जेनेस सोलुसन नेपालको बहुराष्ट्रिय कम्पनी हो । नेपालसहित अन्य विभिन्न देशमा कम्पनीले सेवा प्रदान गर्दै आएको छ । जेनेस क्लाउड अमेजन वेब सर्भिसेस (एडब्लुएस) को नेपालका लागि आधिकारिक विक्रेता समेत हो ।
जेनेस एकेडेमीले जेठ १८ गतेदेखि इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोकमा ‘जेनेस क्लाउड एकेडेमी’ शुरु हँदै छ ।
यसै सन्दर्भमा जेनेस क्लाउड एकेडेमी के हो ? शुल्क कति छ ? किन यसको आवश्यकता छ लगायतका विषयमा जेनेस सोलुसनका ग्लोबल चीफ अपरेटिङ अफिसर (सीटीओ) अञ्जनि फुँयाल सँग आइसिटी समाचारका लागि स्नेहा झा र प्रज्वल नेपाली ले गरेको कुराकानीः
जेनेस क्लाउडमा काम गर्ने कम्पनीको रूपमा तपाईंलाई धेरैले चिन्छन् । तपाईं आफ्नो कम्पनीलाई कसरी चिनाउनुहुन्छ, के के गर्छ जेनसले ?
जेनेस क्लाउड एक बहुराष्ट्रिय डिजिटल रूपान्तरण क्लाउड परामर्श कम्पनी हो । यसको प्रमुख अफिस बेलायतमा रहेको छ र यो कम्पनीले ६ ओटा देशहरूमा काम गर्ने गर्दछ ।
यसमा बेलायत, नेपाल, भारत, पाकिस्तान, अस्ट्रेलिया र बंगलादेश पर्ने गर्दछन् । जेनस क्लाउडले विशेषगरी दक्षिण एसियालाई ध्यान दिएको छ ।
नेपालमा गूगल, जूम जस्ता क्लाउडमा आधारित कम्पनीहरूलाई भित्र्याउन जेनेस क्लाउडले एकदमै ठूलो भूमिका खेलेको छ । डिजिटल रूपान्तरणमा सहयोग पुर्याउनका निम्ति जेनस एक प्रमुख कम्पनी पनि हो ।
पहिलो पटक जेनेसले सिप र यूकेएडसँगको सहकार्यमा ‘एडब्ल्युएस क्लाउड एकेडेमी’ कोर्स सञ्चालन गर्दै छ । किन आवश्यक पर्यो यो कोर्स ?
मैले यसमा सर्वप्रथम भूमिका जोडेर जवाफ दिन चाहेँ । जेनेस एफडिआई अन्तर्गत दर्ता हुने नेपालको पहिलो कम्पनी हो र विदेशी लगानी भित्र्याएर नेपालमा क्लाउड कम्पनी स्थापित भएको पनि जेनेस नै पहिलो कम्पनी हो ।
यस्तो शीर्षकमा दर्ता हुने पहिलो कम्पनी नै जेनस भएकाले हाम्रो लागि त्यो बेलाको बजार परिदृश्य अनुकूल थिएन । कम्पनी दर्ता भए तापनि कम्पनीलाई अगाडि लैजान मानव संसाधनको एकदमै कमी भएको पाइएको थियो ।
त्यही कारणले हामीले आफै प्रशिक्षणहरू दिएर मानव संसाधन जुटायौं । तर ती जनशक्तिले पछिसम्मै साथ नदिएकाले हामीले एउटा एकेडेमी नै खोल्नुपर्छ भन्ने लागेपछि ‘एडब्ल्युएस क्लाउड एकेडेमी’ कोर्स सञ्चालन गरेको हो ।
जेनेसले आफुलाई देशभर नै फैलाउनुपर्छ भन्ने लागेपछि यूकेएड सिपको च्यालेन्ज कोष भन्ने एक प्रोग्रामको बारेमा हामीले थाहा पायौं ।
सोही कार्यक्रम अन्तर्गत यूकेएड सिपले निजी प्रोजेक्टहरूलाई सहयोग गर्ने हुँदा अहिले हामी काठमाडौं, पोखरा, वीरगञ्ज, बुटवल लगायत चार ओटा सहरमा अफिस नै सञ्चालन गर्दै प्रदेश नम्बर २, बागमती, गण्डकी र लुम्बिनीमा एकेडेमीको सेवा विस्तार गरिसकेका छौं ।
आइओइसँगै सहकार्य कसरी सम्भव भयो ? यसको सञ्चालन कसरी हुँदैछ ?
अमेजनको दुईओटा प्रोग्राम थियो, जसमा एउटा कार्यक्रम अमेजन एजुकेट प्रोग्राम जुन व्यावसायिक पाठ्यक्रम हो । यसबाट कुनै संस्थासँग आबद्ध नभएर क्लाउड सिक्न पाइन्छ ।
शुरुमा नेपालमा अमेजन एजुकेट प्रोग्राम पनि आधिकारिक थिएन र यसका लागि कुनै पनि कम्पनी अनबोर्ड हुन सक्दैन थिए । अमेजन एजुकेटले विद्यार्थी तथा शिक्षक दुवैलाई आफै अध्ययन अध्यापनलाई अझै सहज बनाउन मद्दत पुर्याउने गर्दछ ।
त्यस्तै पढिसकेका कुरालाई अझै प्रयोगात्मक ढङ्गमा गएर परीक्षण गर्न दिन्छ । विद्यार्थीहरूले ल्याबको अनुभूति गर्न पाउँछन् । जेनस क्लाउडले नेपालको लागि पहिलोचोटि अमेजन एजुकेटलाई आधिकारिक बनाउनमा सहयोग पुर्याएको थियो ।
अमेजनसँग हामीले जानकारी लिँदा नेपालको ७ हजारभन्दा बढी विद्यार्थीहरू पहिले नै अमेजन एजुकेटमा आबद्ध भइसकेका छन् । विश्वमै नेपाल एजुकेटको मामिलामा अगाडि भएको पाइएको छ ।
यस्तो खालको प्रोजेक्टहरूले एकेडेमिया र उद्योगको दूरीलाई अझै कम गर्ने हुँदा जेनेसले अमेजनसँग सहकार्य गरेर अमेजन एकेडेमी ल्याएको हो । त्यसपछि जेनसले आईओईसँग अमेजन एकेडेमीलाई नेपालमा अनबोर्ड गर्न पहल गर्यो र एक प्रतिष्ठित संस्थासँग सहकार्य गरेपछि अमेजन एकेडेमीको पनि प्रतिष्ठा बढ्ने आशा गरिएको छ ।
यसले स्रोतको दूरीलाई पनि कम गर्ने देखिएकाले आईओईले अमेजन एकेडेमीका लागि आधिकारिक रूपमा निवेदन गर्यो र अब स्वीकृति पाएपछि हामी लञ्च प्रोग्रामतर्फ अघि बढेका छौं ।
कस्ता विद्यार्थीले यसमा अध्ययन गर्न पाउँछन् ? शुल्क कस्तो छ, कति तिर्नुपर्छ ?
अमेजन क्लाउड एकेडेमी मेनस्ट्रिम शिक्षामा नै पर्ने गर्दछ । यसमा ५२–५४ ओटा विषयहरू पढ्नुपर्ने हुन्छ । तर अहिलेसम्मको हाम्रो निर्णय अनुसार इन्जिनियरिङको तीनओटा विषय अमेजन क्लाउड एकेडेमीले डिजाइन गरेको पाठ्यक्रम अनुसार पढाइ हुनेछ । यही कारण कुनै थप शुल्कको कुरा हुँदैन ।
स्नातक तहको नौ क्रेडिटको विषयहरू पढ्नुपर्छ । विद्यार्थीहरूले आईओईमा जति शुल्क तिरेर पढ्न आएका थिए, सोही शुल्कमा एकेडेमी पाठ्यक्रम पनि समावेश हुनेछ ।
यसले गर्दा विद्यार्थीहरूले स्थानीय आईओईको डिग्री पनि पाउने भए र अन्तर्राष्ट्रिय तहमा परिचित सिलेबसमा अध्ययन गर्न पनि पाउने भए ।
यसले अमेजन सर्टिफिकेसन डिग्रीहरूको पाटोमा नेतृत्व पनि गर्नेछ । विद्यार्थीले सर्टिफिकेसन लिने भएमा मात्रै थप शुल्क तिर्नुपर्ने हुन्छ । बाहिर सर्टिफिकेसनको १५० डलर परे तापनि अमेजन क्लाउड एकेडेमीका विद्यार्थीले यसलाई एकदमै छूटमा पाउन सक्नेछन् ।
त्यस्तै जेनेस र यूकेएडको पहलमा हामी अघि बढिरहेकाले हामीले पुलचोकको धेरै विद्यार्थीका निम्ति छात्रवृत्तिको पनि व्यवस्था गरेका छौं ।
देशभरि ३ सयभन्दा धेरै आइटी कलेज छन् । अरूसँग पनि सहकार्य गरेर देशभरी कोर्स विस्तार गर्ने केही योजना छ ? विश्वविद्यालयहरूको पाठ्यक्रममै समावेश गर्दै हुनुहुन्छ यसलाई ?
