कीवर्डहरू -

५० स्थानमा चार्जिङ स्टेशन निर्माण हुने, कुन कुन ठाउँमा हुँदै छन् निर्माण ? 

५० स्थानमा चार्जिङ स्टेशन निर्माण हुने, कुन कुन ठाउँमा हुँदै छन् निर्माण ? 

सात प्रदेशका ५० स्थानमा विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन निर्माण हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीय सवारी साधनको चार्जिङ स्टेसनको आपूर्ति, जडान, परीक्षण,सञ्चालन र मर्मतसम्भारका लागि मंगलबार ठेक्का सम्झौता गरेको हो ।

नेपाल विद्युत प्राधिकरणको विद्युतीय सवारी चार्जिङ पूर्वाधार विकास आयोजना र अन्तर्राष्ट्रिय टेण्डरबाट छनोट भएको वाङवाङ डिजिटल इनर्जी कर्पोरेसन लिमिटेड,जियाङ्सु, चीनबीच मंगलबार ३७ करोड ७९ लाख ५५ हजार रुपैयाँमा (करबाहेक) ठेक्का सम्झौता भएको हो ।

विद्युतीय सवारीसाधनको चार्जिङ स्टेशन मुख्य राजमार्ग,बसपार्क र ठूला सहरहरुमा राखिने छ । काठमाडौं उपत्यकामा ७ वटा चार्जिङ स्टेशन राखिने छ ।

प्रदेश नम्बर १ मा झापाको दमक,भद्रपुर,कन्काई, मोरङको विराटनगर र सुनसरीको इटहरीमा चार्जिङ स्टेसन राखिने छ । प्रदेश नम्बर २ मा पर्साको विरगंञ्ज, बाराको सिमरा, रौतहटको चन्द्रनिगाहापुर,धनुषाको ढल्केबर तथा जनकपुरधाम, महोत्तरीको बर्दिबास र सप्तरीको राजविराज चार्जिङ स्टेशन राखिने बताइएको छ ।

त्यस्तै बागमती प्रदेशमा धादिङको मलेखुमा २, विपी राजमार्गको सिन्धुलीमा २,मकवानपुरको हेटौंडामा २, चितवनको भरतपुरमा २ तथा मुङलिन÷कुरिनटारमा ४ र काभ्रेको बनेपामा १ वटा चार्जिङ स्टेसन स्थापना हुनेछन् । गण्डकी प्रदेशमा नवलपुर,तनहुँको दमौली,स्याङजामा १-१ र कास्कीको पोखरामा ३ वटा चार्जिङ स्टेशन राखिने छ ।

लुम्बिनी प्रदेशमा बाँकेको नेपालगञ्जमा १, दाङको भालुवाङ तथा दाङमा १-१, रुपन्देहीको बुटवलमा १, नवलपरासीको बर्दघाट-सुनवलमा २ वटा चार्जिङ स्टेशन रहने छन् ।

कर्णाली प्रदेशको सुर्खेतमा १ वटा चार्जिङ स्टेशन राखिने छ भने सुदूरपश्चिम प्रदेशमा कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी र डडेल्धुरामा १-१ वटा चार्जिङ स्टेसन स्थापना हुने बताइएको छ ।

एसियाली विकास बैंकको सहयोगमा निर्माण गर्न लागिएको ५० वटा चार्जिङ स्टेशन एक वर्षभित्रमा सक्ने गरी ठेक्का सम्झौता गरिएको छ । सञ्चालनमा आएको ५ वर्षसम्म चार्जिङ स्टेशनको मर्मतसम्भार ठेकेदार कम्पनीले गर्नेछ ।