कीवर्डहरू -

हामी थप परिष्कृत भएर आएका छौं 

हामी थप परिष्कृत भएर आएका छौं 

आज चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस । सर्वप्रथम यस दिनको अवसरमा यहाँ सम्पूर्णमा हार्दिक शुभकामना बाँड्न चाहन्छौं ।

आज हामीले सूचना तथा सञ्चार प्रविधि दिवस मनाइरहँदा कोरोना भाइरस संक्रमणले घरभित्रै बस्नुपरेको छ । यस विषम परिस्थितिमा हामी हाम्रा कामलाई निरन्तरता दिन सकेसम्म डिजिटल प्रविधि प्रयोग गर्ने प्रयास गरिरहेका छौं ।
विस्तारै सूचना तथा सञ्चार प्रविधि हाम्रो दैनिक आवश्यकताको वस्तु बन्दै गएको छ ।

कुनै दिन विलासी वस्तुको रूपमा रहेका इन्टरनेट, मोबाइल र समग्र आइसिटी क्षेत्र अहिले मुलुकको आर्थिक समृद्धिको आधार बन्दै गएका छन् । इन्टरनेट अत्यावश्यक वस्तुमा सूचीकृत भइसकेको छ ।

हामी विगत दश वर्षदेखि लिभिङ विथ आइसिटी म्यागजिनमार्फत दूरसञ्चार, इन्नोभेसन, स्टार्टअप, ई–कमर्श, डिजिटल भुक्तानी, सफ्टवेयर, आइटी शिक्षालगायत समग्र सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बारेमा समाचार, विचार, विश्लेषण र सूचना आम पाठकमाझ पस्कँदै आएको यहाँहरूलाई विदितै छ ।

हामीले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकास गर्नुपर्छ भनेर दश वर्षअघि लिभिङ विथ आइसिटी म्यागजिन प्रकाशन गर्दा निकै अप्ठ्यारा र चुनौतीहरू थिए । दूरसञ्चारको विकास भर्खर शुरू हुँदै थियो भने स्टार्टअप र इन्नोभेसनका नाम पनि खासै सुनिँदैनथ्यो । सूचना तथा सञ्चार प्रविधिका समाचार खासै आउँदैनथे ।

त्यो अवस्थामा हामीले शुरू गरेको सूचना तथा सञ्चार प्रविधिमा आधारित पत्रकारिताको दायरा अहिले फराकिलो हुँदै गएको छ । दैनिक पत्रिकाले सूचना तथा सञ्चारलाई ठाउँ दिन थालेका छन् । यसैसँग सम्बिन्धित अनलाइन पो र्टलहरू थपिएका छन् । मुलुकमा यस क्षेत्रको विकासले पनि गति लिएको छ ।

आज दूरसञ्चार क्षेत्रको विकास लोभलाग्दो भएको छ भने मुलुक डिजिटल भुक्तानी, ई–कमर्श, ई–गभर्नेन्स, स्टार्टअप र इन्नोभेसनको बाटोमा लागेको छ । यही परिवर्तनलाई ध्यानमा राख्दै हामी पनि थप परिष्कृत र विस्तार भएका छौं ।

दश वर्षदेखि यस क्षेत्रमा गरेको हाम्रो अनुभव र प्रयासमा इँटा थप्दै वर्ष दिनअघि नै आइसिटी समाचार डट कम अनलाइन न्यूज पोर्टल सञ्चालनमा ल्याएको यहाँहरूलाई अवगत नै छ ।

हामीले सूचना तथा सञ्चार प्रविधिमा आधारित आइसिटी समाचार डट कमलाई थप परिष्कृत गरेका छौं । आइसिटी परिवार थप विस्तार, बलियो र सशक्त भएका छौं ।

सूचना तथा सञ्चार प्रविधि, दूरसञ्चार, स्टार्टअप, इन्नोभेसन, ई–कमर्श, ई–गभर्नेन्स, आइटी शिक्षालगायत क्यासलेस समाज निर्माण गर्न हामी अझ सक्रियतापूर्वक लाग्नेछौं ।

सामाजिक तथा आर्थिक विकासका लागि ‘प्रविधि सँगसँगै’ बढ्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । यस क्षेत्रको सुशासन, पारदर्शिता, लोकतन्त्रको मूल्य मान्यता, सामाजिक परिवर्तन, उपभोक्ता र नागरिकको हक अधिकारका निम्ति सधैं सतर्क रहनेछौैं ।

नियामक निकायलाई खबरदारी गर्दै सेवा प्रदायकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध भइरहने छौं । सूचना तथा सञ्चार प्रविधिमैत्री ऐन, कानून तथा नीति निर्माण गर्न सरकारलाई झक्झकाइरहने छौं ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासका लागि आइसिटी समाचार अन्तरक्रियाको एक विश्वसनीय थलो बनाउने हाम्रो प्रयास सधैं रहिरहनेछ ।

अन्त्यमा, हामीलाई एक दशकदेखि साथ दिइरहनु भएका सम्पूर्ण पाठक, विज्ञापनदाता तथा अन्य शुभेच्छुकप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं । साथै, हाम्रो नयाँ शुरुवातमा यहाँहरूको साथ अझ बढी रहनेछ भन्नेमा हामी विश्वस्त छौं ।

सन्तोष न्यौपाने
सम्पादक