हामीले अमेजन क्लाउड एकेडेमीको प्रस्ताव आईओईमा लिएर जानु भनेकै आईओई अन्तर्गतका सबै निजी आइटी कलेजलाई समेट्नु हो । ती सबै कलेजमा यो नयाँ अमेजन क्लाउड एकेडेमीको पाठ्यक्रम लागू हुन्छ । हाम्रो अर्को लक्ष्य भनेको त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिएससिसिएसआईटी चलाइरहनुभएको कलेजहरू रहनेछन् ।
त्यस्तै एउटा राम्रो समाचार दिनुपर्दा म लकडाउनको केही दिन अघि भाग्यवश पोखरा गएको थिएँ र त्यहाँ पोखरा विश्वविद्यालयमा हामीले आईओईसँग यसरी सहकार्य गर्न लागेका छौं भनेर सुनाउँदा उहाँहरू पनि एकदमै उत्साहित हुनुभयो र आईओईको सफलतापछि चाँडै नै पोखरा विश्वविद्यालयमा पनि अमेजन क्लाउड एकेडेमीको शुरुवात हुने मैले विश्वास राखेको छु ।
त्यसपछि हामी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका कलेजहरूलाई लक्षित गर्नेछौं । यी विश्वविद्यालयको सफलतापछि हामी केयू र अरू नयाँ विश्वविद्यालयसँग पनि सहकार्य गर्ने हाम्रो योजना रहेको छ ।
यूकेएड सिपसँगको सहकार्यलाई कसरी लिनुहुन्छ ? यो सहकार्यले नेपालको शिक्षालाई केही रूपान्तरण गर्न सक्छ ?
यूकेएड सिपको च्यालेन्ज कोष पब्लिक प्राइभेट पार्टनरसिप मोडेल अन्तर्गत रहेको छ र त्यसकारण हामीले फण्ड पाएका हौं । हामीले त्यही फण्ड प्रयोग गरेर आफ्नो प्रोग्रामलाई विस्तार गर्न सक्छौं ।
यूकेएड सिपले हामीलाई अमेजन क्लाउड एकेडेमीको पहललाई अघि सार्न एकदमै मद्दत पुर्याएको छ । आर्थिक रूपमा त पक्कै पनि हामीलाई सहयोग पुगेकै छ । तर अरू तरिकाले पनि यूकेएड सिपले एकदमै सहयोग पुर्याएको छ । लुम्बिनी प्रदेशमा हामीलाई यूकेएड सिपले आफै योजना समितिसँग मिटिङहरू गराउनुभयो, जसले गर्दा हामीलाई स्थानीय रूपमा नै काम गर्न सहज भयो ।
प्रदेश २ मा पनि अन्तरक्रिया गर्न यूकेएड सिपबाट धेरै नै मद्दत पायौं । सरकारी निकायसँग सहकार्य गर्न उहाँहरूले एकदमै सहज बनाइ दिनुभयो । सिप नभएको भए ढेड वर्षमा हामी अहिले जहाँ छौं, त्यहाँ पक्कै पनि पुग्न गाह्रै हुन्थ्यो वा निकै नै समय लाग्थ्यो ।
यूकेएड सिपको यसैगरी सहकार्य रहिरह्यो भने हामी नेपालका ८ देखि १० हजार विद्यार्थीलाई अमेजन क्लाउड एकेडेमीमा समावेश गराउन सफल हुनेछौं ।
यो सहकार्यले नेपालको शिक्षालाई पक्कै पनि रूपान्तरण गर्नेछ र पक्कै पनि हाम्रो यो सहकार्यले एकेडेमिया र उद्योगबीचको दूरीलाई केही हदसम्म कम गर्नेछ ।
जुन १ तारिखमा हुने विशेष सार्वजनिक कार्यक्रम कस्तो हुनेछ ? क-कसले कसरी सहभागिता जनाउन सक्नेछन् ?
