मुलुकको अग्रणी दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले ग्राहकबाट गर्ने आम्दानीमा उल्लेख्य सुधार गरे पनि खुद नाफामा भने कमी आएको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरणअनुसार चालु आर्थिक वर्षको ९ महिनाको कुल आय ३१ अर्ब ६७ करोड ३७ लाख ७३ हजार ९ सय ३७ रुपैया रहेको छ ।
गत आवको तृतीय त्रैमासिकसम्मको कुल आय भने ३२ अर्ब २७ करोड २३ लाख २३ हजार रहेको थियो ।
गत आवको तृतीय त्रैमासिकसम्मको खुद मुनाफा ७ अर्ब ५६ करोड ५५ लाख १५ हजार ३ सय ८० रहेकोमा चालु आवको सोही अवधिमा खुद मुनाफा ५ अर्ब ८८ करोड ४४ लाख ७१ हजार ९ सय ९ रुपैयाँ रहेको छ ।
चालु आवको प्रथम र द्वित्तीय त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः ८ अर्ब ६३ करोड ५३ लाख ४० हजार ४१ र ९ अर्ब ८ करोड ९५ लाख ७३ हजार ४ सय ६२ रुपैयाँ रहेको थियो ।
चालु आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय द्वितीय त्रैमासिकको भन्दा ७ प्रतिशत अर्थात ६३ करोड ६८ लाख ६५ हजार ९ सय ९७ वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रुपैयाँ रहेको छ ।
त्यस्तै, चालु आवको प्रथम र द्वितीय त्रैमासिकमा खुद मुनाफा क्रमशः १ अर्ब ५१ करोड ७७ लाख ६९ हजार ३ सय ८१ रुपैयाँ र १ अर्ब ७७ हजार १६ लाख २५ हजार ७९ रुपैयाँ रहेको थियो । चालु आवको तृतीय त्रैमासिक अवधिमा खुद मुनाफा द्वितीय त्रैमासिकको भन्दा ८२ करोड ३४ लाख ५२ हजार ३ सय ७० ले वृद्धि भई २ अर्ब ५९ करोड ५० लाख ७७ हजार ४ सय ४९ रुपैया रहेको टेलिकमले जनाएको छ ।
गत आवको तृतीय त्रैमासिकसम्मको कुल सेवा वापतको आय २६ अर्ब ८३ करोड ६६ लाख ४५ हजार २ सय ७२ रहेकोमा चालु आवको सोही अवधिमा कुल सेवा वापतको आयमा २.२९ प्रतिशतले वृद्धि भई २७ अर्ब ४५ करोड १३ लाख ५२ हजार ९ सय ६१ रुपैया रहेको छ ।
गत आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय ८ अर्ब ७९ करोड ७० लाख ६९ हजार १ सय ८३ रहेकोमा चालु आवको तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय ९२ करोड ९३ लाख ७० हजार २ सय ७६ ले वृद्धि भई ९ अर्ब ७२ करोड ६४ लाख ३९ हजार ४ सय ५९ रहेको छ ।
टेलिकमका अनुसार यि हुन खुद नाफामा कमी आउने प्रमुख पाँच कारण
क. कोभिड–१९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको ।
ख. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आवमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको ।
ग. कोभिड–१९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा डाटा प्याकेज उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डाटाको प्रयोग बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको ।
घ. कोभिड–१९ महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको ।
ङ. समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी तथा एफटीटीएच जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको ।