कीवर्डहरू -

सबै सरकारी कारोबारहरु डिजिटल माध्यमबाट गर्नुपर्छ: नेप्स सीईओ सञ्जीव सुब्बा

सबै सरकारी कारोबारहरु डिजिटल माध्यमबाट गर्नुपर्छ: नेप्स सीईओ सञ्जीव सुब्बा

आइबिएन मिडिया एन्ड रिसर्च प्रालिले निर्माण गरी हरेक आइतवार नेपाल टेलिभिजनबाट प्रसारण गराउँदै आएको नेपालको पहिलो साप्ताहिक आर्थिक टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ २७ वर्ष पूरा गरी २८औं वर्षमा प्रवेश गरेको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थाले सोमवार काठमाडौंमा ‘वित्तीय क्षेत्रमा डिजिटलाइजेशन’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संस्थाद्वारा प्रकाशित स्मारिका ‘डिजिटल नेपाल’ को विमोचन गरेका थिए ।

स्मारिकामा पछिल्लो समय मुलुकको विभिन्न क्षेत्रमा बढ्दो गएको डिजिटलाइजेशनको विषयमा विज्ञहरूका विशेष लेखहरू समेटिएका छन् ।

कार्यक्रममा अर्थमन्त्री विष्णु पौडेलले आगामी वर्षको बजेटमा जायज मागहरूलाई सम्बोधन गरिने बताएका छन् । सबै माग जायज नहुने र जायज मागहरू पनि सम्बोधनमा कहिलेकाहीँ समस्या हुने बताउँदै अर्थमन्त्री पौडेलले भने, ‘सबै क्षेत्रको सल्लाह, सुझाव र मागहरूलाई उचित सम्बोधन गर्नेगरी बजेट निर्माण गरिन्छ ।’

पछिल्लो समय कोरोनाको संकट थप बढेकोमा सबैलाई सचेत हुन समेत अर्थमन्त्री पौडेलले आग्रह गरे । सरकारको सही नीति र आमनागरिकको सावधानीका कारण पहिलो चरणमा कोरोना विरुद्धको लडाइँ लड्न सफल भएको भन्दै उनले दोस्रो चरणमा पनि सबैले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न आग्रह गरे ।

जनताको जीवनको रक्षा गर्दै आर्थिक सामाजिक गतिविधिलाई पुरानै लयमा फर्काउनुपर्नेमा जोड दिए । साथै कोभिडबाट जोखिन स्वास्थ्य मापदण्ड पालनामा लापरबाही नगर्न उनले सबैलाई आग्रह गरे ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रण गर्दै आर्थिक पुनरुत्थानलाई बजेटले विशेष प्राथमिकता दिने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आगामी बजेटमा बैंकिङ क्षेत्रको करको दर घटाउन आग्रह गरे । अहिले ३० प्रतिशत कर लाग्ने गरेको भन्दै त्यसलाई घटाएर २५ प्रतिशतमा झार्दा राम्रो हुने सुझाव दिए । यस्तै डिजिटल कारोबारको प्रवर्द्धनका लागि कर छूट गर्नुपर्ने उनको तर्क छ ।

कार्यक्रममा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले डिजिटल कारोबारलाई प्रवद्धन गर्न सरकारले राजस्व संकलनदेखि पेन्सन वितरणसम्मका सबै सरकारी कारोबारहरुलाई डिजिटल माध्यमबाट गर्नुपर्ने बताए ।

सोही अवसरमा संस्थाले एसीसी, नबिल र हिमालयन बैंकका साथै ‘अर्थको अर्थ’को कार्यक्रम निर्माता शंकर पण्डित र सुदूरपश्चिम संवाददाता विवेक नागरीलाई समेत सम्मानपत्रद्वारा सम्मानित गरेको छ ।

‘अर्थको अर्थ’ कार्यक्रमले मुलुकका समसामयिक आर्थिक गतिविधिलाई समावेश गरी विश्लेषणात्मक सामग्री प्रस्तुत गर्दै आएको छ ।

पत्रपत्रिकामा समेत आर्थिक गतिविधिलाई स्थान नहुने र अर्थतन्त्रबारे मात्र केन्द्रित टेलिभिजन कार्यक्रम नै नभएको बेला नेपाल टेलिभिजनसँगको सहकार्य र यस संस्थाको अगुवाइमा यो कार्यक्रम शुरू गरिएको संस्थाका प्रमुख कार्यक्रम निर्माता हृदयराज गौतमले बताए ।

बदलिँदो समय र परिस्थिति अनुरूप यस कार्यक्रमलाई थप परिष्कृत गर्दै जाने प्रतिबद्धता संस्थाले गरेको छ । पछिल्लो समय सूचना प्रविधिको विकाससँगै पाठकलाई छिनछिनमै आर्थिक सामग्री उपलब्ध गराउन संस्थाले (अर्थकोअर्थडटकम) न्यूज पोर्टल समेत संचालनमा ल्याएको छ ।