जेनेस क्लाउड, यूकेएड सिप र आईओईको धेरै लामो प्रयासले यो पहल अघि बढेको हो र यस्तो पहललाई किन सार्वजनिक रूपमा सबैको सामु नल्याउने त भनेर हामीले जुन १ तारिखमा लञ्चको कार्यक्रम राखेका छौं ।
जुन १ को कार्यक्रम मल्टि स्टेक होल्डर कार्यक्रम हो । यसमा अमेजन क्लाउड, यूके एड सिप, आईओई, एफसिडीओको सहयोग रहेको छ । निजी र सरकारी संस्थाहरू एकदमै उत्सुक भएर यो कार्यक्रमका लागि अगाडि आउनुभएको छ । कार्यक्रममा सिपको बारेमा कुरा हुनेछ ।
त्यसपछि प्यानल छलफल हुनेछ, जसमा विभिन्न उद्योगहरूका हस्तीहरू आएर आफ्ना कुराहरू राख्नुहुनेछ । त्यसपछि सार्वजनिक कार्यक्रम आधिकारिक रूपमा सञ्चालन गरिनेछ ।
अब एकछिन क्लाउड प्रविधिको कुरा गरौं । खासमा क्लाउड प्रविधि के हो ? नेपालमा पनि अहिले धेरै डेटा सेन्टरहरू छन् । उनीहरूले पनि क्लाउड सेवा दिरहेका छन् नि, के फरक छ तपाईंहरूको सेवामा ?
अहिले क्लाउड प्रविधि नभएको भए हामीले भिडियो कन्फेरेन्सिङ गर्न पनि आफ्नै घरमा टावर राखेर आफै होस्टिङ गरेर मात्रै प्रयोग गर्न सक्थ्यौं । तर क्लाउड प्रविधिको कारणले हामीले सजिलै जूम जस्ता एपहरू प्रयोग गर्न सकिरहेका छौं ।
क्लाउड प्रविधिले आउटसोर्सिङ गरिदिन्छ । तपाईंले प्रविधि बनाउन जुन मिहिनेत गर्नुपर्थ्यो, त्यो सबै क्लाउड प्रदायकले नियन्त्रण गरिदिन्छ । सर्भरका सबै समस्या हटाउन र व्यवस्थापन गर्न क्लाउड प्रविधिले एकदमै ठूलो भूमिका खेलेको छ ।
साधारण भाषामा भन्नुपर्दा आफैले हार्डवेयर व्यवस्थापन गर्नुभन्दा कोहीसँग भाडामा हार्डवेयर तथा स्टोरेज लिनु नै क्लाउड हो । क्लाउडको विशेषता भनेको इलास्टिसिटी हो । तपाईंलाई आज एउटा सर्भर चाहियो भने तपाईंले एउटा लिन सक्नुहुन्छ, ५०० चाहिएमा ५०० र हजार चाहिएमा हजार ।
यो विशेषगरी प्रिपेड मोडेलकै हुने गर्दछ । यो सबै फिचर भएमा मात्रै पब्लिक क्लाउड हुन सकिन्छ । विश्वमा धेरै पब्लिक क्लाउड नै छैनन् । नेपालका अरू डेटा सेन्टरहरू खासै स्वतः प्रावधानको व्यवस्था नै छैन । र, यही सबैले हामीलाई अरूभन्दा थोरै बेग्लै बनाउन मद्दत पुर्याएको छ ।
सरकारी वेब तथा एप्लिकेशन देशभित्रै डेटा सेन्टरमा राख्नुपर्ने बाध्यता छ । सरकारी निकायले किन एडब्ल्युएस लगायत सेवा लिन नचाएको होला ?
