कीवर्डहरू -

राष्ट्र बैंकबाट अनुमति पाउने भुक्तानी सेवा प्रदायक २८ पुगे, अब अरुले नपाउने

यस्ता छन् राष्ट्र बैंकबाट अनुमति पाएका भुक्तानी सेवा प्रदायक

राष्ट्र बैंकबाट अनुमति पाउने भुक्तानी सेवा प्रदायक २८ पुगे, अब अरुले नपाउने

नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त गर्ने भुक्तानी सेवा प्रदायकको संख्या २८ पुगेको छ। केही दिनअघि राष्ट्र बैंकले सजिलो पे पेमेन्ट सर्भिसलाई स्वीकृति दिएसँगै अब नयाँले अनुमति नपाउने भएका छन्।

अन्तिम पटक राष्ट्र बैंकबाट २८ औं सेवा प्रदायकको रूपमा आएको सजिलो पे पेमेन्ट्सको चुक्ता पुँजी एक करोड रुपैयाँ रहेको छ।

सजिला पे पेमेन्टले अनुमति पाएसँगै भुक्तानी सेवा प्रदायकलाई स्वीकृति दिने काम अहिलेलाई बन्द भएको राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुबन कँडेलले बताए ।

‘भुक्तानी सेवा प्रदायकको अनुमति दिने काम अहिलेलाई बन्द भएको छ,’ आइसिटी समाचारसँग कुरा गर्दै कँडेलले भने, ‘भुक्तानी सेवा प्रदायकको संख्या अब २८ पुगेको छ।’

गत साउनमा राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गर्दै भुक्तानी सेवा प्रदायक संस्था सञ्चालन गर्न सैद्धान्तिक सहमति प्रदान गरिएका बाहेक नयाँ कम्पनीलाई अनुमति दिन बन्द गरेको थियो ।

उक्त नीति अनुसार सैद्धान्तिक सहमति प्रदान गरिएका भुक्तानी सेवा प्रदायकलाई सञ्चालन गर्न अनुमति दिने काम सकिएको र अब नयाँ कम्पनीलाई अनुमति नदिने उनको भनाइ छ ।

चुक्तापुँजीका आधारमा नमस्ते पे सबैभन्दा ठुलो सेवा प्रदायक रहेको छ ।जसको चुक्ता पुँजी ४० करोड रूपैयाँ रहेको छ ।

२८ वटा भुक्तानी सेवा प्रदायकले अनुमति पाए पनि यी कसरी अगाडी बढ्छन त्यो भने बजारले निर्धारण गर्ने निर्देशक कँडेलले बताए ।

‘यिनीहरु अगाडि कसरी जालान भन्ने कुरा बजारले नै निर्धारण गर्छ,’ उनले भने, ‘जसले जनताको विश्वास जित्न सक्छ, जसले आफूलाई बलियो रुपमा प्रस्तुत गर्न, सुरक्षित, रोबष्ट, बढी नेटवर्क बनाउन सक्छन् उनीहरु अगाडि जाने हुन् ।’

राष्ट्र बैंकले नीति निर्माण तहमा रहेर नियमनको कार्य गर्ने र सबैलाई समान व्यवहार गरेर नीति बनाएको उनले बताए। ‘सरल, सहज, पारदर्शी होस भन्ने हाम्रो लक्ष्य हुन्छ’ कँडेलले भने,

यस्ता छन् राष्ट्र बैंकबाट अनुमति पाएका भुक्तानी सेवा प्रदायक

आइएमई पे
इसेवा
सेल पे
सिजी पे
खल्ती
मोरू
क्यु पे
पे टाइम
स्मार्ट कार्ड
मोहर पे कार्ड
प्रभु पे
इनेट पे
मोको
कुराकानी पे
पेवेल
जीएमई पे
डि पैसा
सुपर याप यो पे
यात्रा कार्ड
लेनदेन सेवा
डिजी पे
मोबालेट
आई पे
आई क्यास
नमस्ते पे
एन क्यास
छिटो पैसा
सजिलो पे पेमेन्ट