चौथो पुस्ताको मोबाइल इन्टरनेट (फोरजी) चलाउनको संख्या ७८ लाखबाट माथि लागेको छ । मुलुकमा तीनवटा मोबाइल सेवा प्रदायकले फोरजी सेवा सञ्चालन गरिरहेका छन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआइएस रिपोर्टअनुसार फोरजी चलाउनेको संख्या ७८ लाख ७१ हजार ५ सय ५५ पुगेको छ ।
एक वर्षको अवधिमा फोरजी चलाउनको संख्या ३० लाख ५० हजार २ सय १३ ले वृद्धि भएको छ । गत वर्षको चैतसम्म फोरजी चलाउनेको संख्या ४८ लाख २१ हजार ३ सय ४२ थियो ।
सबैभन्दा धेरै फोरजीका ग्राहक एनसेलका छन् । उसका ग्राहक हालसम्म ५० लाख १७ हजारभन्दा धेरै रहेका छन् ।
त्यस्तै, नपाल टेलिकमका २६ लाख ३६ हजार र स्मार्टसेलका २ लाख १७ हजार रहेका छन् ।
एक वर्षको अवधिमा मोबाइल ब्रोडव्यान्ड १० प्रतिशतले वृद्धि भएको छ । गत वर्षको चैतमा मोबाइल ब्रोडव्यान्ड ५५.२९ रहेकोमा अहिले ६५.३९ प्रतिशत पुगेको छ ।
पछिल्लो समय विस्तार भएको फोरजीका कारण मोबाइल ब्रोडव्यान्ड इन्टरनेटको विस्तार धेरै भएको हो ।
थ्रिजी चलाउनेको संख्या १ करोड १७ लाख ६० हजार पुगेको छ । यो गत वर्षभन्दा झन्डै २ लाखले मात्र बढी हो । गत वर्ष थ्रिजी चलाउनेको संख्या १ करोड १५ लाख ६२ हजार रहेको थियो ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चैत महिनाको एमआईएस रिपोर्टअनुसार मुलुकमा ब्रोडव्यान्ड इन्टरनेटको पहुँचमा हुने जनसंख्या ८८.९३ पुगेको छ । अर्थात यो संख्या भनेको २ करोड ६८ लाख ८२ हजार ७ सय २१ हो ।
गत वर्ष चैत महिना कै तथ्यांक हेर्ने हो भने ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने जनसंख्या २ करोड १९ लाख १४ हजार ६८ अर्थात ७३.३५ प्रतिशत थियो ।
वर्षदिनमा ब्रोडव्यान्ड इन्टरनेटमा जोडिने संख्यालाई तुलना गर्दा एक वर्षको अवधिमा ४९ हजार ६८ लाख ६ सय ५३ थपिएका छन् । अर्थात एक वर्षमा १५.५८ प्रतिशतले ब्रोडव्यान्ड इन्टरनेटका उपभोक्ता वृद्धि भएका छन् ।