नेपालमा डेटा वर्गीकरण सम्बन्धी नियम नै प्रष्ट छैन । भएका नियमहरू पनि एकदमै अस्पष्ट छ । परिभाषित छैनन्, जसले गर्दा डेटा सुरक्षित होला कि नहोला, अरू देशले हाम्रो डेटाले गर्दा सार्वभौमिक सत्तामा असर पारिदिन्छन् कि भन्ने खालको गलत धारणा एकदमै बढी भएको पाइएको छ ।
पेन्टागन जस्तो एकदमै सुरक्षा सचेत संस्था पनि क्लाउडमा गइसकेको छ । उसको जेडआई भन्ने १० बिलियनको प्रोजेक्टका लागि माइक्रोसफ्ट र अमेजनले प्रतिस्पर्धा गरिरहेका छन् ।
नासाले पनि रोभर ल्याण्ड गर्दा अमेजन क्लाउड सेवा नै उपयोग गर्ने गर्छ । हामी एकदमै आदिम चरणमै छौं । नेपाल सरकारबाट न नागरिक एप पावर भएको छ, न लाइसेन्सिङ सेवा पावर भएको छ न सिसिएमसी नै भएको छ ।
जे पनि सरकारी क्लाउडमा भएको छ भनिन्छ । तर त्यसले क्लाउड कम्प्युटिङ मान्छ जस्तो त मलाई लाग्दैन । डेटा वर्गीकरणलाई एकदमै स्पष्ट रूपमा गर्नुपर्छ । त्यो अनुसार नीति नियमहरू ल्याउनुपर्छ । सरकारले आउटसोर्सिङका निम्ति क्लाउड कम्पनीहरूलाई जिम्मा लगाइदिएको बेस हुन्छ ।
नेपालको आइटी पोलिसी तथा डिजिटल नेपाल फ्रेमवर्क कस्तो छ ? यसले नेपालमा आइटी उद्योग प्रवर्द्धन गर्न सहज छ वा केही समस्या देख्नुहुन्छ ?
डिजिटल नेपाल फ्रेमवर्क एकदमै राम्रो अवधारणा हो । यसलाई एकदमै राम्रो तरिकाले बनाएको मैले पाएको छु । त्यो एकदमै ठूलो र धेरै पाटाहरू समेट्न खोजिएको मैले पाएँ ।
तर नेपाल सरकार त्यसको कार्यान्वयन गर्ने तयारीमा छ त भन्ने पक्षमा मैले चुनौती रहेको पाएँ । कार्यान्वयन एकदमै महत्वपूर्ण पक्ष हो ।
अन्त्यमा क्लाउड एकेडेमी कोर्स सार्वजनिक हुने कार्यक्रमको बारेमा केही सन्देश दिन चाहनुहुन्छ ?
अन्त्यमा फेरि जुन १ मा हुन लागेको कार्यक्रमको बारेमा जोड्दै हाम्रो धेरै लामो प्रयासले यो कार्यक्रम हुन लागेको जानकारी दिन चाहन्छु । आईओई जस्तो प्रतिष्ठित संस्थासँग सहकार्य गर्न पाउँदा हामी एकदमै खुशी छौं ।
उहाँहरूले आफै यो कार्यक्रमको लागि एकदमै उत्सुकता देखाउनुभयो र अमेजन पनि आफै बहुराष्ट्रिय कम्पनी हुनुको नाताले बाटोमा केही बाधाहरू आए तापनि त्यसलाई टार्दै यो कार्यक्रमसम्म हामी आइपुगेका छौं ।
यो कार्यक्रम मल्टि ट्रस्टको नतीजा हो । नेपाली विद्यार्थीका लागि यसले कोसेढुंगा भएको सावित गर्ने आशा गर्दछु । किनभने अन्तर्राष्ट्रिय विश्वविद्यालयका विद्यार्थीहरूले मात्रै पाउने यो अवसर अब नेपाली विद्यार्थीले पाएका छन् ।
यसले उनीहरूको स्तर अन्तर्राष्ट्रियकरण गरिदिन्छ । नेपाल आगामी दिनमा आईओटी, मेशिन लर्निङ, एआर, भीआर जस्तो प्रविधिको भूमिको रूपमा चिनिनेछ भन्ने मैले आशा गरेको छु ।