिसु क्यान कमटेक २०१७ को औपचारिक उद्घाटन भदौ २९ गते हुनेछ । विहान ११ बजे प्रदर्शनीमार्गस्थित नेपाल टुरिजम बोर्डको हलमा माननीय सुचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले यो संस्करणको कमटेकको उद्घाटन गर्नुहुने छ । समारोहमा नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, आइटी क्षेत्रका क्रियाशील व्यवसायी र पेशाकर्मीका साथमा सञ्चारकर्मीहरुको उपस्थिति हुनेछ ।

यसपटकको कमटेक कसरी विशेष रहनेछ ?
यो सञ्चार प्रविधि क्षेत्रमा भइरहेको पछिल्लो विकासलाई एकैथलोमा प्रदर्शनी गर्ने अवसर हो । विशेषगरी यो पटक हाइस्पिड इन्टरनेट, आइपी टिभी, सेक्युरिटी प्रडक्टहरु, सफ्टवेयर सोलुसन्स, मोबाइल एप्लिकेशन आदिमा विशेष आकर्षण रहने छ । यस पटकको प्रदर्शनीमा सेक्यूरिटी सोलुशन्स कम्पनीहरुका लागि छुट्टै प्याभेलियनको व्यवस्था गरिएको छ । जसलाई Electronic Security तथा Safety and Solution भन्ने गरिएको छ ।

उक्त प्याभेलियनमा अबलोकनकर्ताहरुले ectronic Security तथा Safety and Solution का उपकरणहरु जस्तै CCTV, Access Control System, Sensor and Alarm, Staff Attendance, Fire and Smoke Detector, Fire Fighter आदि रहने छन । साथै मेलालाई मध्येनजर गरी हाम्रा प्रायोजक र एक्जिबिटर्सले आकर्षक अफरहरु पनि सार्वजनिक गरेका छन् ।

कसले हेर्नुपर्छ कमटेक ?
सूचना तथा सञ्चार प्रविधिप्रेमी सबैले यो कमटेक हेर्नपर्छ । विश्व र नेपाली बजारमा के-कस्ता प्रविधि भित्रिएका छन्, त्यसको जानकारी एकै समयमा एकै थलोबाट लिने यो अवसर हो । आइीसटीसम्बन्धी जानकारी आमजनमानसमा हुनुपर्दछ भन्ने मुल ध्येयका साथ प्रदर्शनी आयोजना गरेका हौं ।

अवलोकनका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा कार्यरत व्यक्तिहरु, उद्योगीहरु, नीतिनिर्माताहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा अध्ययनरत विद्यार्थीहरु, सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत तथा यस क्षेत्रलाई माया गर्नुहुने नेपाल सरकारका विभिन्न निकायहरु, बैंक तथा वित्तीय संस्थाहरु, स्कुलकलेजहरु तथा अन्य निजी क्षेत्रमा कार्य गरिरहनु हुने जिज्ञासु व्यक्तिहरु तथा विभिन्न कुटनितीक नियोगका प्रतिनिधिहरुसमेतबाट प्रदर्शनीको अवलोकन हुने हामीले अपेक्षा लिएका छौं ।

कमटेकबाट के अपेक्षा गर्न सकिन्छ ?
यो ब्राण्डिङ एक्जिबिसन हो, जहाँ व्यापारी वा सेवाप्रदायकले आफ्ना उपभोक्तासँग सिधै आफ्नो वस्तु र सेवाको प्रवद्र्धन गर्न सक्छन् । यसले मुख्य गरी आइसिटीको प्रयोग र पहुँचलाई बढावा दिने अपेक्षा गरेकी छु् । हामी ई–नेपालको सपना साकार पार्न लागिपरेका छौं । यही सिलसिलामा आयोजना गरिएको क्यान कमटेक त्यसको लागि एक कोशेढुंगा हुन सक्छ ।